Biratnagar, Morang, Nepal
१५ कार्तिक २०८३, आइतवार
+977 21 450305, 515728, 578305
आर्थिक

डीडीसीको १२ करोड हिनामिनामा आठ पक्राउ

उद्‌घोष संवाददाता
१५ कार्तिक २०८३, आइतवार

Advertisement

विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ परेका छन् ।

संस्थानका तत्कालीन महाप्रबन्धक तथा कर्मचारीहरूको मिलेमतोमा गैरकानुनी रूपमा आर्थिक लाभ लिई संस्थानलाई ठूलो आर्थिक हानिनोक्सानी पु¥याएको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका–३ घर भई हाल काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ बस्ने ४५ वर्षीय सञ्जीव झा छन् । 

उनी डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल संस्थानको लैनचौरस्थित प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत थिए ।

त्यस्तै, सिराहा नगरपालिका–१ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्ने ४६ वर्षीय विजयकुमार यादव पक्राउ परेका छन् । 

उनी तत्कालीन सिम्ले चिस्यान केन्द्रका इञ्चार्ज तथा हाल दुग्ध वितरण आयोजना बालाजुमा कनिष्ठ प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।

पक्राउ पर्ने अन्यमा पर्वतको मोदी गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ५५ वर्षीय मनहरी शर्मा, सर्लाहीको मोहनपुर–५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुर बस्ने ४९ वर्षीय रामकेवल राय छन् ।

यसैगरी, सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–५ बस्ने २८ वर्षीय जितेन्द्रकुमार यादव, चन्द्रनगर गाउँपालिका–२ घर भएका ३२ वर्षीय नवीन राय यादव, चन्द्रनगर गाउँपालिका–५ घर भई हाल चितवनको माडी नगरपालिका–२ बस्ने ४६ वर्षीय शिवनन्दन राय र सिन्धुपाल्चोकको कालिका गाउँपालिका–७ घर भएका ४८ वर्षीय विखबहादुर भण्डारी पक्राउ परेका छन् ।

शर्मा तत्कालीन भक्तपुर चिस्यान केन्द्रका इञ्चार्ज तथा हाल डीडीसी केन्द्रीय कार्यालय लैनचौरमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए ।

राय तत्कालीन चनौली चिस्यान केन्द्रका इन्चार्ज तथा हाल काठमाडौं दुग्ध वितरण आयोजनाको संकलन केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्टका रूपमा कार्यरत थिए ।

जितेन्द्रकुमार यादव हेटौंडास्थित बागमती धुलो दूध कारखानामा भरपाई पदमा, नवीन राय यादव नवलपुर, गरुडा चिस्यान केन्द्रमा डेरी ब्वाई पदमा, शिवनन्दन राय माडी चिस्यान केन्द्रमा दैनिक पारिश्रमिकमा तथा विखबहादुर भण्डारी माडी चितवनस्थित चिस्यान केन्द्रमा जुनियर टेक्निकल असिस्टेन्ट तथा इञ्चार्जका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट पूर्वनियोजित योजना र मिलेमतोमा विभिन्न समूह तथा सञ्जाल खडा गरी संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक हानिनोक्सानी पुर्याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको खुलेको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को आपराधिक विश्वासघात गर्न नहुने कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले शुक्रबार विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ परेका आठै जनामाथि आपराधिक विश्वासघात तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 22

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved