Biratnagar, Morang, Nepal
२८ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस

महिला जागरण सचेतना : आजको आवश्यकता

आज हामी ११५औं नारी दिवस मनाउँदै छौँ । विश्व परिवेशमा महिलाहरूको भूमिका निकै अगाडि बढिसकेको सन्दर्भमा हामी अझै पनि धेरै कुरामा पछाडि छौं ।
निर्मला कोइराला
२४ फागुन २०८१, शनिवार

आज ८ मार्च, महिला जागरण सम्बन्धी विशेष दिन; "सबै महिला तथा बालबालिकाको लागि अधिकार, समानता र सशक्तीकरण" भन्ने मूल नाराका साथ आज विश्वभर मनाइने अर्न्तराष्ट्रिय नारी दिवसको अवसरमा संसारभरिका सम्पूर्ण महिला दिदीबहिनीहरूलाई व्यक्तिगत तथा संस्थागत सुख, शान्ति, समृद्धिसहित महिला अधिकार संरक्षण गर्न र नीति निर्माणमा महिलाहरूको पहुँचको सुनिश्चितता गर्न सरोकारवालाको ध्यानाकर्षण होस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७५ मा यस दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसको रूपमा मनाउने मान्यता दिएको छ । ८ मार्चमा विश्वव्यापी रूपमा मनाइने यस कार्यक्रमको पृष्ठभूमि राजनीतिक भए तापनि हाल आएर यस दिनको उपादेयता महिला अधिकार, महिला सशक्तीकरण, लैङ्गिक समानता आदि सवालमा जोडिने गरेका छन् । समान कामको समान ज्याला, मताधिकारको सुनिश्चितता लगायतका माग राखी पहिलोपटक १५ हजार अमेरिकी महिलाबाट सुरुवात गरिएको यो महिला अधिकारको आन्दोलन समयसँगै विश्वव्यापी हुन पुग्यो । यसपछि यो प्रयासले साना ठूला राष्ट्रका  महिलाहरूलाई समेट्दै गयो ।

सन् १९१० अगस्ट २६ र २७ मा कोपनहेगनमा सम्पन्न प्रथम सम्मेलनपछि हालसम्म यस आन्दोलनले मस्को, नैरोबी र बेइजिङ हुँदै चारवटा ठूला विश्व नारीसम्मेलन सम्पन्न गरिसकेको छ । यो आन्दोलनलाई तार्किक निष्कर्षमा पु-याएर ८ मार्चले अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउन पाउने अधिकार प्राप्तिका लागि भने जर्मन कम्युनिस्ट महिला अधिकारकर्मी क्लारा जेट्किनको प्रमुख भूमिका रहेको छ । नेपालले पनि महिला अधिकारका यी सन्दर्भलाई अङ्गीकार गरिसकेको छ ।

आज हामी ११५औं नारी दिवस मनाउँदै छौँ । विश्व परिवेशमा महिलाहरूको भूमिका निकै अगाडि बढिसकेको सन्दर्भमा हामी अझै पनि धेरै कुरामा पछाडि छौं । हुन त मुलुकले दुई कार्यकाल महिला राष्ट्रपति पायो तथापि दूरदराजमा रहने महिला दिदीबहिनी र बालिकाहरूको जीवनमा सोचेजस्तो परिवर्तन आउन सकेको छैन । सुत्केरी व्यथाले समयमै उपचार नपाएर कतिपय दिदीबहिनीहरूले जीवन गुमाइरहनु परेको दुःखद यथार्थ हामीसँग छ । साना स्कुले बालिकाहरूको बलात्कारपछि हत्या भएका कहालीलाग्दा घटना छन् ।महिलाविरुद्ध भएका यस्ता घटना कि त ढाकछोप गरिन्छन् कि त धम्कीका भरमा मिलापत्र गराइन्छन् । यो हाम्रो समाजको अन्तर्यमा गडेर रहेको डरलाग्दो स्वरूप हो ।

त्यसैले नेपाली महिलाको अवस्था उकास्न हामीले अझै ठूलो संघर्ष गर्नुपर्ने हुन्छ । हामीले सहर बजारका पढेलेखेका सीमित महिलालाई हेरेर मात्र होइन गाउँका कुनाकाप्चामा मलको भारी डोकोमा बोकेर साँझ बिहान गाँस जुटाउँदै गरेका दिदीबहिनीलाई हेर्नुपर्ने हुन्छ । उनीहरूलाई चेतनशील बनाउँदै आयमूलक अवसरको सिर्जना गर्नु आजको आवश्यकता हो ।

आजको युग प्रतिस्पर्धाको युग हो । आजको युग विज्ञान र प्रविधिको युग हो । हामीले एकातिर हामीभित्रै प्रतिस्पर्धा गर्नुपर्ने परिस्थिति छ भने अर्कोतिर विश्व परिवेशका नारीहरूबीच पनि प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसैले अझै पनि केही समय महिलाको लागि समाजमा विशेष स्थान र अवसरको सिर्जना गरिनु आवश्यक छ । समाजलाई सन्तुलित रूपमा अघि बढाउन समानताको वातावरण चाहिन्छ । कानुनका कतिपय बुँदामा समान अधिकार उल्लेख गरिएको छ तथापि त्यसलाई व्यवहारिक रुपमा लागू गरिएको पाइँदैन । लिखित कानुन भएर मात्र हुँदैन, त्यसको कार्यान्वयन पक्ष सबल भएन भने लेखिएका कानुनको कुनै अर्थ रहँदैन । त्यसैले कानुनमा निर्धारण गरिएका कुरालाई व्यवहारिक रूपमा लागू गराउन सबै पक्षले कटिबद्ध हुनु जरुरी छ ।

महिलाको भूमिका समाजमा समानान्तर हुनका लागि सर्वप्रथम त शिक्षाको आवश्यकता पर्दछ। शिक्षाले मानवीय चेतनाको विकास गर्दछ । आफूले आफैंलाई चिन्न सक्ने बनाउँछ र आफ्ना अधिकार प्राप्तिमा आवाज उठाउन सक्ने बनाउँछ । जुन घरमा महिला शिक्षित छन् त्यहाँ उनी मात्र होइन उनको सिंगो परिवार नै चेतनशील बनेको हुन्छ । त्यसैले त हाम्रा पूर्वज मनुले आफ्नो पुस्तक मनुस्मृतिमा भनेका छन् -
'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता'
अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ भगवान पनि खुसी हुन्छन् , रमाउँछन् ।


समाजमा महिलाहरू सशक्त हुन जरुरी छ । शक्तिशाली महिलाले अन्याय र विभेद विरुद्ध आवाज उठाउन सक्छन् ; कुरीतिका विरुद्ध लड्न सक्छन् । महिलाहरू न्यायप्रेमी हुन्छन् त्यसैले न्यायका लागि पुरुषभन्दा अझ सशक्त ढङ्गले आवाज उठाउँछन् । दबिएका र शोषित बनाइएका वर्गका लागि बोलिदिन्छन् जसले गर्दा समाज रूपान्तरणमा यसको प्रत्यक्ष प्रभाव पर्दछ ।

आफ्नो घर गृहस्थीको प्रमुख दायित्वलाई सँगसँगै बहन गर्दै आज महिलाहरु राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरका विभिन्न क्षेत्रहरूमा सफलता प्राप्त गर्न सफल र सशक्त भएका छन् । समाज र राष्ट्र निमार्णका निमित्त महिलाहरूको अहम् भूमिका रहने भएकाले समेत महिलाहरूका हक अधिकारलाई सुनिश्चित गर्नु, महिला हिँसा र दुर्व्यवहारको अन्त्य गरी महिला सशक्तीकरणमा जोड दिनु आजको आवश्यकता हो ।

यो २१औँ शताब्दीको उत्तरार्धको समय महिला सशक्तिकरणको युग हो; महिलाको समानताको युग हो र महिला अधिकार स्थापित गर्ने युग हो ।  हामी यस युगका भाग्यमानी महिला हौँ । हाम्रो जिम्मामा समाज रूपान्तरणको अभिभारा आइपरेको छ । तसर्थ अब सम्पूर्ण दिदीबहिनीहरु जाग्नुपर्छ , उठ्नुपर्छ र समाजमा विद्यमान विभेद र वेथितिका विरुद्ध लडेर समाज र देशलाई उठाउनु पर्छ । अनि विश्व परिवेशका महिला सरह काँधमा काँध मिलाएर अघि बढ्नुपर्छ । यो कुरालाई सबै सचेत महिलाले मनन गर्दै समाजमा तलै छोडिएका महिला दिदीबहिनीहरूलाई उठाउनुपर्दछ । सचेत र शिक्षित महिलाको आजको प्रमुख दायित्व पनि यही हो । 

View : 165

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved