पूर्वक्रिकेटर अनिल साहको दोस्रो इनिङ
विराटनगर । ३५ वर्षअघि क्रिकेट खेलाडीका रूपमा मोरङ व्यापार संघसँग जोडिएका अनिलकुमार साह यतिबेला त्यही संस्थाको मुख्य नेतृत्वमा पुगेका छन् । नेपालका निजी क्षेत्रका संस्थाहरूमध्येको सबैभन्दा जेठो संस्था संघ अहिले ‘मोरङ उद्योग व्यापार संघ’ भइसकेको छ ।
यही संस्थामा पहिले खेलाडी, त्यसपछि सदस्य हुँदै विभिन्न जिम्मेवारी बहन गर्दै अध्यक्षको आसनमा पुगेका अनिल आगामी दिनका योजनाहरू बनाउने र त्यसको कार्यान्वयनको खाका कोरिरहेको बताउँछन् ।
२०४८ सालमा नेपाल उद्योग वाणिज्य महासंघको २५ औँ वर्षगाँठका अवसरमा महासंघले उद्योग व्यापार संघहरूबीच क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।
त्यसबेला विराटनगरका चर्चित क्रिकेटर थिए अनिल । त्यो राष्ट्रव्यापी क्रिकेट प्रतियोगितामा मोरङ व्यापार संघको टिमबाट खेल्ने क्रममा अनिलले व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
यसरी क्रिकेट खेलाडीका रुपमा संघसँग गाँसिएको उनको नाता क्रमशः प्रगाढ बन्दै गयो । अहिले आएर उनी सर्वसम्मत रुपमा संघको ३५ औँ कार्यसमितिको अध्यक्ष बन्न सफल बनेका छन् ।
‘म खेलाडीका रुपमा सुरुमा संघसँग जोडिएको थिएँ,’ आइतबार उद्घोषसँग उनी भावुक पनि सुनिन्थे ‘त्यो नाता जोडिएको जोडियै भयो । अहिले संस्था हाँक्ने जिम्मेवारीमा आइपुगेको छु ।’
२०५३ सालदेखि संघका साधारणसभा र विभिन्न कार्यक्रममा नियमित सहभागी हुन थालेका साह २०६५ सालमा औपचारिक रूपमा कार्यसमितिमा प्रवेश गरेका थिए । त्यसपछि संघको सचिव, महासचिव, वाणिज्य उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै उनी अहिले अध्यक्ष बनेका हुन् । उनी दुई कार्यकाल त सचिव नै भए ।
त्यसो त यो यात्रामा उनले क्रिकेटको संगठनात्मक नेतृत्व पनि सम्हालेका छन् ।
२०५८ देखि २०६२–६३ सम्म दुई कार्यकाल नेपाल क्रिकेट संघ (क्यान)को कार्यकारी सदस्य भएका साह पूर्वाञ्चल क्रिकेट विकास समितिको कोषाध्यक्ष र सचिव हुँदै २०६२–६३ मा अध्यक्ष बनेका थिए । क्रिकेटमा होस् वा उद्योग–व्यापारको संगठनमा, साहको यात्रा भूइँतहदेखि नेतृत्व तहसम्मै पुग्यो ।
संघको अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा अहिले उनको अगाडि विराटनगरको उद्योग–व्यापार क्षेत्रका पुराना र नयाँ दुवै चुनौती उपस्थित छन् ।
‘उद्योगी व्यवसायीहरूको समस्या समाधानका लागि अहोरात्र लागिपर्ने मुख्य जिम्मेवारी निर्वाह गर्नु नै छ,’ अनिलले आफ्ना योजना सुनाए ‘त्यसबाहेक यहाँको सम्भावना उजागर गर्ने काममा निजी क्षेत्रले गर्ने सम्पूर्ण प्रयास पनि गर्नुपर्ने छ । कार्यकाललाई सम्झनलायक बनाउने महत्वाकांक्षी योजनाहरू पनि बनाइरहेको छु ।’
विराटनगर नेपालको पुरानो औद्योगिक सहर हो । यही पुरानो औद्योगिक सहरमा उद्योगधन्दाहरूले भोग्नुपरेका अनेकौ चुनौती उनले नजिकैबाट देखेका छन् ।
‘यहाँ नयाँ उद्योग स्थापना गर्न चाहने उद्योगी–व्यवसायीका लागि अहिले जग्गा ठूलो समस्या बनेको छ,’ उनी भन्छन् ‘जग्गाको मूल्य यति बढेको छ कि, उद्योग सञ्चालनका लागि छुट्याउनुपर्ने ठूलो पुँजी जग्गा किन्नमै खर्च भइरहेको छ । उद्योगीको पुँजी उद्योगमा लाग्नुपर्ने हो, जग्गामा होइन । सरकारले औद्योगिक–ग्राम बनाएर जग्गाको व्यवस्थापन गरिदिने हो भने व्यवसायीलाई उद्योगमा लगानी गर्न सजिलो हुन्छ ।’
उनको बुझाइमा विराटनगर पुरानो औद्योगिक पहिचान भएको सहर भए पनि पछिल्ला वर्ष भने वीरगञ्जलगायतका सहर औद्योगिकीकरणमा अगाडि बढेका छन् । ‘विराटनगर पुरानो औद्योगिक सहर हो, तर वीरगञ्जलगायतका सहरले हामीलाई उछिनिसके,’ उनी भन्छन्, ‘हाम्रो मुख्य समस्या जग्गाको मूल्य र औद्योगिक पूर्वाधार हो ।’
त्यसैले औद्योगिक–ग्रामको व्यवस्थापनलाई उनले आफ्नो कार्यकालको एउटा महत्वपूर्ण एजेन्डा बनाएका छन् ।
साहको प्राथमिकतामा विराटनगरको अर्को पुरानो आधार पनि छ, भारतसँगको व्यापारिक सम्बन्ध ।
नेपाल–भारत सम्बन्धको चर्चा हुँदा काठमाडौं र दिल्ली केन्द्रित हुने गरेको भन्दै उनी सीमावर्ती सहरको सम्बन्धलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउँछन् ।
विराटनगरको पूर्णियाको गुदडी बजारसँग पुरानो व्यापारिक सम्बन्ध थियो । अहिले त्यो कारोबार सुस्ताएको उनको भनाइ छ । त्यसलाई पुनः चलायमान बनाउने योजना उनले अघि सारेका छन् । सीमावर्ती भारतीय उद्योग वाणिज्य संघहरूसँग सहकार्य गरेर व्यापार र उत्पादनमूलक गतिविधि बढाउने उनको योजना छ ।
‘हामी काठमाडौं र दिल्लीको कुरा धेरै गर्छौं,’ साह भन्छन्, ‘तर नेपाल–भारत सम्बन्ध राजनीतिक तहको मात्र होइन, ‘पिपुल टु पिपुल’ सम्बन्ध पनि हो ।’
उनको नजरमा कोशी प्रदेशसँग सीमा जोडिएको बिहार र पश्चिम बंगालको ठूलो बजार विराटनगरका लागि महत्वपूर्ण सम्भावना हो । उत्तर प्रदेशसम्मको बजारलाई पनि नेपाली उत्पादनका लागि प्रयोग गर्न सकिने उनी बताउँछन् ।
खुला सीमा र त्यसले निम्त्याएका चुनौती विराटनगरका व्यवसायीले वर्षौंदेखि उठाउँदै आएको अर्को मुख्य विषय हो । अध्यक्ष साह यसलाई एउटा सरल उपमाबाट व्याख्या गर्छन् ।
‘खुला सिमाना र खोलाको पानी उस्तै हो,’ उनी भन्छन्, ‘जता ओरालो र फाइदा हुन्छ, उतै बग्छ ।’ खुला सीमाका कारण हुने अवैध कारोबार, मूल्यको अन्तर र बजारमा त्यसले पार्ने प्रभावलाई नियमन गर्न सरकार अग्रसर हुनुपर्ने उनको भनाइ छ ।
‘यो समस्या नयाँ होइन । व्यवसायीले वर्षौंदेखि यसबारे आवाज उठाउँदै आएका छन्,’ उनी थप्छन् ‘तर, सीमा व्यवस्थापनलाई व्यवहारिक र प्रभावकारी बनाउन राज्यको सक्रिय भूमिका आवश्यक छ ।’
नेपालले बिहारलाई मात्रै पर्यटनसँग जोड्न सके धेरै फाइदा हुने उनको विचार छ ।
बिहारमा मदिरा निषेध भएकाले त्यहाँका ठूला कर्पोरेट कम्पनी र संस्थाका एजीएम, कर्पोरेट मिटिङ तथा उत्पादन प्रवद्र्धनका कार्यक्रम नेपालका रिसोर्टमा ल्याउन सकिने उनको भनाइ छ ।
विराटनगरबाट छोटो दूरीमै तराईको समथर भूभागदेखि पहाड र हिमाली क्षेत्रसम्म पुग्न सकिने भौगोलिक विविधतालाई उनी पर्यटनको आधार मान्छन् । ‘हामीसँग छोटो दूरीमै फरक–फरक भूगोल छ,’ साह भन्छन्, ‘यसलाई पर्यटनसँग जोड्न सकिन्छ, यतातर्फ सरकार र निजी क्षेत्र सबैले गम्भीरतापूर्वक काम गर्न आवश्यक छ ।’
उद्योग व्यापार क्षेत्रमार्फत सामाजिक काममा जोडिनुअघि उनको पहिचान क्रिकेटर अनिलकुमार साहको रुपमा थियो । क्रिकेटरका रूपमा उनी मैदानमा मात्रै सिमित भएनन् । २०५८ देखि २०६२–६३ सम्म दुई कार्यकाल क्यानको कार्यसमिति सदस्यसमेत भए । पूर्वाञ्चल क्रिकेट विकास समितिको कोषाध्यक्ष र सचिव हुँदै अध्यक्षसम्म बने ।
जतिबेला उनी सक्रिय खेल जीवनमा थिए, उनी विराटनगरका तीव्र गतिका बलरका रूपमा चिनिन्थे । धेरै राष्ट्रिय प्रतियोगिताबाट तत्कालीन पूर्वाञ्चल टिमबाट प्रतिनिधित्व गरेका उनका लागि भारतीय सहरहरूमा हुने प्रतियोगिता पनि आकर्षणमा पर्थे ।
‘त्यसबेला म फास्ट बलरका रूपमा चिनिन्थेँ,’ साह भन्छन्, ‘निरञ्जन रिजाल, मनिषराज पाण्डे, मनिष पोखरेलजस्ता राम्रा ब्याट्सम्यानहरू मेरो बल खेल्न मैदानमा कुरिरहन्थे । किनभने, मेरो फास्ट बलिङले उहाँहरूलाई गज्जबको अभ्यास हुन्थ्यो ।’
त्यसबेला उनी यूथ क्रिकेट क्लबबाट खेल्थे । क्रिकेट खेलाडीका रूपमा उनको जीवनका केही खेल अहिले पनि स्मृतिमा ताजा छन् ।
जोगबनीमा भगवान यादवले आयोजना गरेको प्रतियोगिता उनले कहिल्यै नबिर्सने क्षण हो । यो २०५० सालतिरको कुरा हो ।
जोगबनी पुगेको विराटनगरको टिम पूर्णियासँग भिड्दै थियो । टस हारेपछि विराटनगरले पहिले ब्याटिङको निम्तो पायो । तर, दुर्भाग्य ५० ओभरको खेलमा विराटनगर जम्मा ५९ रनमा अलआउट भयो । पूर्णियाको टिम उत्साहित थियो ।
दोस्रो इनिङ लन्चपछि मात्रै गर्ने नियम थियो । तर, पूर्णियाको टोलीले ५–७ ओभरमै खेल सकिन्छ भन्दै खेल निरन्तर गर्न भन्यो । खेल सुरु भयो ।
विराटनगरका कप्तान निरञ्जन रिजालले नयाँ बल अनिल साह र मनिष पाण्डेलाई दिए । ५९ रन जोगाउने लगभग असम्भव जस्तै जिम्मा थियो त्यो । तर, अनिल र मनिषको घातक र धारिलो बलिङका अघि पूर्णियाका ब्याटरहरू निरीह सावित भए ।
अनिल र मनिष मिलेर पूर्णियालाई नौ विकेटको क्षति पु¥याइ १८ रनमा झारेका थिए । अन्ततः विराटनगरले ५९ रनको सामान्य स्कोर जोगाएर खेल जित्यो ।
‘उनीहरूले लन्चअघि नै खेल सकाउने भनेका थिए,’ साह हाँस्दै सम्झन्छन्, ‘ हामीले १८ रनमै नौ विकेट झार्यौँ, केहीबेर टिकेको अन्तिम विकेट रन आउटमा रुपमा हात पार्यौं । त्यसपछि पूर्णियाका खेलाडी पुरस्कार थाप्न पनि आएनन् ।’
तीव्र गतिका तिनै बलर अनिल अहिले निजी क्षेत्रले तीव्र गतिमै चुनौतीहरू सहिरहेका बेला मोरङ उद्योग व्यापार संघको नेतृत्वमा छन् ।
क्रिकेट पिचमा ५९ रनको योगफल जोगाउने गरी उत्कृष्ट बलिङ गर्ने उनी चुनौतीको चाङमा उभिएको विराटनगरको निजी क्षेत्र हाँक्न पनि त्यसैगरी सफल होलान् ? यसको जवाफका लागि भने उनको दुई वर्षे कार्यकाल कुर्नुपर्ने हुन्छ ।
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved