Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

विद्यार्थीलाई हुक्का र सुर्तीजन्य पदार्थ बिक्री गरे व्यवसाय दर्ता खारेज गर्ने विराटनगर महानगरपालिकाको निर्णय

निर्णय कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायी समेतको सहभागितामा अनुगमन समिति गठन गरिएको छ । उक्त समितिले सोमबारदेखि अनुगमन गर्ने जनाइएको छ ।
उद्‌घोष सम्वाददाता
१९ पुष २०८१, शुक्रवार

विराटनगर । विराटनगर महानगरपालिकाले जथाभावी खुलेका चिया, हुक्का बार र क्याफेलाई व्यवस्थित गर्ने भएको छ । 

धेरैजसो चिया पसल, हुक्का बार र क्याफेमा अधिकांश विद्यार्थी पोशाकमै हुक्का र सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको गुनासो आएपछि विराटनगर महानगरपालिकाले सम्बन्धित व्यवसायीसँग छलफल गरेको हो ।

छलफलमा अबदेखि त्यस्तो कार्य रोक्ने सहितको निर्णय गरेको जनाइएको छ । महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, राजस्व महाशाखा प्रमुख सरोज गौतम, सम्बन्धित व्यवसायी लगायतको उपस्थितिमा भएको छलफलले विद्यालय पोशाक लगाएका र १८ वर्षमुनि युवायुवतीलाई हुक्का सहित सुर्तीजन्य पदार्थ बिक्री नगर्ने निर्णय गरेको हो । 

बिक्री गरेको पाइए व्यवसाय दर्ता खारेज र सम्बन्धित निकायमा कारबाही सिफारिस गर्ने निर्णय पनि गरिएको छ ।

हुक्का बार, चिया पसल र क्याफे अगाडि जथाभावी पार्किङ गरेका कारण आवतजावतमा समेत समस्या भएको भन्दै पार्किङलाई व्यवस्थित गरिने भएको छ । अबदेखि सबै व्यवसायीले अनिवार्य पार्किङको व्यवस्था गर्नुपर्नेछ । 

निर्णय कार्यान्वयन भए नभएको विषयमा अनुगमन गर्न नगर प्रहरीका प्रमुख राजन पौडेलको संयोजकत्वमा व्यवसायी समेतको सहभागितामा अनुगमन समिति गठन गरिएको छ । उक्त समितिले सोमबारदेखि अनुगमन गर्ने जनाइएको छ ।

समितिमा राजस्व महाशाखाका बासु भण्डारीसहित व्यवसायीहरू रमण भगत, सुमन खड्का, विवेक वडुवाल सदस्य रहेका छन् । अनुगमन समितिले निर्णय कार्यान्वयनको अवस्था, घरबहाल तथा व्यवसाय कर तिरे नतिरेको, सफाइ कार्ड लिए नलिएको लगायत पनि हेर्ने सहमति भएको छ । 

मेयर कोइरालाले विद्यार्थीलाई हुक्का सहित सुर्तीजन्य पदार्थ बिक्री गरेको पाइए व्यवसाय नवीकरण नगर्ने बताए ।

‘कलेज र स्कुलबाट पोशाकमै विद्यार्थीहरू सिधै चिया, हुक्का बार र क्याफेमा पुग्ने गरेको भन्ने व्यापक गुनासो आएको छ, उपप्रमुखको नेतृत्वमा गरिएको अनुगमनका क्रममा कमीकमजोरी देखियो,’ मेयर कोइरालाले भने, ‘त्यही भएर व्यवसायीहरूलाई नै बोलाएर छलफल गरेर निर्णय गरिएको हो ।’

छलफलमा सहभागी व्यवसायीहरूले महानगरको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

उनीहरूले विगतका कमीकमजोरी सुधारेर अब विद्यार्थी पोशाकमा आएका युवायुवतीलाई हुक्का सहित सुर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउने बताए ।

View : 345

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved