विराटनगर । विराटनगर–३ स्थित मानगढ राधाकृष्ण मन्दिरमा एक महिनादेखि नियमित सञ्चालित ‘बाल संस्कार योग साधना केन्द्र’ का ३५ जना उत्कृष्ट बालबालिकालाई उत्तरपुस्तिका तथा कलम वितरण गरी सम्मान गरिएको छ ।
मोबाइलको लत, कुलत र गलत संगतबाट बचाउँदै बालबालिकालाई असल नागरिक बनाउन पतञ्जली योग, ध्यान तथा पूर्वीय दर्शन सिकाउने उद्देश्यले सञ्चालित सो केन्द्रमा दैनिक करिब ५० जना बालबालिका सहभागी हुने गरेका छन् ।
महिला पतञ्जली योग मोरङकी जिल्ला कोषाध्यक्ष ज्ञानु न्यौपाने बोगटी, केशव आचार्य र मन्दिर व्यवस्थापन समितिको सक्रियतामा सो केन्द्र सञ्चालन भइरहेको छ ।
एक महिनासम्म निरन्तर प्रशिक्षणमा सहभागी भई उत्कृष्ट ठहरिएका बालबालिकालाई पतञ्जलि योग विराटनगर महानगर समितिका अध्यक्षद्वयको उपस्थितिमा पुरस्कृत गरिएको हो ।
कार्यक्रममा महानगर अध्यक्ष माधव अधिकारीले बाल संस्कार साधना केन्द्रको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको शभकामना दिए ।
सो अवसरमा राधाकृष्ण मन्दिरका आचार्य रुद्रशरण स्वामीजीले केन्द्र सञ्चालनका लागि आवश्यक सम्पूर्ण भौतिक तथा अन्य सामग्री व्यवस्थापन गरिदिने वचन दिएका छन् ।
कार्यक्रममा पतञ्जली मोरङका पूर्व जिल्ला अध्यक्षद्वय सुरेश अग्रवाल र ध्रुव तामाङ, बाल योगी प्राप्ति घिमिरेलगायत योग शिक्षक, अभिभावक तथा स्थानीयहरूको उपस्थिति थियो ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved