Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी अस्पतालमा बीमाको सर्भर समस्या, सेवामा कठिनाइ

जुनु भट्टराई
३० असोज २०८२, बिहिवार

विराटनगर । कोशी अस्पताल विराटनगरमा पछिल्ला केही दिनयता बिरामीको चाप असामान्य रूपमा बढेको छ । अस्पतालको ओपीडीमा बिहानदेखि बेलुकीसम्म बिरामीको भीड लाग्ने गरेको छ ।

 अस्पताल प्रशासनका अनुसार दैनिक १ हजार २ सय भन्दा बिरामी आउन थालेका छन्, जसका कारण सेवामा अत्याधिक दबाब परेको छ ।

विशेष गरी स्वास्थ्य बीमाका बिरामीहरू झन् बढी पीडित भएको बताउँछन् । 

चिकित्सकले जाँच गरेर औषधि लेखिदिएपछि उनीहरूलाई बीमाको पुर्जा स्क्यान गर्न, बिल काट्न र औषधि लिन पुनः तीन–चार पटक अलग–अलग लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

विराटनगर–११ की ४५ वर्षीया राधिका श्रेष्ठ बिहानैदेखि ओपीडीमा लाइनमा थिइन् । 

उनले भनिन्, ‘टोकन काट्न दुई घण्टा लाग्यो, डाक्टर देखाउन अर्को घण्टा । अब बीमाको स्क्यान र बिल काट्न लाइनमा छु । उपचारमा भन्दा लाइनमा धेरै समय बित्छ ।’

त्यस्तै मोरङ ग्रामथानकी ५५ वर्षीया मिना राई भन्छिन्, ‘बीमाको नाममा सहज सेवा पाइने ठानेका थियांै, तर यहाँ त झन् झन्झट रहेछ । बीमाको सेवा लिन घण्टौ लाइन बसेर टिकट काट्यो, डाक्टरलाई देखायो, अन्त्यमा औषधि नै छैन भन्छन्, के गर्ने ? सुन्दा मन दुख्छ ।’

अस्पताल प्रशासनका अनुसार अस्पतालमा हाल दैनिक १ हजार २ सय भन्दा बढी बिरामी आउन थालेका छन् । 

भीडका कारण कतिपय दिन ओपीडी पौने चार बजेसम्म सञ्चालन गर्नुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झा भन्छिन्, ‘बिरामीहरूको भीड यति धेरै छ कि कतिपय दिन ओपीडी पौने चार बजेसम्म चलाउनुपरेको छ ।’

बीमाको सर्भर र सफ्टवेयरले समस्या थप्दै

मेसु डा. झाका अनुसार अहिले अस्पतालको मुख्य समस्या स्वास्थ्य बीमासँग सम्बन्धित छ । बीमा प्रणाली अस्पतालको नियन्त्रणमा नभए पनि त्यसको असर अस्पतालकै सेवामा प्रत्यक्ष परेको छ ।

‘बीमाको सफ्टवेयर र सर्भर सुस्त हुँदा एउटा टिकट काट्न पाँच मिनेटसम्म लाग्छ’, उनले भनिन्, ‘कहिलेकाहीँ सफ्टवेयर चल्दैन, कहिले सर्भर नै डाउन हुन्छ, त्यसैले बिरामीले गुनासो गर्छन् ।’

अस्पतालका कर्मचारीहरू बिहान १० बजेपछि बीमाको प्रणाली नै नचल्ने समस्या झेल्दै आएका छन् । 

‘बीमा बोर्डकै सर्भर सुस्त छ भन्ने कुरा बिरामीलाई बुझाउन गाह्रो पर्छ,’ मेसु झा भन्छिन्, ‘बिरामीहरू सोच्छन्–अस्पतालले काम नगरेको हो । बीमाको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा अस्पतालले यसबारे बीमा बोर्डमा आधिकारिक गुनासो पठाइसकेको छ ।’ 

सर्भर सुधारका उपाय खोज्न डेभलपरहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि झाले बताइन् ।

कर्मचारीमाथि चर्को दबाब

पछिल्लो समयमा ओपीडीमा बिरामीको चाप निकै बढ्दै गएपछि कर्मचारीहरू अत्याधिक दबाबमा परेका छन् । अस्पतालमा उपचार गर्न आउने आधा भन्दा बढी बिरामी स्वास्थ्य बीमा सेवा लिन आउने हुन्छन् । 

बीमाको सर्भर सुस्त भइदिदा एकातिर टिकट काट्न समस्याले कर्मचारी हैरान हुने गरेका छन् भने अर्कोतिर बीमाका बिरामीलाई बेवास्ता गरेको गुनासो बिरामीबाट उत्तिकै सुनिने गरेको कर्मचारीहरू बताउँछन् । 

अस्पतालका अनुसार  बिरँमीको चाप बढेसँगै नर्सिङलगायत विभिन्न विभागमा कर्मचारीको अभाव देखिएको छ । 

हालै ३०–३५ बेड थपेका छौं, तर जनशक्ति त्यसअनुसार पाएको छैन,’ मेसु डा. झाले भनिन्, ‘महिला कर्मचारीहरू प्रसूति बिदामा जानु पनि प्राकृतिक कारण हो, त्यसले पनि जनशक्ति अभाव बढाएको छ ।’

अस्पताललाई बीमा सेवाग्राहीका लागि असोजसम्म पहिलो सेवा बिन्दु (प्राइमरी सर्भिस प्वाइन्ट) तोकिएको भए पनि त्यो अवधि थपिएको छ । रेफरल प्रणाली हटाइएपछि बिरामीको संख्या झनै बढेको मेसु झाको भनाइ छ ।

भीड घटाउन अस्पतालले टोकन प्रणाली पुनःसञ्चालन गर्ने तयारी गरेको छ । 

ज्येष्ठ नागरिकका लागि छुट्टै प्राथमिकता दिइएको भए पनि धेरैजसो बिरामीहरू नियम नबुझ्दा लाइन व्यवस्थापनमा कठिनाइ आएको बताइन्छ । 

भीड कम गर्न अस्पतालले तिहारपछि थप एक काउन्टर सञ्चालन गर्ने तयारी गरेको छ ।

View : 487

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved