विराटनगर । आथिक वर्ष २०८१–८२ मा हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाले ज्यान गुमाएका छन् । मोरङको सुन्दरहरैंचा, बेलबारी र लेटाङ नगरपालिका गरी पाँच जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय मोरङले जनाएको छ ।
गत आइतबार राति करिब १ बजे मोरङको कानेपोखरी–७ स्थित रूद्रबहादुर विश्वकर्माको घरमा हात्तीको आक्रमणबाट क्षति भयो ।
राति १ बजेतिर घरको टाटी भत्काएर भान्सामा समेत आक्रमण गरेको हुँदा फ्रिज लगायतका भान्साका सामग्रीहरूको पूर्ण रूपमा क्षति भएको हो ।
त्यस्तै मर्निङवाकमा निस्किएका दीपक लिम्बूसमेत मंगलबार बेलबारी–१० भाउन्नेमा रहेको सिर्जना पार्कमा हात्तीको आक्रमणबाट घाइते भए । ४५ वर्षीय लिम्बूलाई बाया“ खुट्टामा हात्तीले कुल्चिंदा गम्भीर चोट लागेको हो । त्यस्तै मंगलबार बेलबारी–१० स्थित एक बासिन्दासमेत हात्तीको कुल्चाइबाट घाइते हुन पुगे ।
खासगरी मोङका सुन्दरहरैंचा नगरपालिका, कानेपोखरी गाउँपालिका, बेलबारी नगरपालिका बढी हात्तीका आक्रमणबाट जोखिमयुक्त पालिका मानिएको छ । अहिलेसम्म भएका अधिकांश घटनाबाट चाहे त्यो मानवीय होस् या भौतिक, यही क्षेत्रका बासिन्दाले बढी क्षति ब्यहोर्नु परेको छ ।
त्यसैगरी केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, उर्लाबारी नगरपालिकामा भने हात्तीको त्रास न्यून रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामलखन ठाकुर बताउँछन् ।
उनी भन्छन्, हात्ती तराईंका जिल्लाहरूमा आहारको खोजीमा हिंड्छन् । विशेषगरी उनीहरू पहिल्यैदेखि हिंड्ने बाटो यही हो । अहिले जंगल नाश हुँदै बस्ती विकास भैरहेको छ । त्यसैले उनीहरूको हिंड्ने थलोमा वस्ती परेको हुनाले आक्रमण गर्ने हुन् ।
स्थानीय वासिन्दा हात्तीको आक्रमणबाट निकै थर्कमान भएको अनुभव सुनाउँछन् ।
‘हरेक रात जंगली हात्तीहरू बस्तीमा प्रवेश गर्छन्, जसले गर्दा बासिन्दाहरूमा त्रास फैलिन्छ र बालीनाली नष्ट हुन्छ । र, किसानहरू चिन्तित हुन्छन्,’ बेलबारी–४, काकुम बुधबारे निवासी एक स्थानीयले भने ।
‘हामीले सुत्दा पनि डरलाई सिरानी हालेर सुत्नुपर्छ । कतै हात्तीले आएर आक्रमण गरिहाल्छ कि भन्ने भय निकै बढ्ता हुन्छ । हामीले आनन्दले सुत्ने भनेको हात्तीको आक्रमणबाट ज्यान गुमाएको दिन मात्रै हो जस्तो लाग्छ घरीघरी ।’
एक तथ्यांक अनुसार हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय मात्रै नभएर मृत्यु हुनेमा वन विभागका कर्मचारीहरू पनि छन् ।
आव २०७९–८०मा सुन्दरहैंचा निवासी एकजनाको मृत्यु भएको पाइएको छ । त्यस्तै आव २०८१–८२ मा चार जनाको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ । सो आवमा सुन्दरहरैंचा निवासी तीन जना रहेका छन् भने लेटाङ र बेलबारीका एक–एक जनाको मृत्यु भएको हो ।
आथिर्क वर्ष २०८२–८३ मा हालसम्म मृत्यु हुनेको संख्या दुई रहेको छ । गत पुस २७ गते सुन्दरहरैंचा–१२ खोर्साने निवासी भवकृष्ण घिमिरेले दूध पुर्याएर डेरीबाट फर्किने क्रममा हात्तीको आक्रमणबाट ज्यान गुमाउन पुगेका हुन् भने गत असार २९ गते बेलबारी–१० निवासी किस्मत राजवंशीले पनि हात्तीको आक्राणबाट ज्यान गुमाएका हुन् ।
त्यस्तै डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट क्षति भएकाहरूलाई डेढ करोड हाराहारीको राहत पनि बाँडेको छ । आव २०७१–७२ देखिलिएर २०८२–८३ सम्म एक करोड ४९ लाख आठ हजार रूपैयाँ पीडित परिवारलाई मानवीय क्षतिबाहेकको राहतस्वरूप प्रदान गरेको हो ।
डिभिजन वन कार्यालय मोरङले विभिन्न समयमा हात्तीको आक्रमण कम गर्नकै खातिर निकै उपायहरू अपनाउँदै आएको छ ।
हात्ती घुमफिरको मानचित्र तयारी, अन्तरक्रिया तथा गोष्ठि, भिडियो सामग्रीमार्फत सन्देश फैलाउने जस्ता कार्यक्रमहरू हात्तीको आक्रमण न्यूनीकरणका लागि अपनाएका उपायहरू हुन् ।
View : 275
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved