Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पर्यटन बर्षले नछोएको ‘दुधकुण्ड’ को यात्रा (फोटो)

जितेन्द्र रोइला
२५ साउन २०८२, आइतवार

सोलुखुम्बुको उच्च हिमाली भू–भागमा अवस्थित धार्मिक एवं प्राकृतिक पर्यटन स्थल हो दुधकुण्ड । यो ठाउँ समुद्री सतहबाट करिब ४ हजार ५६१ मिटरको उचाइमा रहेको छ । शान्त मनमोहक वातावरण र अध्यात्मको अद्वितीय संगमको रूपमा परिचित दुधकुण्डमा हरेक बर्ष आन्तरिक एवं बाह्य पर्यटकहरू पुग्ने गर्दछन् ।

हामीले बुढापाकाको मुखबाट सुनेको दुधकुण्ड नामले यहाँको पानी दूधजस्तो सेतो हुने कल्पना गर्दछौं । हामीले यहाँ पुगेपछि बुढापाकाको कथनजस्तै वास्तवमै तालको पानी स्वच्छ र सेतो शान्त पायौं । 

दुधकुण्ड हिन्दु र बौद्ध दुवै धर्मावलम्बीहरूको पवित्र स्थलका रुपमा रहेको छ । यहाँ स्नान गर्नाले पापमोचन हुन्छ र मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास कायमै छ । दुधकुण्डमा जनैपूर्णिमाको अवसरमा ठुलो संख्यामा धार्मिक यात्रा गर्नेहरू भेटिन्छन् ।

उच्च हिमाली क्षेत्र भएकोले यहाँ यार्सागुम्बा संकलनको मौसममा मानिसहरू पुग्ने गर्दछन् । हिमाली क्षेत्रका शेर्पा, राई, तामाङ लगायतका समुदायका यस क्षेत्रमा बसोबास गर्दै आएका छन् । उनीहरू पनि दुधकुण्डलाई आफ्नो धार्मिक आस्थाको केन्द्र मान्दछन् ।

दुधकुण्ड पुग्ने बाटोको यात्राको रोमाञ्चक बन्ने गर्दछ । हामी उदयपुरको सदरमुकाम गाईघाटमा सोलुको सल्लेरी हुँदै जुनबेंसीबाट पदयात्रा गर्यौं । यात्राका क्रममा अग्ला घना रुख, चिसो पानी बग्ने खोला र झरना, मनमोहक हिमाली डाँडा र त्यसको तलका बेंसी फाँट पनि देख्यौं । मौसम अनुसारको यात्रा गर्दा यस क्षेत्रमा हिउँले सेतै देख्न सकिन्छ ।

प्राकृतिक सुन्दरतामा दुधकुण्ड अत्यन्तै मनमोहक रहेको छ । तालको वरिपरि हिमालले घेरेको दृश्य, अनि तालको पानीमा हिमालको प्रतिबिम्ब र बिहानको घामको चम्किलो किरणले छोएको सुनौलो पानीले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । दुधकुण्डको यात्रा गर्ने क्रममा र यहाँ पुग्दा बाटोबाट नुम्बुर, कुसुम कंगुरु, मकालु लगायतका हिमशृंखलाहरूले मन आनन्दित बनाउँछ । 

दुधकुण्ड केवल धार्मिक स्थल मात्र नभई यहाँको जैविक विविधता अलौकिक रहेको छ । अनेकौं हिमाली वनस्पति, जडीबुटी र दुर्लभ पंक्षीका प्रजातिले यस क्षेत्रको शोभा बढाएको छ ।

कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन बर्ष घोषण गरेको छ । तर दुधकुण्डको पर्यटन विकासमा यो घोषणाले कतै छोएको देखिएन । 

स्थानीय सरकारले पनि पर्याप्त सहयोग गर्न नसकेको महसुस भएको छ । यहाँ धार्मिक एवं पर्यटन प्रवद्र्धनका लागि पुग्ने यात्रीहरूले अनेकौं कष्ट भोग्नु पर्ने चुनौति कायमै छ । प्रदेश र स्थानीय सरकारले दुधकुण्डलाई धार्मिक पर्यटन गन्तव्यका रुपमा विकास गर्न अझ धेरै काम गर्न बाँकी देखिन्छ ।

तिर्थयात्रीहरू पुग्ने सिजनमा स्थानीयले चलाएका केही होटलहरू मात्रै पर्याप्त छैनन् । त्यस्ता होटल धेरै महंगो पनि छ । उच्च हिमाली क्षेत्रमा खानेकुराको अभाव हुने गरेको छ । यात्रुहरूले बासी खानेकुरा खानुपर्ने बाध्यता रहेको छ । बासको पनि समस्या रहेको छ । 

स्थानीय होटल व्यवसायीहरूले खाना पकाउने ग्याँसमा अनुदान उपलब्ध हुन सके सहज रुपमा तिर्थयात्रीले सस्तोमा खाना खान पाउने बताउँछन् ।

तिर्थयात्रीलाई बाटोमा कुनैपनि निकायबाट सूचना जानकारी दिने प्रणाली छैन । खान बस्ने क्षमताभन्दा धेरै मानिसहरू यहाँ पुग्दा पहिलो पटक यात्रा गर्ने मानिसहरूले निकै कष्ट पनि भोग्नु परेको अनुभव सुनाएका छन् । 

प्रदेश सरकारले घोषणा गरेको पर्यटन बर्षले अतिकति पनि नछोएको धार्मिक क्षेत्र दुधकुण्डको प्रवद्र्धनमा तिर्थयात्रीले मात्रै प्रवद्र्धन गर्नुपर्ने दिन अन्त्य होस् ।

View : 1336

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved