रसुवाको बाढी :
विराटनगर । रसुवा जिल्लाका विभिन्न स्थानमा गएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एकल पहलमा प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ सहयोग गरेका छन् ।
राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ राहत कोषमा जम्मा गर्दै विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको सन्देश दिएका छन् । उनको यो सहयोगलाई महासंघ कोशी प्रदेशले विपद् प्रभावित नागरिकप्रतिको मानवीय उत्तरदायित्वका रूपमा लिएको छ ।
रसुवालगायतका क्षेत्रमा बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति महासंघ कोशी प्रदेशले गहिरो दुःखसमेत व्यक्त गरेको छ । महासंघले विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।
महासंघले विपद्को यस घडीमा प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेको छ । साथै, घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न र घरबारविहीन परिवारलाई तत्काल सुरक्षित वासस्थान, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन माग गरेको छ ।
राउतको व्यक्तिगत सहयोगसँगै महासंघ कोशी प्रदेशले विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि कोशी प्रदेशका सम्पूर्ण उद्योगी, व्यवसायी तथा संघ–संस्थाहरूलाई आफ्नो स्तरबाट सम्भव भएसम्म सहयोग गर्न आह्वान गरेको छ ।
महासंघले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन निजी क्षेत्रले समेत राज्यका निकायसँग सहकार्य गर्दै मानवीय सहयोगमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने जनाएको छ ।
View : 42
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved