Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

संयुक्त बजार अनुगमन :

७४ फर्ममा अनुगमन, २१ फर्मलाई करीव सात लाख जरिवाना

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा विराटनगर महानगरपालिका तथा आसपासका बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा २१ वटा फर्मलाई करीव सात लाख रुपैयाँ जरिवाना गरिएको छ ।

७४ वटा व्यावसायिक फर्ममा गरिएको अनुगमन गर्दा बिल–विजक जारी नगर्ने, खरिद–बिक्रीको खाता दुरुस्त नराख्ने, म्याद गुज्रिएका तथा लेबल नभएका सामग्री बिक्री गर्ने लगायतका कैफियत भेटिएका २१ वटा फर्म जरिवानामा परेका हुन् । उनीहरूमाथि ६ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले जानकारी दिए ।

यस्तै, मापदण्डअनुसार सञ्चालन नभएका तीनवटा फार्मेसी सिलबन्दी गरिएको छ भने चारवटा फर्मलाई नियमनकारी निकायमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए ।

चाडपर्वका बेला हुन सक्ने कालोबजारी नियन्त्रण, उपभोक्ता हित संरक्षण, बजारमा उपभोग्य वस्तुको गुणस्तर कायम, मूल्य नियन्त्रण, नापतौलको शुद्धता तथा व्यावसायिक पारदर्शिता कायम गर्ने उद्देश्यले संयुक्त बजार अनुगमन गरिएको सहायक प्रजिअ कोइरालाले बताए ।

अनुगमन गरिएका व्यवसायमा खाद्यान्न, औषधि, होटल÷रेस्टुरेन्ट, कपडा, जुत्ता–चप्पल, माछा, मासु, डेरीलगायतका व्यवसाय रहेका छन् ।

अनुगमनका क्रममा बिल÷विजक जारी नगर्ने, खरिद–बिक्री खाता दुरुस्त नराख्ने तथा करसम्बन्धी मापदण्ड पालना नगर्ने १९ वटा फर्मलाई कुल १ लाख ९२ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, लेबल नगरिएका, रि–लेबलिङ गरिएका तथा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने र उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत कार्य गर्ने ८ वटा फर्मलाई ७५ हजार रुपैयाँ जरिवाना गरिएको हो । जरिवानामा परेका फर्ममा जयराज ट्रेडर्स, ताण्डव रेस्टुरेन्ट, किरण ट्रेडर्स, ए टु जेड सप्लायर्स, न्यू जय माँ काली होटल, गुरुदेव स्वीट, करिया मिट सप र शान्ति किराना रहेका छन् ।

नवीकरण नगरिएका तथा मापदण्डअनुसार सञ्चालनमा नरहेका विराटनगरका तीनवटा फार्मेसीलाई अनुगमनकै क्रममा सिलबन्दी गरिएको छ । अनुगमनका क्रममा कैफियत भेटिएका विराटनगर–७ स्थित इमान फार्मेसी, खुश फार्मेसी र विराटनगर–१० को सुरेश फार्मेसीलाई औषधी व्यवस्था विभागमार्फत सिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले व्यवसायीहरुलाई आ–आफ्नो फर्मको दर्ता तथा नवीकरण अद्यावधिक राख्न, उपभोग्य वस्तुको अनिवार्य मूल्यसूची राख्न, नापतौलका साधन प्रमाणित गराउन तथा अनिवार्य रुपमा बिल÷विजक जारी गरेर मात्रै कारोबार गर्न निर्देशन दिएको छ ।

कार्यालयले उपभोक्तालाई पनि बजारमा खरिद गर्दा सचेत हुन आग्रह गरेको छ । उपभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेरेर मात्रै सामग्री खरिद गर्न तथा ठगी वा अन्य अनियमितता देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ ।

मापदण्डविपरीत कार्य गर्ने, म्याद नाघेका÷अवधि गुज्रिएका वस्तु बिक्री वितरण गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि कारबाही हुने सहायक प्रजिअ कोइरालाले बताए ।

जयराज ट्रेडर्समा ४५० किलो सुपारी

अनुगमनका क्रममा विराटनगर–९ स्थित जयराज ट्रेडर्समा बिल–विजक नभएको ४५० किलो सुपारी फेला परेको थियो । उक्त सुपारी गोदाममा भण्डारण गरिएको फेला परेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उक्त सुपारी बरामद गरी कानुनबमोजिमको कारवाहीको प्रक्रिया अगाडि बढाएको प्रशासनले जनाएको छ ।

दुई चिनियाँलाई अध्यागमन

अनुगमनका क्रममा विराटनगर–७ स्थित सेन्ट्रल मलमा योनो मार्टस् संचालन गरिरहेका चिनियाँ नागरिक झि जिङछेन र विराटनगर–२ मा पनि पसल चलाइरहेकी लु जुछियाङलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीहरुले प्राप्त भिसाअनुसारको गतिविधि नगरी कानुनविपरीत गतिविधि गरेको पाइएको भन्दै आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको हो ।

View : 82

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved