Biratnagar, Morang, Nepal
२२ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

'विराट ट्रेड फेयर' बिहीबारदेखि

उद्‌घोष संवाददाता
२१ असोज २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगरको व्यापार, व्यवसाय र बजारलाई थप चलायमान बनाउने मुख्य लक्ष्यका साथ ‘चाड पर्वको उत्सव, व्यापारको महोत्सव’ नारासहित बिहीबारदेखि विराट ट्रेड फेयर २०८३ सुरु हुने भएको छ ।

करिव १७ करोड बढीको कारोबार हुने लक्ष्यका साथ विराट व्यापार संघले आयोजना गर्न लागेको ट्रेड फेयरको तयारी अन्तिम चरणतर्फ अघि बढेको संघका वरिष्ठ उपाध्यक्ष एवं ट्रेड फेयरका संयोजक भवेश पौडेलले बताए ।

उनले कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका, उद्योग–व्यवसायसम्बद्ध संघसंस्था, निजी क्षेत्र तथा विभिन्न प्रायोजक र व्यावसायिक साझेदारको साथले आफूहरू उत्साहका साथ तयारीमा अघि बढेको बताए । 

संघले ट्रेड फेयरलाई कृषि तथा घरेलु उत्पादनको प्रवद्र्धनसँग समेत जोडेर अघि बढाएको उनले बताए । कृषि तथा घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले त्यससँग सम्बन्धित स्टलहरूले मात्रै दुई करोड बराबरको कारोबार गर्ने लक्ष्य राखेको संयोजक पौडेलले बताए ।

मेलामा विभिन्न उपभोक्ता सामग्री, खाद्यवस्तु, औद्योगिक उत्पादन, घरेलु तथा स्थानीय उत्पादनलगायतका सामग्रीको प्रदर्शन तथा बिक्रीलाई प्राथमिकता दिइने आयोजकको भनाइ छ । संघका अध्यक्ष प्रमोद जिन्दलले दशैंमा आवश्यक सवै कुरा विराटनगरमै किन्न सक्ने अवस्था सिर्जना गर्न मेला महत्वपूर्ण अवसर बन्ने बताए ।

संघले ट्रेड फेयरलाई औपचारिक कार्यक्रमका रूपमा नभई विराटनगरको व्यापार, व्यवसाय र बजारलाई चलायमान बनाउने अभियानका रूपमा अघि बढाएको उनले बताए ।

ट्रेड फेयरलाई वस्तु किनमेलको प्रमुख अवसर बन्ने दाबी गरिएका कारण दुई लाख मानिसले अवलोकन गर्ने अनुमान गरिएको छ । अवलोकनकर्ताको सहजकताका लागि जैन भवन परिसरको पाँच सय मिटर वरिपरिको खाली क्षेत्रमा पार्किङको व्यवस्थापन गरिएको जनाइएको छ ।

वर्तमान कार्यसमितिको अगुवाईमा संघले दोस्रो पटक लगाएको ट्रेड फेयर असोज ३० गतेसम्म चल्नेछ । प्रत्येक दिन साँझ राष्ट्रिय ख्यातीप्राप्त कलाकारको पनि प्रस्तुति रहने जनाइएको छ ।

विभिन्न वस्तु तथा सेवाका १३० वटा स्टल राखिने छन् । ट्रेड फेयरको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने जनाइएको छ ।

View : 31

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved