Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

विराटनगर किंग्स ९० रनले सुदूरपश्चिम रोयल्ससँग पराजित

उद्घोष सम्वाददाता
१८ मंसिर २०८१, मङ्गलवार

विराटनगर । किर्तिपुरस्थित टियु मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको छ ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा विराटनगरविरुद्ध शानदार जीत निकाल्दा विराटनगरले भने दोस्रो हार व्यहोर्न पुगेको हो ।

सुदूरपश्चिमले दिएको १८३ रनको भारी लक्ष्य पछ्याउन मैदान उत्रिएको विराटनगर किंग्स ९२ रनमै अलआउट भयो ।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रनका लागि खेले । निकोलस किर्टोनले १५ र क्रिस सोले १० रन बनाएर आउट बने । विराटनगरका लागि अरु ब्याटर जम्न सकेनन् । मार्टिन गुप्टिल पहिलो बलमै बोल्ड भए ।

टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले आक्रामक ब्याटिङ गरेर एनपीएलको अहिलेसम्मको ठुलो स्कोर खडा गर्न सफल बन्यो ।

कप्तान दीपेन्द्रसिंह ऐरीको आक्रामक ब्याटिङको सहयोगमा १८२ रन बनाएको थियो । ऐरीले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै आफ्नो पहिलो अर्धशतकीय पारी पुरा गरे र इनिङको सानदार फिनिसिङ गरेका थिए । २४ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै अविजित ५७ रन बनाए ।

विराटनगरविरुद्ध सुदूरपश्चिमले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । अविनाश बोहोरा र स्कट कुगेलिजेनले तीन–तीन विकेट लिए । ब्रान्डन म्याकुलन, इशान पाण्डे र सैफ जैबले समेत समान एक–एक विकेट लिए ।

सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले ५७, ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए ।

विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एक÷एक विकेट लिए ।

एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरसँगको पराजयले विराटनगर थप दवावमा परेको हो ।

View : 58

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved