विराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभागले सूर्यमुखी तेलको गुणस्तरसम्बन्धी नेपाल गुणस्तर एनएस ३७८ः२०५४ को पहिलो संशोधनको मस्यौदा तयार गरेको छ ।
‘सूर्यमुखी तेल–स्पेसिफिकेसन’ शीर्षकमा तयार गरिएको मस्यौदामा तेलको उत्पादनदेखि उपभोग, परीक्षण, प्याकेजिङ, लेबलिङ र विज्ञापनसम्मका मापदण्ड प्रस्ताव गरिएको छ ।
मस्यौदाअनुसार उत्पादन प्रक्रियाका आधारमा सूर्यमुखी तेललाई एक्सप्रेस्ड र सोल्भेन्ट–एक्स्ट्र्याक्टेड गरी दुई प्रकारमा वर्गीकरण गरिनेछ। दुवै प्रकारमा रिफाइन्ड र ग्रेड–१ गरी चार ग्रेड प्रस्ताव गरिएको छ ।
एक्सप्रेस्डका दुवै ग्रेड तथा सोल्भेन्ट–एक्स्ट्र्याक्टेड रिफाइन्ड ग्रेड प्रत्यक्ष खाने प्रयोजनका लागि उपयुक्त हुनेछन् भने सोल्भेन्ट–एक्स्ट्र्याक्टेड ग्रेड–१ तेल प्रत्यक्ष खान नमिल्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
मस्यौदामा सूर्यमुखी तेल सफा हुनुपर्ने, मिसावट, थेग्रान, बाह्य पदार्थ, छुट्टिएको पानी तथा थपिएका रङ वा स्वादजन्य पदार्थ हुन नहुने उल्लेख छ ।
तेलको पेरोक्साइड मान, अम्लीय मान, आयोडिन मान, चिस्यान तथा अघुलनशील अशुद्धता लगायतका प्राविधिक गुणस्तरका सीमा पनि निर्धारण गर्न प्रस्ताव गरिएको छ ।
त्यस्तै, एक्सप्रेस्ड तथा सोल्भेन्ट–एक्स्ट्र्याक्टेड रिफाइन्ड तेलमा अफ्लाटक्सिन अधिकतम ३० माइक्रोग्राम प्रतिकिलो हुनुपर्ने प्रस्ताव गरिएको छ ।
सिसा र आर्सेनिकको अधिकतम सीमा ०.१–०.१ मिलिग्राम प्रतिकिलो, क्याडमियमको १ मिलिग्राम प्रतिकिलो तथा कुल पाराको ०.२५ मिलिग्राम प्रतिकिलो प्रस्ताव गरिएको छ ।
सोल्भेन्ट प्रयोग गरी उत्पादन हुने तेलमा हेक्सेन अवशेषको सीमासमेत तोकिएको छ । त्यस्तो तेलमा बाँकी रहने हेक्सेन परीक्षणका लागि ग्यास क्रोमाटोग्राफी विधि प्रयोग गर्ने व्यवस्था मस्यौदामा प्रस्ताव गरिएको छ ।
मस्यौदाले सूर्यमुखी तेललाई उपयुक्त टिन वा प्लास्टिक कन्टेनरमा प्याक गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको छ ।
एकपटक प्रयोग भइसकेको टिन वा प्लास्टिक कन्टेनरलाई पुनः खाने तेल तथा बोसो प्याक गर्न प्रयोग गर्न नपाइने उल्लेख छ ।
कन्टेनरमा तेलको नाम, प्रकार तथा ग्रेड, खुद तौल, उत्पादकको नाम र ठेगाना, ब्याच वा लट नम्बर तथा उत्पादन भएको महिना र वर्षलगायतका विवरण अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
प्रत्यक्ष उपभोगका लागि उपयुक्त नभएको तेलमा ‘प्रत्यक्ष खाने प्रयोजनका लागि होइन’ भन्ने स्पष्ट सूचना राख्नुपर्नेछ ।
विभागले प्रस्ताव गरेको मापदण्डमा नेपाल गुणस्तर चिह्न प्रयोग, प्रतिनिधिमूलक नमुना सङ्कलन तथा विभिन्न रासायनिक र भौतिक परीक्षणका विधिसमेत समेटिएका छन् ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved