Biratnagar, Morang, Nepal
८ असोज २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

विष्णु भण्डारी आचार्यको कथाकारिता र ‘उघ्रिएको आकाश’

७ असोज २०८३, बुधवार

Advertisement

-गाेपालप्रसाद सङ्ग्राैला

आजको नेपाली कथा साहित्य सामाजिक आदर्शवाद, मनोवैज्ञानिक यथार्थवाद तथा सामाजिक यथार्थवादका रूपमा स्थापित हुँदै विसङ्गतिवाद, अस्तित्ववाद, प्रयोगवाद, आलोचनात्मक यथार्थवाद एवं समाजवादी यथार्थवादका रूपमा विकसित भएको अनुभव गर्न सकिन्छ। यही परिवेशमा प्रगतिवादी कथा सिर्जनामा प्रतिबद्ध हुँदै निरन्तर साधनारत कथाकार हुन्—विष्णु भण्डारी आचार्य।

 

विष्णु भण्डारी आचार्यका दुईवटा लघुकथा सङ्ग्रह र एउटा कथा सङ्ग्रह प्रकाशित भएका छन्। उनको साहित्यिक व्यक्तित्व क्रमशः व्यापकता र उदात्ततातर्फ लम्किँदै गएको देखिन्छ। उनी डेढ दशकभन्दा बढी समयदेखि साहित्य साधनामा संलग्न रहँदै आएकी नारी प्रतिभा हुन्। प्रस्तुत ‘उघ्रिएको आकाश’ कथा सङ्ग्रहमा उनले ११ वटा कथाको बिटो बाँधेर पाठकसामु प्रस्तुत गरेकी छन्।

 

कथाका लागि विषयवस्तु चयन गर्दा कथाकारले यथार्थ संसारलाई, त्यसमा पनि आफ्नो सन्तुष्टिको वरिपरिका परिवेशलाई विशेष महत्त्व दिएकी छन्। त्यसैले उनका कथामा प्रस्तुत पात्रहरू बढी विश्वसनीय देखिन्छन् र कथाकारितामा यथार्थताको अनुभूति गर्न सकिन्छ। उनका कथाको आधारभूत वस्तुतत्त्व नितान्त समसामयिक रहेको पाइन्छ। कतिपय कथालाई ऐतिहासिक भन्न मिल्ने भए पनि तिनको जीवन्त प्रभाव आजका स्मृतिपटलमा चित्रवत् अङ्कित भएको पाइन्छ भने कतिपय कथालाई वर्तमानकै पोल्टाबाट झिकेर प्रस्तुत गरिएको अनुभव हुन्छ।

 

उनका कथाकारिताका वस्तुतथ्यको धरातल सामाजिक, आर्थिक, राजनीतिक तथा मनोवैज्ञानिक परिवेश नै हो। व्यक्तिलाई समाजमा, समाजलाई व्यक्तिमा, क्षेत्रलाई विश्वमा र विश्वलाई क्षेत्रमा रूपान्तरित गरेर प्रस्तुत गर्न सक्ने स्रष्टा नै सफल मानिन्छ। उपर्युक्त विशेषताहरू विष्णु भण्डारी आचार्यका कथाकारितामा पनि पर्याप्त मात्रामा पाउन सकिन्छ।

वास्तवमा विष्णु भण्डारी आचार्य गाउँले जीवनको अध्ययनका क्रममा बढी भावुक भएकी देखिन्छिन् भने नागरिक परिस्थितिको अध्ययनका क्रममा अत्यधिक चेतनशील पनि देखिन्छिन्।

उनको हृदयमा परेको सहज प्रभाव ग्रामीण जनजीवनमा देखापर्ने दुःख–सुखका तरङ्गहरू नै हुन्। त्यसमा पनि आफ्नै सङ्घर्षशील जीवनयापनका कारण समाजबाट उपेक्षित, अवहेलित तथा पीडित जीवनप्रति सहज सहानुभूति उनका अवचेतनमा अन्तर्भूत हुने स्थिति उत्पन्न भएको बुझिन्छ।

जहाँ निम्नवर्गीय जीवन सङ्घर्षका सुखद–दुःखद अवस्थाहरू देखिन्छन्, त्यहाँ उनको सङ्घर्षशील मन बढी आन्दोलित हुने गरेको अभिव्यञ्जना उनका कथाहरूबाट अवगत गर्न सकिन्छ।

 

शिक्षा प्राप्त गर्दै जाने क्रममा उनको मस्तिष्कमा राजनीतिक चेतनाको प्रभाव बढ्दै जाँदा तथा आफैँभित्रका अन्तर्विरोधहरू चर्कँदै जाँदा उनी सामाजिक विकृति र विसङ्गतिको चिरफार गर्दै त्यसप्रति धारिला व्यङ्ग्यबाण प्रहार गर्न थालेकी देखिन्छिन्।

ग्रामीण जनजीवनका अनुभूति र राजनीतिक चेतनाजन्य अनुभूतिका आधारमा निरीक्षण तथा परीक्षण गरिने सामाजिक जनजीवनको झलक नै विष्णु भण्डारी आचार्यको कथाकारिताको आधारशिला रहेको देखिन्छ।

 

‘उघ्रिएको आकाश’ कथा सङ्ग्रह

 

प्रस्तुत ‘उघ्रिएको आकाश’ कथा सङ्ग्रहमा यसै शीर्षकको एउटा कथा र अन्य १० वटा गरी जम्मा ११ वटा कथा सङ्गृहीत छन्। ‘उघ्रिएको आकाश’ एउटा कथाको नाम मात्र नभई सम्पूर्ण कथा सङ्ग्रहको नाम पनि हो। सङ्कलित कथामध्ये कुनै एउटै कथाको नामका आधारमा सङ्ग्रहको नाम जुराउने प्रविधि यस सङ्ग्रहमा पनि उपयोग गरिएको पाइन्छ।

 

यसरी एउटै कथाको शीर्षकलाई सम्पूर्ण सङ्ग्रहको नाम बनाउँदा अन्य शीर्षकका कथाहरूलाई अन्याय भएको भन्न मिल्दैन।

सङ्ग्रहभित्रका सम्पूर्ण कथाको सांकेतिक परिचय दिने खालको नाम जुराउने प्रयास नगरी परम्परागत प्रविधिलाई नै महत्त्व दिइएको भए पनि ‘उघ्रिएको आकाश’ नामक कथा सङ्ग्रहित कथाहरूमध्ये अत्यन्तै मार्मिक र हृदयविदारक कथा रहेको पाइन्छ।

यद्यपि, सम्पूर्ण सङ्ग्रहको नामका रूपमा ‘विष्णु भण्डारी आचार्यका कथा’ राखिएको भए अन्य १० वटा कथालाई पनि समुचित न्याय मिल्ने थियो कि भन्ने प्रश्न भने उठाउन सकिन्छ।

 

यस सङ्ग्रहको पहिलो कथा ‘खुसीको विमान’ हो। यस कथामा लोभको परिणाम अनिष्टकारी हुन्छ भन्ने कुरा पूर्णप्रसाद र गीताको लालचमार्फत व्यक्त गरिएको छ।

कल्चौँडो गानिएर ठूलो आकारको देखेपछि ग्राहकले बढी दाम हाल्छ भन्ने मानसिकताबाट ग्रसित पूर्णप्रसादले गाई बेच्नका लागि हिँडाउँछन्।

तर, कल्चौँडो गानिएर गाई फिटिक्कै हिँड्न नसकेपछि बल्लतल्ल बजार पुर्‍याउँदा ग्राहकहरू फर्किसकेका हुन्छन्। ६० हजार पर्ने गाई नाममात्रको दाममा बेचेर ती दम्पती घर फर्कन्छन्।

छोरा पर्वतको प्रसन्नताको सीमा रहँदैन। गाई बेचेर आएको २५ हजार रुपैयाँले मोबाइल सेट किनेर ऊ गजक्क पर्छ।

मोबाइलका लागि गाई कौडीको भाउमा बेचेर आएको रकम दुरुपयोग भएकोमा पूर्णप्रसाद र गीताको मनमा पश्चात्ताप उत्पन्न हुन्छ। ‘माल पाएर चाल पाउनुपर्छ’ भन्ने उक्ति यहाँ चरितार्थ भएको देखिन्छ।

 

यस सङ्ग्रहको दोस्रो कथा ‘के अझै ऊ आउँछे हो?’ हो।

उमाकान्त र मालतीको प्रणयको लहरो मौलाएर झाँगिएको थियो।

एकअर्कालाई एकछिन नदेख्दा पनि दुवैलाई छटपटी हुने गर्थ्यो। प्रेमी–प्रेमिकाको जस्तै प्रीति मगमगाएको थियो।

 

पत्नी मालतीकै सल्लाहबमोजिम उमाकान्त साहुकी नवयौवना छोरीलाई ट्युसन पढाउन लाग्छ।

आधुनिक परिधानमा सजिएकी उदित यौवनाकी रिया अप्सरातुल्य सुन्दरी थिई।

आफ्नै लोग्नेसँग घण्टौँसम्म गफिएको देखेर मालतीलाई खपिनसक्नु डाहा लाग्छ।

 

फलतः ऊ सिकिस्त बिरामी भएर ओछ्यान परेकी हुन्छे। त्यही अवस्थामा उसले मधुर आवाजमा ‘त्यो केटी फेरि आउँछ कि आउँदिन?’ भनेर सोध्छे।

नारी मनोविज्ञानको एउटा पक्ष—आफ्ना लोग्नेसँग अन्य स्त्रीले निकट भएर बोलेको देख्दा उत्पन्न हुने ईर्ष्या र असुरक्षाको भाव—यस कथाकी नायिकाको मनोदशामार्फत स्पष्ट भएको छ।

 

‘कोंजुको पसल’ कथामा रक्सीका कारण सर्वस्व गुमेको तथ्यलाई सोझो र प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ। ‘

उघ्रिएको आकाश’ कथामा दाइजोको खोंचे थापेर बेहुलीको सिउँदोमा सिन्दूर नहाल्ने आडम्बरी गुण्डाको दोहोलो काढिएको छ।

‘कुलको प्रतीक’ कथामा भावनामा बगेर श्रीमतीको कुरा नसुनी आफ्नो जायजेथा भतिजाका नाममा पास गरिदिने मूर्ख पात्रमार्फत चेतावनी दिइएको पाइन्छ।

 

‘अँधेरी रात’ कथामा बोक्सीको आरोपमा निर्दोष महिलालाई अमानवीय यातना दिइएको घटनाप्रति जोडदार विरोध गरिएको छ।

धामी–झाँक्रीका नाममा हुने अन्धविश्वास र शोषण समाजका कलङ्क हुन् र तिनको निर्मूल गर्नुपर्छ भन्ने सन्देश कथाले दिएको पाइन्छ।

 

सपना कथामा विदेश गएर पैसा कमाउने र छोराछोरीलाई राम्रा विद्यालयमा पढाएर योग्य नागरिक बनाउने शर्मिला र रञ्जनको सपना चकनाचुर भएको कुरा विस्तारपूर्वक प्रस्तुत गरिएको छ।

‘त्यो दिन’ नामक कथामा बदमास केटाहरूले महिलामाथि गर्ने छाडा व्यवहारलाई उजागर गरिएको छ।

 

‘विवश आँसु’ कथामा सडक बालबालिकाको दुर्दशा र साहु भनाउँदा शोषकको अत्याचार देखाइएको छ।

‘अस्पतालको बिल’ कथामा सर्वसाधारण मानिस अस्पतालको महँगो उपचार खर्च धान्न नसकेर उपचारविहीन हुनुपर्ने तथा मृत्युसम्मको बाध्यता भोग्नुपर्ने अवस्थालाई मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।

‘अर्को युद्ध लड्न बाँकी’ कथामा अनेक निहुँ खोजेर नारी जातिलाई स्वतन्त्र रूपमा बाँच्न नदिने आडम्बरी गुण्डाहरूका कुकृत्यको भण्डाफोर गरिएको छ।

 

यसरी हेर्दा ‘उघ्रिएको आकाश’ कथा सङ्ग्रहका कथाहरूमा सामाजिक विकृति, आर्थिक असमानता, अन्धविश्वास, नारीमाथिको विभेद तथा हिंसा, वैदेशिक रोजगारीका समस्या, पारिवारिक अन्तर्विरोध, शोषण र सामाजिक विसङ्गतिजस्ता समसामयिक विषयहरूलाई कथाकारले आफ्नो अनुभूति र चेतनाका आधारमा प्रस्तुत गरेकी छन्।

 

कथाकारिताको विशेषता

विष्णु भण्डारी आचार्यका कथाकारितामा विषयवस्तुको चयन, बुनोट र प्रस्तुतिमा पनि आफ्नैपन रहेको छ।

घटनाहरूको कौतूहलपूर्ण संगठन मात्र नभई सूक्ष्म घटनाहरूको सङ्केतबाट पनि कथामा रोचकता र सजीवता उत्पन्न गर्न सकेकी छन्।

 

पात्रहरूका जीवनसङ्घर्षको अभिव्यक्तिका निम्ति सामाजिक, आर्थिक तथा राजनीतिकजस्ता बाह्य परिवेशको उपस्थितिमा स्पष्टता रहेको छ।

उनका कथाका पात्रहरू समाजका सामान्य मानिसबाटै टिपिएका भएकाले तिनमा जीवनको यथार्थ प्रतिविम्बित भएको अनुभूति हुन्छ।

कथाकारले आफूले देखे–भोगेको परिवेशलाई कथात्मक संरचनामा रूपान्तरण गरेकाले पनि उनका कथा साधारण पाठक वर्गका लागि प्रभावकारी बनेका छन्।

 

संवेदनाका दृष्टिले उनको कथाकारिता अझ सशक्त देखिन्छ। निम्नवर्गीय तथा सीमान्तकृत जीवनप्रति देखाइएको सहानुभूति, सामाजिक विकृति र विसङ्गतिप्रतिको विरोध तथा नारी जीवनका पीडा र सङ्घर्षप्रतिको संवेदनशील दृष्टिकोण उनका कथाका उल्लेखनीय पक्ष हुन्।

 

भाषा र शिल्पमा थप परिमार्जन तथा कथाको संरचनात्मक स्वरूप निर्माणमा अझ परिष्कार गर्दै लैजान सकेका खण्डमा समकालीन नेपाली कथाकारिताको धरातलमा विष्णु भण्डारी आचार्यको कथाकारिताले आफ्नो विशिष्ट स्थान निर्माण गर्न सक्ने पर्याप्त सम्भावना देखिन्छ।

आगामी दिनमा कथानकको कसिलोपन, भाषिक परिष्कार, चरित्रचित्रणको गहिराइ तथा कथात्मक संरचनामा थप कलात्मकता भित्र्याउँदै जान सके उनका कथा अझ प्रभावकारी र सशक्त बन्नेछन्।

 

अन्ततः विष्णु भण्डारी आचार्यको ‘उघ्रिएको आकाश’ कथा सङ्ग्रह सामाजिक यथार्थ, नारी संवेदना, निम्नवर्गीय जीवनसङ्घर्ष र सामाजिक विकृतिविरुद्धको चेतनालाई कथात्मक अभिव्यक्ति दिने महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ।

उनको साहित्यिक यात्रामा यस सङ्ग्रहले एउटा उल्लेखनीय पाइला थपेको छ। साहित्य साधनामा निरन्तर सक्रिय रहँदै आएकी कथाकार विष्णु भण्डारी आचार्यको सिर्जनात्मक यात्राको निरन्तरता र अझ परिष्कृत कथाकृतिको अपेक्षासहित उनको साहित्यिक प्रयासको हार्दिक अभिनन्दन गर्दछु।

कन्काई नगरपालिका–३, झापा

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved