Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

जनताको सपना पूरा गर्ने अवसर खोज्दैछन् सुजित

सुशांक दाहाल
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । कार्यकर्ताहरुको ठूलो जमात, गाडीको लर्को र कार्यकर्ताहरुको हातमा झण्डासहित चुनावी प्रचारमा लागेर घरदैलोमा भोट माग्दै हिंडेका राजनीतिक दलका उम्मेदवारहरुको भिडमा सुजितकुमार साह भने फरक देखिन्छन् । 

कहिले एक्लै, कहिले एकजना साथीसँग हातमा त्रिभुज मत चिन्हको एउटा पत्र बोकेर घरदैलोमा हिंड्छन् उनी । २७ वर्षीय युवा सुजित जनतासमक्ष मतभन्दा पनि विश्वास माग्दै हिंडिरहेको बताउँछन् ।

मोरङको संसदीय क्षेत्र नम्बर ५ बाट आसन्न प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उठेका सुजित देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रको मुहार फेर्ने कोशिस गरेर अघि बढिरहेका छन् । 

ट्युसन इन्स्टिच्यूट चलाउँदै अँएका सुजित राजनीति गर्नभन्दा पनि राजनीतिक दलबाट उठेका पुराना र उही उमेरका उम्मेदवारहरुको जित भए कतै देशको अवस्था जेनजी विद्रोहभन्दा अगाडिको जस्तै पार्ने त हैनन् भन्ने चिन्ताले आसन्न प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन् । उनी पुराना राजनीतिक दलले जितेर पुरानै व्यवहार देखाउने हुन् कि भन्ने कुरामा चिन्तित छन् ।

मोरङको जहदा गाउँपालिका–४ मा जन्मिएर कृषि विज्ञानमा डिप्लोमा तह र वाणिज्य शास्त्रबाट स्नातक तह उत्तीर्ण गरेका उनको राजनीतिमा आउने कुनै सोच भने थिएन । विराटनगरबाट जेनजी आन्दोलनको अगुवाई गरेका उनले दलीय राजनीति गर्ने अवसर पाउँदै नपाएका पनि होइन । तर, देशका राजनीतिक दलहरुको व्यवहार र दलीय राजनीति मन नपराएर उनी राजनीतिक दलमा आवद्ध नभएको बताउँछन् ।

नेपाली कांग्रेसका फूलकुमार लालवानी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल, जनता समाजवादी पार्टी (जसपा) बाट राजकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट आशा झा जस्ता उम्मेदवारहरुसँग प्रतिस्पर्धा गर्दैछन् उनी । त्यस्तै २०७९ को निर्वाचनमा जीत हात पारेका योगेन्द्र मण्डल पनि राष्ट्रिय ऊर्जाशील पार्टीबाट उनको प्रतिस्पर्धी रहेका छन् । तर, यो कुरामा डर भने नभएको उनी बताउँछन् ।

‘जनताको पाउनु पर्ने हौसला पाएको छु । तिमी जस्ता युवा पनि आउँदो निर्वाचनका लागि उम्मेदवार बनेका छौ भन्ने कुरा हामीलाई थाहै थिएन । यतिका दिनदेखि आफूलाई चिनाउँदै हिंड्नु पर्नेमा तिमी कहाँ थियौ ? भन्नेहरु पनि निकै भेटेको छु । मलाई अहिले जसरी भोट माग्दै घरदैलोमा हिंड्दै गर्दा हौसला र प्रेरणा मिलेको छ, चुनावमा पनि त्यस्तै मत मिल्यो भने जीत कसो मेरो पक्षमा नहोला र’ उनी भन्छन् ।

जेनजी विद्रोहपछि देशको ठूलो जमातलाई परिचित गराउन सफल नयाँ शक्तिहरुलाई एक ठाउँमा मिलाएर चुनाव लड्न आग्रह गरेको बताउँछन् । तर, उनले त्यो प्रस्ताव राखेको ब्यर्थ भएको गुनासो गर्छन् । 

‘पुराना राजनीतिक दल र नयाँ शक्तिबीचमा कुनै फरक रहेनछ, देशको मुहार फेर्नकै लागि एकठाउँ होऔं भनेर मैले प्रस्ताव राखेको थिएँ । तर, उनीहरुको सोच भने फरक रहेछ ।’ 

उनी थप्छन् ‘उनीहरुले आफू आफू पार्टी खोलेर निर्वाचनमा मनोनयन दर्ता गराए । उनीहरुको सोच एकढिक्का हुनुभन्दा पनि आफैं खाऔं, आफैं लाऔं, सुख सयल मोज मै गरु भन्ने रहेछ । त्यसैले मेरो सबैबाट आशा मर्दै गयो । उनीहरुले व्यक्तिपिच्छेको पार्टी खोले त्यसबाट के हुने हो ? त्यसबारे अनभिज्ञ छु । त्यसैले स्वतन्त्र नै उठेर भए पनि चुनाव लड्छु । मैले आफूलाई विश्वास गरेको छु । जनताले कसो विश्वास नर्गलान् र ?’

मध्यमवर्गीय परिवारमा हुर्किएका उनी चुनावी खर्च जुटाउन भने कठिन रहेको बताउँछन् । फेसबुकमार्फत उनले अन्य दलका उम्मेदवारझैं क्यूआर राखेर आर्थिक सहयोगको अपिल पनि गर्दैछन् ।

उनलाई यसो गर्नुको कारण के भनेर सोध्दा उनी भन्छन् ‘राजनीति त्यस्तो खेल रहेछ जहाँ अहिले (निर्वाचनको बेला) उम्मेदवारले जति खर्च गर्छन्, पैसा उडाउँछन् त्यसको १० गुनासम्म कुम्ल्याउँछन् चुनाव जितेर ठाउँमा पुगेपछि । र, मलाई त्यो प्रवृत्तिबाट टाढा रहनु छ । मैले अहिलेसम्म पार्टीको झण्डा र पम्प्लेट किन्ने पैसा जनताको सहयोगबाटै पाएकोे छु । आगामी दिनमा पनि केही आर्थिक सहयोग आएपछि मेरो चुनावी प्रचारलाई तीब्रता दिन सहज हुनेछ ।’

सुजित उम्मेदवार बनेको मोरङ–५ बाट प्रतिनिधिसभा निर्वाचन २०७९ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका थिए । उनी २१ हजार आठ सय २० मतसहित विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी शिवकुमार मण्डललाई ४३३४ मतान्तरसहित पराजित गरेका थिए । त्यस्तै २०७४ को निर्वाचनमा भने शिवकुमार मण्डल जो गठबन्धित नेकपा (माओवादी र एमाले) को उम्मेदवार थिए, उनले २२ हजार नौ सय ४५ मतसहित जीत हात पारेका थिए । शिवकुमार मण्डल यसपालि पनि १५ भन्दा बढी दलसहितको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उनको प्रतिस्पर्धी रहेका छन् ।

बूढाखाडाहरुको हातबाट देशको स्थिति खस्किंदै पुस्तान्तरणको सपना देखेका जनताको आवाज सुनेर र नयाँ आशा देखेका जनतालाई देखेर चुनावमा उठेको उनी बताउँछन् । निराशा र अन्योलमा परेका जनताको एउटा निस्पक्ष र जवाफदेही सांसद बनेर देशको अवस्थालाई सुधार्ने उनको मूल एजेण्डा रहेको बताउँछन् ।

उनले आफ्नो चुनावी एजेण्डामा कृषि र किसानको विकास, कृत्रिम बौद्धिकता (एआई) ले भविष्यमा सिर्जना गर्नसक्ने चुनौतिको समाधान, रोजगारीको सिर्जना, शिक्षामा सुधार, हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच, युवा र खेलकुदको विकास, जलस्रोत र सिंचाई व्यवस्थापन, डिजिटल सेवा र ई–गभर्नेन्स जस्ता देश विकासका निम्ति अत्यावश्यक विषय उनले समेटेका छन् ।

ठूला राजनीतिक दलका भिडमा स्वतन्त्र उम्मेदवार बनेका सुजित भन्छन् ‘मत परिणाम जस्तो आए पनि, म जनताको विश्वास जित्ने लडाइँमा छु । जनतालाई मैले विश्वास गरेको छु, जनताले कसो विश्वास नगर्लान् र ?’

सांगठनिक शक्ति र आर्थिक स्रोतमा कमजोर देखिएका उनले बोकेको आत्मविश्वास र बैकल्पिक राजनीतिक सोचले कति मतदाताको मत छोला भन्ने कुराको चासो बढेको छ । पुस्तान्तरणको बहस चलिरहेको बेला मोरङ–५ का मतदाताले पुनः बर्बादी रोज्छन् कि युवाप्रतिको आशा ? त्यो मतपेटिकाबाटै निर्धारण गर्नेछ ।

उनको राजनीतिक यात्रा कहाँसम्म पुग्छ भन्ने कुरा समयले देखाउने छ । तर, ठूला दलको भीडमा एक्लो प्रतिस्पर्धी बनेर चुनावमा होमिएका सुजित युवा पुस्ताका लागि भने प्रेरणाको स्रोत बनेका छन् ।

View : 353

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved