Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगर–१४ मा किशोरीहरूलाई साइकल प्रदान

उद्‌घोष सम्वाददाता
१४ पुष २०८१, आइतवार

विराटनगर । उच्च शिक्षा अध्ययनका लागि प्रोत्साहन गर्न विराटनगर–१४ नम्बर वडा कार्यालयले किशोरीहरूलाई साइकल प्रदान गरेको छ । वडा कार्यालयले वडाभित्रका एसईई दिएका र कक्षा १२ पास गरेका छात्राहरूलाई आइतबार साइकल वितरण गरेको हो ।

‘वडाभित्र अझैपनि छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएका कारण छोरीहरूलाई प्रोत्साहन गर्न साइकल वितरण गरिएको हो’ वडाध्यक्ष सूर्यनारायण महताले भने, ‘यो काम म निर्वाचित भएर आएपछि प्रत्येक वर्ष गर्दै आएको छु, साइकल पाएपछि छोरीहरूलाई विद्यालय जान सहज बनेको छ ।’

आफूले यस्तो प्रोत्साहनलाई निरन्तरता दिने पनि उनले बताए । यस पटक एसईई उत्तीर्ण भएका ११ र कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गर्न थालेका ४ जना छात्रालाई साइकल वितरण गरिएको उनले जानकारी दिए । 

वडा कार्यालयमार्फत उपलब्ध गराइएको साइकल महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले छात्राहरूलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त वडामा अधिकांश किसानहरूको बसोबास रहेको जनाइएको छ । वडाध्यक्ष महतोले आफू निर्वाचित भएको वर्ष वडाभरीबाट एसईई पास गरेका १० जना छात्राहरूलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरुप वितरण गरेका थिए । उनले गत वर्ष ३२ जना छात्राहरूलाई साइकल वितरण गरिएका थिए ।

View : 95

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved