Biratnagar, Morang, Nepal
११ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोशी बाढीले ४३० मेगावाट बिजुलीको प्रणाली बन्द

उद्‌घोष संवाददाता
१० भदौ २०८३, बुधवार

Advertisement

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ ।

बाढीले सञ्चालनमा रहेका पाँचवटा आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द गराएको छ भने निर्माणाधीन अवस्थामा रहेका तीनवटा ठूला आयोजनाका भौतिक संरचनामा गम्भीर क्षति पु¥याएको छ । यससँगै रसुवा जिल्लामा मात्रै ५७८.४२ मेगावाट क्षमता बराबरका जलविद्युत् संरचना बाढीको चपेटामा परेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रद्वारा प्रवद्र्धित सञ्चालनमा रहेका आयोजनाहरू बाढीको प्रत्यक्ष मारमा परेका हुन् । बाढीका कारण प्राधिकरणको सहायक कम्पनी अन्तर्गत सञ्चालित १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन पूर्ण रूपमा ठप्प भएको छ ।

यस्तै, निजी क्षेत्रबाट सञ्चालित ७८ मेगावाट क्षमताको सान्जेन खोला (सालासुङ्गी), २० मेगावाटको लाङटाङ खोला र ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजनाको बाँधस्थल तथा विद्युत्गृह क्षेत्र प्रभावित हुँदा ती आयोजनाहरूबाट समेत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् आपूर्ति रोकिएको छ ।

यी पाँच आयोजनाबाट राष्ट्रिय प्रणालीमा जोडिँदै आएको कुल २३६ मेगावाट विद्युत् हाल पूर्ण रूपमा विच्छेद भएको छ ।

अर्कोतर्फ, बाढी र पहिरोले निर्माणाधीन राष्ट्रिय गौरव तथा प्रत्यक्ष वैदेशिक लगानीका ठूला आयोजनाहरूमा समेत ठूलो धक्का पु¥याएको छ । कोरियाली लगानीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका भौतिक संरचनाहरू बाढीका कारण क्षतिग्रस्त भएका छन् ।

त्यसैगरी, १२० मेगावाटको रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको मुख्य संरचना तथा पहुँचमार्गमा क्षति पुगेको छ भने ६.४२ मेगावाट क्षमताको निर्माणाधीन माथिल्लो मैलुङ–ए आयोजना पनि बाढीका कारण प्रभावित भएको छ । यसरी निर्माणाधीन ३४२.४२ मेगावाट क्षमताका तीन आयोजनामा प्रत्यक्ष क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ ।

बाढीको तीव्र बहावले आयोजना स्थलसम्म पुग्ने पहुँचमार्ग तथा पुलहरूमा समेत क्षति पुगेकाले प्राविधिक टोलीलाई स्थलगत निरीक्षणमा कठिनाइ भइरहेको छ ।

बाढीको सतह घटेपछि मात्रै आयोजनाहरूमा भएको भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण आउने र पुनर्निर्माण तथा मर्मतको कार्य अघि बढाइने जनाइएको छ ।

View : 15

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved