Biratnagar, Morang, Nepal
२९ साउन २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

प्रशासनद्वारा विराटनगरका सात आँखा अस्पतालमा शिलबन्दी

उद्‌घोष संवाददाता
२९ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड पूरा नगरी आँखाको उपचारसम्बन्धी सेवा सञ्चालन गरेको भन्दै दक्षिणी विराटनगरमा खुलेका सातवटा आँखा अस्पतालमा सिलबन्दी गरिएको  जिल्ला प्रशासन कार्यलय मोरङले जनाएको छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयसहितको छानबिन तथा अनुगमन टोलीले बुधबार र बिहीबार गरेर सातवटा आँखा अस्पतालमा सिलबन्दी गरेको जनाइएको छ । 

सो समितिमा कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख डा. रामहरि रेग्मी र जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत कोविद ढकाल सदस्य छन् ।

समितिले आँखा उपचारसम्बन्धी स्वास्थ्य संस्थाको अनुगमन तथा छानबिनका क्रममा आँखा उपचारसम्बन्धी सेवा सञ्चालनका लागि भएको कानुनी व्यवस्था पालना नहुँदा शिलबन्दी गरिएको जनाएको छ ।

आँखाको उपचारसम्बन्धी सेवा सञ्चालनका लागि विद्यमान कानुनले छुट्टै व्यवस्था गरेको छ । जनस्वास्थ्य सेवा नियमावली २०७७ को नियम ५ तथा अनुसूची–३ को बुँदा नम्बर १४ अनुसार अप्थाल्मोलोजी सेवा विशेषज्ञ सेवाअन्तरगत रहेको छ ।

विशेषज्ञ अस्पताल कम्तीमा १०० शय्याको हुनुपर्ने व्यवस्था जनस्वास्थ्य सेवा नियमावली २०७७ को अनुसूची–७ तथा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० मा रहेको अनुगमन समितिले उल्लेख गरेको छ ।

५० देखि २०० शय्यासम्मको विशेषज्ञ अस्पताल सञ्चालनका लागि स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था पनि रहेको जनाइएको छ ।

प्रदेश सरकारले भने आँखा उपचार केन्द्र (आई केयर) मात्र सञ्चालन गर्न पाउने व्यवस्था रहेको प्रशासनले जनाएको छ । 

जनस्वास्थ्य सेवा नियमावली २०७७ को अनुसूची–७ को बुँदा नम्बर ८ अनुसार आँखा उपचार केन्द्रमा प्रारम्भिक आँखा उपचारसहित नेत्र विशेषज्ञबाट प्रदान गरिने विभिन्न सेवा सञ्चालन गर्न सकिने व्यवस्था छ । 

यी केन्द्रमा आँखाको दृष्टि परीक्षण, चस्माको नम्बर परीक्षण तथा सामान्य प्रकृतिका उपचार लगायतका सेवा समावेश हुने उल्लेख छ । यही व्यवस्थालाई टेकेर प्रशासनले अनुगमनको नाममा सातवटा अस्पतालमा सिलबन्दी गरेको हो ।

अनुगमन टोलीले बुधबार विराटनगर–१० स्थित सञ्जीवनी आई केयर प्रालि र विराटनगर–१३ स्थित हिमाल आँखा अस्पताल र विराटनगर–१४ स्थित विराट आँखा अस्पतालको प्रयोगशालामा सिलबन्दी गरेको थियो । 

बिहीबार थप चारवटा अस्पतालमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जानकारी दिए । 

बिहीबार सिलबन्दी गरिएका अस्पतालमा विराटनगर–१५ स्थित इफराह आँखा अस्पताल प्रालि, विराटनगर–९ स्थित विराट रानी आँखा अस्पताल प्रालि, विराटनगर–१५ स्थित अखण्ड ज्योति आँखा अस्पताल प्रालि र विराटनगर–१३ स्थित नेपाल आँखा अस्पताल प्रालि रहेका छन् ।

जनस्वास्थ्य सेवा नियमावली २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० बमोजिम सञ्चालन नभएको देखिएका स्वास्थ्य संस्थालाई सिलबन्दी गरिएको प्रशासनको भनाइ छ । 

ती स्वास्थ्य संस्थाले कुन–कुन विशिष्ट मापदण्ड पूरा गरेनन् भन्ने कुरा भने स्पष्ट रुपमा उल्लेख गरिएको छैन । 

तर सिलबन्दी गरिएका संस्थाले अब प्रदेश स्वास्थ्य मन्त्रालयबाट कानुनी प्रक्रिया अघि बढाउनु पर्ने समेत अनुगमन टोलीले उल्लेख गरेको छ ।

View : 74

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved