विराटनगर । सामुदायिक शिक्षामा कोशी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भएको विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माविले पाँच लाख रुपैयाँ राशीको पुरस्कार प्राप्त गरेको छ ।
जीवन विकास समाजले मंगलबार पोखरिया माविलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ बाट पुरस्कृत गरेको हो ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलाई पुरस्कार राशीसहित अवार्ड प्रदान गरेकी हुन् ।
काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा देशभरका विद्यालयबाट सर्वोत्कृष्ट मुल्याङ्कन गर्दै पोखरिया माविलाई पुरस्कार प्रदान गरिएको जीवन विकास समाजका संस्थापक अध्यक्ष एवं मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले बताए ।
समाजले प्राविधिक धारतर्फ अध्यापन हुने सिन्धुलीको कमलामाई नगरपालिकास्थित जनज्योति माविलाई तीन लाख रुपैयाँ राशीको दोस्रो पुरस्कार प्रदान गरेको छ । त्यसैगरी पत्रकारितातर्फ वितरण हुने दुई लाख रुपैयाँ राशीको पुरस्कार गोरखापत्र दैनिकका पत्रकार प्रकृति अधिकारीले प्राप्त गरे ।
समाजले नेपालमा दिगो विकासका लक्ष्य अन्तरगतको गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्य गरेवापत द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले तीन लाख अमेरिकी डलर बराबरको एजीफण्ड अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरेको थियो ।
उक्त पुरस्कार राशीमा जीवन विकास समाजले ६ करोड रुपैयाँ थपेर देशभरका शैक्षिक संस्था र पत्रकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत गर्दै आएको जनाइएको छ ।
View : 646
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved