विराटनगर । सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीको निगरानी कमजोर हुँदा तस्करी र लागूऔषध कारोबार बढ्दै गएको पाइएको छ । सुनसरीमा हालै भएको एक घटनाले पनि सीमा सुरक्षाको अवस्था स्पष्ट पारेको छ ।
शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीले ६० हजार ६ सय प्रतिबन्धित ट्याब्लेटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिहारको नरपतगञ्ज घर भएका २९ वर्षीय मोहम्मद सहनेवाज छन् । उनी इटहरीमा डेरा गरी बस्दै आएका थिए । प्रहरीले उनको डेरामा छापा हानेर उक्त परिमाणको ट्याब्लेट बरामद गरेको हो ।
भारतको जोगबनी नाकाबाट धरान रोड हुँदै इटहरी पुग्न सहज छ । यस मार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानमा जाँच गर्ने भए पनि सबै व्यक्तिलाई नियन्त्रणमा लिन नसक्दा धेरैजसो तस्कर सजिलै गन्तव्यसम्म पुग्ने गरेका छन् । मुख्य नाकामै कडाइ कमजोर हुँदा अन्य स्थानको निगरानी पनि प्रभावकारी हुन सकेको छैन ।
जोगबनीको मटेरुवा सीमा क्षेत्रमा भने सुरक्षाकर्मीभन्दा सीसी क्यामेराको प्रभाव बढी देखिएको छ । रिपोर्टिङका क्रममा सो क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको भए पनि स्थानीयको झोला जाच नगरेको देखिएको थियो ।
सीमामा खटिएका एक सशस्त्र प्रहरीका अनुसार स्थानीय बासिन्दालाई रोक्न कठिन हुने भएकाले सीसी क्यामेराको सहारा लिनुपरेको छ ।
उनले भने, ‘यहाँ हामीले धेरै प्रयास गर्यौं, तर अहिले सीसी क्यामेरा राखेपछि केही सहज भएको छ। माथिबाट निगरानी भइरहेको थाहा पाएपछि तस्करहरू केही डराउँछन्, नत्र त उनीहरू निडर नै हुन्छन् ।
तराई–मधेश क्षेत्रमा दैनिक रूपमा लागुऔषधसहित मानिस पक्राउ पर्ने क्रम जारी छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रकुमार खड्काका अनुसार बैशाख ९ गतेदेखि सञ्चालन गरिएको अभियानमा ठूलो परिमाणमा लागूऔषध बरामद भएको छ ।
उनका अनुसार बैशाख ९ गते २०.९३ ग्राम खैरो हेरोइन र ४४ पिस ट्याब्लेटसहित ९३ जनालाई नियन्त्रणमा लिइएको थियो ।
त्यसपछि १० गते ६.१२ मिलिग्राम खैरो हेरोइन, ११ गते २.१६ ग्राम खैरो हेरोइन तथा सानो परिमाणमा गाँजा, १२ गते ६० हजार ट्याब्लेट बरामद गरिएको थियो । यसैगरी आइतबार १.९ केजी गाँजा र १० थान एम्पुल पनि प्रहरीले बरामद गरेको छ ।
डीएसपी खड्काका अनुसार ट्रामाडोललगायतका प्रतिबन्धित औषधि प्रायः भारतबाट नेपाल भित्रिने गरेका छन् । तर सीमामा पर्याप्त कडाइ नहुँदा यस्तो अवैध कारोबार नियन्त्रणमा चुनौती देखिएको छ ।
सीमा सुरक्षामा कमजोरी कायम रहेसम्म भारत र नेपालका तस्करहरू अझै सक्रिय हुने र प्रतिबन्धित औषधि देशका विभिन्न भागमा सहजै पुर्याउने जोखिम बढ्दै जाने देखिन्छ ।
View : 212
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved