Biratnagar, Morang, Nepal
२ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

नबिल एसएसई उद्यमशील तालिमका लागि आवेदन खुला

१ असोज २०८३, बिहिवार

विराटनगरमा सञ्चालित तीन महिने उद्यमशील तालिम अन्तर्गत नवौ समूहको तालिमको समापन समारोहको तस्वीर । अहिले दशौं समूहको तालिमको लागि विराटनगर (कोशी प्रदेश) ले आवेदन खुल्ला गरेको छ । (फाइल तस्वीर)

Advertisement

विराटनगर  । नबिल बैंक लिमिटेडले नबिल सामाजिक उद्यमशील पाठशाला (नबिल एसएसई) प्रवर्द्धनका लागि दिइने सघन सहयोग र अवसर कार्यक्रमको सातौं समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन खुला गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्दै आएका यी दुवै कार्यक्रमका लागि आवेदन आह्वान गरेको हो ।

 

इच्छुक नेपाली नागरिकले असोज २६ गतेसम्म आवेदन दिन सक्नेछन् । १८ वर्ष उमेर पूरा भएका र नवीन उद्यमशील सोच भएका व्यक्तिले आवेदन दिन पाउनेछन् ।


सो कार्यक्रम ६ महिने उद्यम विकास कार्यक्रम हो भने सर्टिफिकेट कोर्स करिब तीन महिनाको व्यवहारिक उद्यमशीलता विकास कार्यक्रम रहेको बैंकले जनाएको छ ।

कार्यक्रममार्फत उद्यम विकास, व्यवसाय विस्तार, व्यावसायिक योजना निर्माण, बजार पहिचान तथा वित्तीय पहुँचलगायतका विषयमा सहभागीलाई आवश्यक ज्ञान र सीप प्रदान गरिने नबिल एसएसई कोशी प्रदेश संयोजक वेदप्रसाद संग्रौलाले बताए ।


बैंकका अनुसार महिला, युवा, गरिब, वञ्चित तथा सीमान्तकृत समुदायका उद्यमीलाई आवेदनका लागि विशेष रूपमा प्रोत्साहन गरिनेछ ।

कार्यक्रममा छनोट भएका सहभागीले कम्तीमा ९० प्रतिशत उपस्थिति कायम गर्नुपर्नेछ ।


नबिल बैंकका अनुसार हालसम्म नबिल एसएसईका विभिन्न कार्यक्रमबाट १ हजार ५८० जना सहभागी लाभान्वित भएका छन् ।

उनीहरूमध्येबाट ३१८ वटा उद्यम स्थापना भई १९ हजार ३०३ जनाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी तथा जीविकोपार्जनका अवसर सिर्जना भएको बैंकले जनाएको छ ।


उद्यमशीलताको विकास र पवद्र्धनको लागि सघन सहयोग र अवसर कार्यक्रम अन्तर्गत कोशी प्रदेश अन्तर्गत विराटनगरमा सञ्चालित कार्यक्रमबाट हालसम्मका ६ समूहबाट ११३ जना प्रशिक्षित भएका छन्  ।

साथै उनीहरूमा  ९३ वटा प्रशिक्षार्थी नेतृत्वका उद्यम सञ्चालनमा छन् । त्यस्तै, सर्टिफिकेट कोर्सबाट १ हजार ४६७ जना सहभागी लाभान्वित भइसकेका छन् ।


यस वर्ष सर्टिफिकेट कोर्स देशभरका १० शैक्षिक साझेदार संस्थामार्फत सञ्चालन हुनेछ ।

 

कोशी प्रदेशमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पससहित विभिन्न प्रदेशका शैक्षिक संस्थामार्फत आवेदन तथा कार्यक्रम सञ्चालन हुने बैंकले जनाएको छ ।

 

वि सं २०७८  मा सुरु भएको नबिल एसएसईले उद्यमीलाई ज्ञान, सीप, स्रोत, सञ्जाल तथा वित्तीय पहुँचका अवसर उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।

 

View : 107

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved