बेलबारी । वन कार्यालयको टोलीले सोमबार ट्याक्टरमा हाल्दै गरेको अवस्थामा काठ नियन्त्रणमा लिएपछि उपभोक्ताहरुले तस्करी भएको आरोप लगाएका छन् ।
स्थानीयबासीले दिएको जानकारीअनुसार सेक्टर वन कार्यालय बेलबारीले १७९ घनफिट काठसहित ट्याक्टर नियन्त्रणमा लिएको र त्यो काठ तस्करी हुन लागेको बताएका हुन् ।
बेलबारीमा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समूहबाट कटानका लागि भन्दै बेलबारी नगरपालिका-८ को देवी काष्ठ उद्योगमा लगिएको काठ अन्यन्त्रै लैजाने तयारी भएको भन्दै वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।
सामुदायिक वनबाट उपभोक्ताले खरिद गरेको काठ वनमा सूचीकृत भएको बाहेक अन्यन्त्रको काठ मिलमा लैजान मिल्दैन । तर, उक्त काठ बेलबारीबाट बाहुनी लैजाने तयारी गरेपछि स्थानीयले विरोध गरेका थिए । वनले नियन्त्रणमा लिएको काठका विषयमा अनुसन्धान भइरहेको प्रमुख दिपेश मिश्रले जानकारी दिए ।
उपभोक्ता समितिले शोभा भुर्तेलको नाममा काठ बिक्री गरेको थियो । उपभोक्ता समिति र काठ व्यवसायी मिलेर काठ तस्करी गर्न खोजिएको स्थानीयको दाबी छ ।
वन उपभोक्ता समिति अध्यक्ष देउमान लिम्बूले उपभोक्तालाई बिक्री भएको काठ अन्यन्त्र लैजादै गर्दा वनको टोलीले समातेको बताए । उनका अनुसार उपभोक्ताले वनबाट सस्तोमा काठ पाउने भएका कारण उपभोक्ताले खरिद गरेर बाहिर बिक्री गर्ने सम्भावना रहने बताउँदै उनले काठ निकासीमा मिलेमतो नभएको पनि बताए ।
‘उपभोक्ताले समूहबाट काठ लिएर बाहिर बिक्री गर्ने सम्भावना रहन्छ’, उनले भने, ‘तर, यसमा समितिकै मिलोमतो छ भन्न मिल्दैन । त्यस्तो हुन सक्दैन ।’
View : 58
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved