Biratnagar, Morang, Nepal
१० असोज २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

कोशी प्रदेशमा घट्दैछ नयाँ मौसमी प्रणालीको प्रभाव, पश्चिमतिर बढ्यो असर

उद्‌घोष संवाददाता
९ असोज २०८३, शुक्रवार

Advertisement

विराटनगर । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि प्रभावित पूर्वी नेपालमा अब वर्षाको मात्रा क्रमशः घट्ने मौसमविद्हरूले बताएका छन्। प्रणाली पूर्वी भागबाट पश्चिमतर्फ सर्दै गएसँगै कोशी प्रदेशमा पानी पर्ने क्रम कम हुँदै जाने र पश्चिमी भूभागमा वर्षा बढ्ने देखिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार शनिबार कोशीसहित पूर्वी क्षेत्रमा वर्षाको मात्रा केही घट्ने सम्भावना छ। तर न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै जाने भएकाले देशका मध्य तथा पश्चिमी भूभागमा आज रातिदेखि वर्षा बढ्न सक्ने उनको भनाइ छ।

‘भोलि शनिबार पूर्वी क्षेत्रहरूमा पानीको मात्रा केही कम हुने सम्भावना छ,’ लामिछानेले भने, ‘पश्चिमी भूभागहरूमा आज रातिदेखि पानी पर्ने क्रम बढ्दै जाने देखिन्छ।’

केही दिनदेखि परेको लगातारको वर्षाले कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका खोला–नदीमा समेत पानीको बहाव बढाएको छ। वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र सडक अवरुद्ध हुने जोखिमसमेत बढेको छ।

नेपाल मौसम विज्ञान विभागको जोखिम नक्साले बागमतीदेखि पूर्वका जिल्लालाई पहेँलो संकेतमा राखेको छ। पहेँलो संकेतले मौसमको अवस्थाबारे सतर्क रहन र नियमित सूचना लिनुपर्ने जनाउँछ। पश्चिमतर्फका उच्च पहाडी तथा हिमाली जिल्लालाई भने रातो संकेतमा राखिएको छ, जहाँ बाढी तथा पहिरोको जोखिमका कारण थप सावधानी अपनाउनुपर्ने हुन्छ।

सप्तकोशीमा बहाव बढ्दो

कोशीका लागि पछिल्लो मौसमी अवस्थाको अर्को प्रमुख चासो सप्तकोशीको बहाव हो। मौसम विज्ञान विभागले सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय र डुबानको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागले यस्तो सतर्कता पर्सिसम्म कायम राख्न भनेको छ। लगातार वा ठूलो वर्षा हुँदा कोशीका सहायक नदी तथा खोलामा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा जोखिम बढ्न सक्छ।

बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न साना नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ। आइतबारदेखि सातै प्रदेश भएर बहने साना नदीमा पनि अचानक बहाव बढ्न सक्ने महाशाखाको आकलन छ।

हालको प्रणाली पश्चिमतर्फ सर्दै गए पनि त्यसको प्रभाव पूर्ण रूपमा हटिसकेको छैन। त्यसैले कोशीमा वर्षा घट्ने संकेत देखिए पनि नदी तथा खोलाको बहाव तत्कालै सामान्य अवस्थामा फर्किहाल्ने अवस्था नहुन सक्छ। विशेषगरी सप्तकोशीको तल्लो तटीय क्षेत्रमा नदीको अवस्था र मौसमसम्बन्धी सूचना नियमित हेर्नुपर्ने देखिन्छ।

View : 41

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved