Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कस्ता छन् विराटनर किङ्सका विदेशी खेलाडी र प्रशिक्षक ?

उद्घोष सम्वाददाता
७ मंसिर २०८१, शुक्रवार

विराटनगर । नेपाली क्रिकेटका स्टार खेलाडी सन्दिप लामिछाने ‘मार्की’ खेलाडी रहेको एनपीएल टिम विराटनगर किङ्सले यसपटक पाँच जना विदेशी खेलाडीलाई टिममा भित्र्याएको छ । 

कुनै बेला विश्व क्रिकेटमा विष्फोटक अन्दाजको ब्याटिङले हलचल मच्चाएका न्यूजिल्याण्डका मार्टिन गप्टिलदेखि ओमानका कप्तान अकिब इल्याससम्म विराटनगर किङ्स टिममा संलग्न छन् । 

न्यूजिल्याण्डको राष्ट्रिय टोलीबाट लामो समय ओपनिङ ब्याटिङ गरेका गप्टिल अनुभवी ब्याटर हुन् । यी दायाँ हाते आक्रामक ब्याटरको अन्तर्राष्ट्रिय करिअर सफल र लोभलाग्दो छ । 

गप्टिलले न्यूजिल्याण्डका लागि ४७ टेस्ट म्याच खेल्दै कूल २५८६ रन बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर १८९ हो । १९८ एक दिवसीय  खेल खेलेका उनले ७३४६ रन बनाएका छन् । ५० ओभरको खेलमा अविजित २३७ रन उनको उच्च स्कोर हो । 

१२२ अन्तर्राष्ट्रिय टि–२० खेलेका गप्टिलले ३५३१ रन बनाएका छन् । टि–२० मा १०५ रन उनको उच्च स्कोर हो । ठूला सर्टहरु खेल्न माहिर उनी पार्टटाइम बलर पनि हुन् । 

विराटनगर टिममा रहेका अर्का विदेशी खेलाडी हुन् ओमानका कप्तान अकिब इल्यास ।

ब्याटिङ र बलिङ दुवै भूमिकामा अब्बल उनी भरपर्दा अलराउण्डर हुन् । उनले अहिलेसम्म ३२ एक दिवसीय खेलमा ओमानका लागि १२३४ रन बनाएका छन् । जसमा अविजित १०९ रन उनको उच्च स्कोर हो भने टि–२० मा ५६ खेलमा १३३० रन बनाएका छन् । 

यो फर्म्याटमा उनको उच्च स्कोर ९० रन हो । उनले बलिङतर्फ एक दिवसीयमा २३ र टि–२० मा ४७ विकेट लिइसकेका छन् ।

क्यानडाका अलराउण्डर खेलाडी निकोलस क्रिटोन विराटनगरले भित्र्याएका अर्का विदेशी हुन् । उनले १८ एक दिवसीयमा क्यानडाका लागि ४९६ रन बनाउँदा उच्च स्कोर ७३ नटआउट हानेका छन् । त्यस्तै ५६ टि–२० मा  ५६४ रन बनाएका उनले ६९ रनको उच्च स्कोर बनाएका छन् । बलिङतर्फ  एक दिवसीयमा ४ विकेट लिएका उनले टि–२० मा एक विकेट हात पारेका छन् ।

स्कटल्याण्डका दाया हाते बलर क्रिस सोल पनि विराटनगरका एक प्रमुख विदेशी खेलाडी हुन् । ३१ एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा ५३ विकेट लिएका उनले १७  टि–२० मा १५ विकेट लिएका छन् । 

अफगानिस्तानका ब्याटिङ अलराउण्डर इस्मत आलम अन्तर्राष्ट्रिय क्रिकेटमा धेरै अनुभवी खेलाडी होइनन् । तर, लिस्ट 'ए' क्रिकेटमा उनले राम्रो रन र विकेट लिएका भने छन् । २० वटा टि–२० मा १० विकेट लिएका उनले १२५ रन पनि बनाएका छन् । जसमा ३९ रनको उच्च स्कोर सामेल छ । 

विराटनगर किङ्सले यसपटक प्रमुख प्रशिक्षकका रुपमा आयरल्याण्डका पूर्व क्रिकेटर केभिन ओ’ ब्रायनलाई  नियुक्त गरेको छ । 

२ वर्षअघि काठमाडौं किङ्सबाट एभरेष्ट प्रिमियर लिग खेलेका उनी यसपालि एनपीएलका लागि प्रशिक्षकको रूपमा भित्रिएका हुन् । उनलाई विराटनगर किङ्सले मुख्य प्रशिक्षकको रूपमा एनपीएलमा भित्र्याएको हो ।

सन् २०२२ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएर उनी प्रशिक्षणमा प्रवेश गरेका थिए । 

सन्यासपछि उनी युवाहरूलाई मार्ग दर्शन र आयरल्यान्ड क्रिकेटको विकासमा योगदान दिइराखेका छन् । उनले सन् २०११ मा भएको विश्वकप क्रिकेटसमा इङ्ल्यान्डविरुद्ध ५० बलमा शतक पूरा गर्दै ऐतिहासिक जित निकालेका थिए । उनले सन २००६ देखि २०२१ सम्म आयरल्यान्डको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

View : 72

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved