Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
साहित्य

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर

३१ साउन २०८१, बिहिवार

Advertisement

कोलकाता, ३१ साउन । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रमका सहभागीले संसारका विभिन्न मुलुकमा पुगेका नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने माध्यम नेपाली भाषा भएकाले  यसको संरक्षणमा जोड दिएका छन् ।

पश्चिम बङ्गालका  खाद्य र उद्योगमन्त्री अनुप रायले नेपाली भाषाका माध्यमबाट सबै नेपालीभाषीलाई जोड्न भानुभक्त आचार्यले गरेको योगदानको कदर गर्दै स्थानीय सडक उनको नामबाट राखिएको बताए ।

नेपाल र भारतबीच सरकारी तहमा मात्र नभई जनस्तरमा पनि  सुमधुर रहेको चर्चा गर्दै भाषा, साहित्यका माध्यमबाट पनि भारत र नेपाल नजिक छन् भने । उनले भारत र नेपालबीच भाषिक समानता पनि रहेको बताए ।

यो समानताले पारस्परिक सम्बन्ध अझ सुमधुर बनेको उनको कथन थियो ।

कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत जनकराज भट्टले नेपाली भाषा र सहित्यका क्षेत्रमा आदिकविले पुर्याएको योगदान अविस्मरणीय रहेको बताए ।

प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले धेरै बोलिने भाषाको सूचीमा ५९औँ स्थानमा नेपाली भाषा रहेको बताउँदै विश्वका विभिन्न मुलुकका शैक्षिक प्रतिष्ठानमा नेपाली पठनपाठन सुरु गरिनुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य कृष्णराज अधिकारीले भाषा र संस्कृतिले नै देशलाई चिनाउने भएकाले यसको संरक्षण हुनुपर्ने बताए । 

जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बरालले आदिकवि भानुभक्तले भाषाको माध्यमबाट सबै नेपालीजनलाई एउटै सूत्रमा आबद्ध गर्न निर्वाह गरेको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ भने ।

आदिकविको सम्मानमा पश्चिम बङ्गाल सरकारले उनको नाममा सडकको नामकरण गरेकामा कृतज्ञता ज्ञापन गरे । 

समितिका अध्यक्ष बद्रीविक्रम थापाले नेपाली भाषाको श्रीवृद्धिमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदानबारे नयाँ पुस्तालाई जानकारी गराउने उद्देश्यले प्रत्येक वर्ष प्रवासमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए ।

त्यस अवसरमा कोलकातामा रहेका नेपालीले मातृभूमिमा कला, संस्कृति, वेशभूषा भल्कने मौलिक संस्कृति प्रदर्शन गर्नुका साथै नेपाली, बङ्गाली र हिन्दीमा गीत प्रस्तुत गरेका थिए ।  रासस
 

View : 89

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved