विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय, शिक्षाशास्त्र संकायको आयोजनामा नेपालमा पहिलोपटक "इनभिजनिङ अर्ली चाइल्डहुड इकोसिस्टम इन नेपाल" विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन विराटनगरमा गर्ने भएको छ ।
मंसिर २१ र २२ गते विराटनगरमा आयोजना गर्न लागिएको सम्मेलनमा नेपाल, अमेरिका, मलेसिया, भारत बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहने पुर्वान्चल विश्वविध्यालयले जानकारी दिएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा प्रथम पटक आयोजित यो अन्तर्राष्ट्रिय सम्मेलनमा बालविकासका क्षेत्रमा प्राज्ञिक बहस र विमर्श गराउने मुख्य उद्देश्य राखिएको छ ।
यस सम्मेलनमा बालबालिका लक्षित नीति, विशेष आवश्यकता भएका बालबालिकाहरुको हेरचाह, बालविकासका क्षेत्रमा आवश्यक जनशक्ति, पेशागत विकास र नैतिकता, जलवायु परिवर्तन र त्यसले बालबालिकालाई परेको प्रभाव बालबालिकाको पोषण तथा यसले बाल विकासमा पारेको प्रभाव, प्रारम्भिक बाल्यकाल विकासमा नवप्रवर्तन आदि विषयमा ४० भन्दा बढी सहभागीहरुले आफ्नो अध्ययन अनुसन्धान प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
साथै यस क्षेत्रमा कार्यरत विभिन्न देशका व्यक्तित्वहरुबाट कि नोट स्पिच तथा विविध प्रकारका कार्यशालाहरु समेत आयोजना गरिने शिक्षाशास्त्र सन्कायका डिन प्रा.डा अनिल कुमार पोखरेलले जानकारी दिएका छन् ।
"बालबालिकाहरूका सर्वाङ्गिण विकासका अवसरहरूको गुणस्तर र पहुँच सुधार एवं सुनिश्चित गर्ने विषयमा बहस केन्द्रित हुने छ" विश्वविद्यालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ" सम्मेलनमा प्रस्तुत भएका कार्यपत्र एवं कार्यशालाहरुबाट विश्वविद्यालयले भविष्यमा शिक्षाशास्त्र संकाय अन्तर्गत रहने गरी इसिडी सम्बन्धि अध्ययन अनुसन्धान गर्ने केन्द्र सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यस कार्यक्रमले बालविकासका क्षेत्रमा नया एवं समाजको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर लगायतका विशेष कार्यक्रमहरुको पहिचान गर्न र सो अनुरुप कार्यक्रमहरु थप गर्न सघाउ पुग्ने विश्वास विश्वविद्यालयको छ।"
सम्मेलन आयोजनाका लागि काठमाडौँ महानगरपालिका, विराटनगर महानगरपालिका, नविल बैंक, प्लान इन्टरनेशनल, सेभ द चिल्ड्रेन लगायतका विभिन्न संघ संस्थाहरुको सहयोग रहने उल्लेख छ ।
View : 85
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved