Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

आशाको केन्द्र बन्दै कोशीको निसन्तान सेवा क्लिनिक

सेवाग्राही भन्छन्– ‘सन्तानको अभिभावक बन्ने आशा पलाएको छ’
जुनु भट्टराई
१६ असार २०८२, सोमवार

विराटनगर । बिहे भएको आठ वर्ष बितिसकेको छ सुनसरीकी ३४ वर्षीया रीता थापा (नाम परिवर्तन) को । वैवाहिक बन्धनमा बाँधिएको यत्तिका बर्ष सम्मपनि सन्तान नहुँदा आफूभित्रको पीडा त छँदै थियो, आफन्तको व्यवहार, समाजको दृष्टि र घरभित्रको मौनता‍- यी सबै पीडाभित्र वर्षौदेखिको पीडामा थिइन् उनी ।

बच्चा नहुँदाको बोझ प्रायः महिलामाथि पर्ने समाजमा उनी शारीरिकभन्दा बढी मानसिक पीडामा थिइन् ।

‘सुरुमा निजी क्लिनिकमा धेरैपटक धाएँ, उपचारको लागि खर्च धान्नै गाह्रो थियो । पछि कोशी अस्पतालमा यस्तो सेवा सुरु भएको थाहा पाएपछि यहाँ आउन थालेकी हुँ’ कोशी अस्पतालको निसन्तान क्लिनिकमा भेटिएकी उनले भनिन्, ‘यहाँ आएपछि अब त म पनि आमा बन्नेछु भन्ने आशा पलाएको छ ।’

धनकुटाबाट आएका रमेश (नाम परिवर्तन) पनि यस्तै पीडाबाट गुज्रिएका पात्र हुन् । बिहे भएको चार वर्ष भइसक्यो । 

सन्तान नहुँदा घरका मान्छेले श्रीमतीलाई नै दोष दिन्थे । रमेश स्वयं पनि सुरुवातमा त्यही सोचमा रहेको बताउँछन् ।

‘सधैं श्रीमतीलाई नै दोष दिन्थें,’ आफूले श्रीमतीलाई अन्याय गरेको बताउँदै रमेश भन्छन्, ‘तर यहाँ परीक्षण गराउँदा थाहा भयो समस्या त ममा पो रहेछ, अब मलाई पनि थाहा भयो यो सन्तानसम्बन्धी प्रश्न दुवैको हो, मेरी श्रीमतीले मात्र किन सुन्ने ?’

रमेश अहिले नियमित परामर्शमा आइरहेका छन् । चिकित्सकसँग बसेर खुलेर कुरा गर्छन् र श्रीमतीलाई साथ दिइरहेका छन् ।

‘पहिला जस्तो डर र लाज छैन । यो सेवा त पीडामा परेकाहरुको लागि आशाको उज्यालो हो,’ उनले सुनाए ।

दैनिक १० देखि १५ दम्पती उपचारका लागि अस्पताल धाउँदै

कोशी अस्पतालमा दैनिक १ सय ५० देखि २ सय बिरामीहरु स्त्री तथा प्रसूतीरोग विभागमा बिभिन्न समस्याहरु लिएर आउने गरेका छन् । 

रीता, रमेशजस्ता जोडीहरु निसन्तानको समस्या लिएर दैनिक १० देखि १५ दम्पती उपचारका लागि आइरहेका अस्पतालकी स्त्री तथा प्रसूति रोग विभागकी प्रमुख बरिष्ठ स्त्री तथा प्रसूतीरोग बिशेषज्ञ डा. अन्जु देव बताउँछिन् ।

उनका अनुसार उक्त क्लिनिक अस्पतालकै स्त्री तथा प्रसूति रोग बिभागद्वारा सञ्चालित क्लिनिक हो । सोमबार, बुधबार र शुक्रबार ओपीडी सेवा दिइने छ भने ओपीडी सेवापश्च्यातको सेवा भने हरेक दिन सञ्चालन भइरहेको छ । 

नियमित सञ्चालन हुने उक्त क्लिनिक तालिम प्राप्त चिकित्सक बिभागकी प्रमुख स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अन्जु देव र डा. मधुमीता राणाद्वारा सञ्चालन भइरहेको छ ।

कोशी अस्पताल भने राजधानी बाहिर यस्तो सेवा सुरु गर्ने पहिलो अस्पताल  । यहाँ आईयूूआई सेवाको शुल्क करिब ६ हजार रुपैयाँ पर्छ, जुन निजी अस्पतालको तुलनामा निकै सस्तो हो । निजी क्लिनिकमा यही सेवा दोब्बर वा सोभन्दा बढी खर्चिलो हुन्छ ।

डा. देव भन्छिन्, ‘हामीकहाँ सेवा लिन आउने धेरै दम्पती यस्ता छन्, जसले निजी अस्पतालको खर्च धान्न सक्दैनन् । यहाँ उनीहरूले सुलभ शुल्कमा परीक्षण, परामर्श र उपचार पाउँछन् ।’

उक्त क्लिनिकले निसन्तान दाम्पतीका लागि परामर्शदेखि सुरु गरेर महिला या पुरुष कसको कमजोरीको  कारण सन्तान सुख प्रँप्त हुन नसकेको हो त्यसको जड पत्ता लगाई उपचारको प्रक्रिया अगाडि बढाइन्छ ।

‘उपचारका क्रममा सुरुवातमा हामीले (आयुआई) अर्थात् इन्ट्रा यूट्राइन इन्सेम्नेसन सेवा प्रदान गर्छाैं, डा. देवले भनिन्, ‘यस प्रविधिमार्फत् यदि कुनै पनि पुरुषको शुक्रकिटको मात्रा कमी भएमा वा महिलाको अण्ड समयमा नबन्ने भएमा महिनावारी गडबडी भएमा अथवा विभिन्न कारणले शुक्रकीट पाठेघरभित्र जान नसक्ने अवस्था भएमा यस प्रविधिबाट सन्तान सुख दिन सकिन्छ ।’

उनी थप्छिन्’ ‘हाल आयुआई सेवा सुरु गरिएको छ, यो सफल भएपछि भने आवश्यकता हेरेर आइभीएफ सेवा पनि सञ्चालन गर्ने योजना रहेको छ ।’

क्लिनिकबाट दिइने सेवा आईयुआईबाट पनि उपचार सम्भव नभएको खण्डमा आईभीएफको लागि नेपाल सरकारद्वारा सञ्चालित सरकारी अस्पतालमा पठाइने डा. अन्जु देवले बताइन् ।

डा. देवका अनुसार, महिलामा प्रजनन अंगसँग सम्बन्धित समस्याहरू, मासिक धर्मको अनियमितता, हार्मोनल असन्तुलन, अण्ड उत्पादनमा कमी, वा अण्डाशयसम्बन्धी रोगहरू प्रमुख कारण हुन्, साथै पुरुषहरूमा शुक्राणु उत्पादनमा समस्या, शुक्राणुको गति र गुणस्तरमा कमी पनि बाँझोपनको कारण हुन सक्छ ।

डा. अन्जु देवका अनुसार नेपालमा निसन्तानपन अर्थात बाँझोपन एक गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । 

बाँझोपनलाई सामान्यतया एक वर्ष वा त्यो भन्दा लामो समयसम्म नियमित यौन सम्पर्क हुँदा पनि गर्भधारण नहुनुको स्थितिका रूपमा परिभाषित गरिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार, बाँझोपन विश्वव्यापी स्वास्थ्य समस्या हो, जसले करिब १५ प्रतिशत दम्पतीलाई प्रभावित गर्दछ । 

नेपालमा यो संख्या १० प्रतिशत देखि १५ प्रतिशतको बीचमा रहेको अनुमान गरिएको छ ।

क्लिनिकले प्रजनन स्वास्थ्यबारे जनचेतना फैलाउने, मानसिक तथा भावनात्मक सहयोग प्रदान गर्ने, र आधुनिक प्रजनन प्रविधिहरूको प्रयोग गरी निसन्तान दम्पतीलाई सन्तान प्राप्तिको अवसर दिने लक्ष्य लिएको छ ।

View : 601

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved