Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

रुस–युक्रेन युद्ध:

युक्रेनले सार्वजनिक गर्यो लेटाङका विकासलाई

युक्रेनले सार्वजनिक गरेपछि सञ्चार केन्द्रमा बोल्दै लेटाङका विकासले नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका थिए । रुसी सेनामा भर्ती भएर कसैको सपना पूरा नहुनेसमेत उनले भिडियोमार्फत भनेका थिए ।
५ चैत २०८०, सोमवार

युक्रेनले शनिवार पाँच नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ रुसी सैनिक माझमा विकास राई । इन्सेटमा– युक्रेनले बन्दी बनाएको छोराको तस्वीर देखाउदै आमा पञ्चकुमारी राई । तस्वीरः उद्घोष

विराटनगर । अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा मोरङ लेटाङ–३ की पञ्चकुमारी राईको मन आत्तिन्छ । रुसी सेनामा भर्ना भएका छोरा विकास राई तीन महिनादेखि युक्रेनले बन्दी बनाएको छ ।

विकाससँग घर परिवारको सम्पर्क टुटेको पनि उत्तिनै समय भएको थियो । तर एकाएक शनिवार युक्रेनद्वारा आफ्नो कब्जामा रहेका पाँच नेपाली सार्वजनिक गरेको छ । जसमा लेटाङका बजारका विकाससमेत छन् ।

दलालको प्रलोभनमा परेर राम्रो कमाइ गर्ने र परिवार पाल्ने सपना बोकेर रुसी सैनिकमा भर्ना हुन फुगेका र युद्धकै क्रममा युत्रेनले नियन्त्रणमा लिएका विकासलाई उनको परिवारले भिडियोमार्फत शनिवार देख्न पाएका थिए । छोरालाई तीन महिनापछि युक्रेनले सार्वजनिक गरेपछि भने आमा पञ्चकुमारी र उनको परिवारको मन केही दरिलो भएको छ ।

मानव तस्करको जालमा परेर रुसी सेनामा भर्ती झएका ३३ वर्षीय विकास युक्रेनविरुद्धको युद्धमा खटिने क्रममा युक्रेनले बन्दी बनाएको खबर पाएपछि परिवार त्रासमा रहँदै आएको छ ।

रुसी सेनामा रहेका नेपालीको मृत्यु भएको खबर पलपलमा सुनिरहेका परिवार अहिले पनि परिवारको सदस्यको स्थिति सम्झेर डर र चिन्तामा छन् ।

‘तीन महिना बढी समय फोन सम्पर्क नहुँदा मन आक्तियो, युत्रेनले बन्दी बनाएको खबरले जतिबेला जे पनि हुन्छ सक्छ भन्ने भएर मनमा जरा गाडेको थियो,’ विकासकी ५४ बर्षीय आमा पञ्चकुमारीले भनिन्, ‘युक्रेनले बन्दी बनाएको छोरालाई तीन महिनापछि बल्ल सकुशल भएको सुन्न र भिडियोमा देख्न पाएका छौं, मन केही दरिलो भएको छ, तर यतिमा नै सन्तोष गर्ने अवस्थामा भने छैन । छोरालाई जतिसक्दो छिटो नेपाल ल्याइदिन नेपाल सरकारलाई अनुरोध गर्दछु ।’

विकासकी श्रीमती एलिसा चेम्जोङले श्रीमानलाई तीन महिनादेखि बाँचे मरेको खोजखबर नपाएकोले आफूहरु गहिरो पीडामा दिन बिताउन बाध्य हुनुपरेको बताइन् । उनले युक्रेनले बन्दी बनाएको आफ्ना श्रीमानलाई अहिले सार्वजनिक गरेको भन्दै त्यहाँबाट निकालेर घर फिर्ता बोलाउने प्रयासमा आफू लागेको बताइन् । तर पनि विकासलाई युक्रेनले बन्दी बनाएपछि उनीसँग कुनै माध्यमबाट सम्पर्क हुन नसकेको बताइन् ।

बन्दी बनाएको तीन महिनापछि शनिवार युक्रेनले एक्कासी आफ्नो श्रीमानलाई सार्बजनिक गरेपछि भने उनी शकुसल अवस्थामा देख्न पाएकोमा मन केही दरिलो भएको बताइन् । विकासका आमा, श्रीमती, भाइ र एक नाबालक छोरा छन् ।

वैदेशिक रोजगारीका क्रममा यसअघि पनि पाँच बर्ष बढी दुबईमा बसेर फर्किएका विकास गाउँमा लामो समयदेखि ठेक्कापट्टाको काम गर्दै आएको थिए ।

कोभिडपछि उनले गर्दै आएको ठेक्कापट्टाको काम असहज भएको भन्दै घरपरिवारसँग पुनः विदेश जाने  योजना सुनाएका थिए । त्यस लगत्तै घरमा बृद्धा अवस्थाकी आमा अनि श्रीमती र नाबालक छोरो छोडेर गत भदौमा गाउँकै साथीको सम्पर्कबाट उनी रूस पुगेका थिए ।

विकास रुस जानु भन्दा पहिलानै गाउँका धेरै य्वुा साथीहरु राम्रो कमाइ हुने भन्दै रुसी सेनामा भर्ती हुन अबैध बाटो हुँदै रुस पुगेका थिए । रुसमै रहेका गाउँले साथीले राम्रो कमाइको लोभ देखाएपछि विकास पनि रुस गएको विकासकी श्रीमती एलिसाले बताइन् ।

विकासले एजेन्टलाई साढे ८ लाख रुपैयाँ बुझाएर दुबई हुँदै रुसको राजधानी मस्को पुगेका थिए । तर त्यसयता उनले घरपरिवारलाई एक पैसासमेत पठाउन सकेका छैनन् ।

‘सबैतिर दशैंको रौनक छाइरहेको थियो, फूलपातीका दिन परिवारलाई छाडेर काठमाडौंबाट दुबई र त्यसपछि मस्को जानुभएको थियो’,उनी थफ्छिन्, विकास युक्रेनविरुद्धको युद्धमा खटिने त्रममा युक्रेनले बन्दी बनाएको खबर पाएको तीन महिनादेखि श्रीमानको खोज खबर नै पाउन सकेको थिएनौं ।’

श्रीमती एलिसाका अनुसार श्रीमान् विकाससँग गएको मंसीर २५ मा कुराकानी भएको थियो । कुराकानीका क्रममा उनले आफूलाई युक्रेनी सेनाले बन्दी बनाएको बताएका थिए, त्यसयता विकासको घर परिवारसँगको सम्पर्क पूर्णरुपमा टुटेको थियो ।

युक्रेनले पाँच नेपालीसहित आफ्नो कब्जामा रहेका विभिन्न देशका आठ रुसी सैनिक सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले जनाएको छ ।

सार्वजनिक गरेपछि युक्रेन सञ्चार केन्द्रमा उनीहरुलाई बोल्ने अवसर दिइएको थियो ।

युक्रेनले सार्वजनिक गरेपछि सञ्चार केन्द्रमा बोल्दै लेटाङका विकासले नेपाली युवालाई रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका थिए । रुसी सेनामा भर्ती भएर कसैको सपना पूरा नहुनेसमेत उनले भिडियोमार्फत भनेका थिए ।

उनले आफूले टिकटकमा भिडियो हेरेर रुस जाने निर्णय लिएको समेत सो भिडियोमा खुलासा गरेका थिए । उनले युद्धको अग्रमोर्चामा जानु नपर्ने सुनेपछि आफू रुसी सेनामा भर्ती हुन भ्रमण भिसामा रुस पुगेको समेत प्रष्ट पारका थिए ।

छोटो बाटोबाट धेरै कमाइ गर्ने सोच बोकेर अबैध बाटो हुँदै रुस पुगेर फस्ने विकास जस्तै आधा दर्जन संख्यामा लेटाङका युवा रहेका छन् ।

लेटाङ नगरपालिकाका मेयर भूपेन्द्रकुमार लावतीले लेटाङबाट नै १० जना युवा रुसी सेनामा गएर फसेको बताए ।

मेयर लावतीले धेरै युवा रुसी सेनामा गएको जानकारी आए पनि नगरपालिकाले आफन्तलाई लिखित जानकारी दिन सूचना पटक–पटक सार्वजनिक गरेको बताए । तर एक जना बाहेक अन्य परिवार सम्पर्कमा नआएको उनले बताए ।

मेयर लावतीले लेटाङ–३ का टीका गुरुङको परिवारले मात्र सम्पर्कमा आएर लिखित रुपमा परिवारको सदस्य रुसी सेनामा गएको जानकारी दिएकाले उनको शकुसल उद्धारका लागि नगरपालिकाले परराष्ट्र मन्त्रालय समक्ष लिखित आग्रह गरेको बताए ।

रुसी सेनामा भर्नाका लागि गएका सबै अबैध बाटो भएर गएकाले भविष्यमा अप्ठयारो पर्ने मशसुस गरी परिवारका सदस्यले  आफ्ना परिवारको सदस्य रुसी सेनामा गएको सूचना नगरपालिकामा नदिएको हुनसक्ने मेयर लावतीको भनाइ छ ।

मेयर लावतीका अनुसार गाउँलेको लहैलहैमा लागेर अबैध बाटो हुँदै रुसी सेनामा भर्ती हुने युवाको मध्ये हालसम्म एक जना स्वदेश फर्किएको, अन्य एक जनालाई युक्रेनले बन्दी बनाएको र थफ एक जना रुस र युक्रेनबीचको लडाईको त्रममा घाइते भएको जानकारी आएको बताए । अन्य रुसी सेनामा रहेका युवाहरु भने हालसम्म परिवारको सम्पर्कमा रहेको बताए ।

मेयर लावतीले भाडाको सेनाको रुपमा रुसी सेनामा पुगेका युवामध्ये लेटाङ–१ का केसिहाङ लिम्बू, २ बाट एक जना रहेकामा उनी घाइते अवस्थामा रहेका जानकारी आए पनि नाम खुल्न नसकेको बताए । यस्तै  ३ नं वडाबाट चार जना विकास राई  हाल युक्रेनले बन्दी बनाएको, भूमिराज राई, टीका गुरुङ, इटा कान्छा भन्ने युवा चाहिं रुसी सेनामा  छन् । त्यसैगरी सोही वडाका मानशेर राई केही समय अघि स्वदेश फर्किएका छन् ।

वडा नं ६ बाट तीन जना रुसी सेनामा रहेको बताइए पनि नाम खुल्न नसेको र ८ नं वडाका एक जना युवा रुसी सेनामा भए पनि उनको पनि नाम हालसम्म खुल्न नसकेको मेयर लावती बताउँछन् ।

View : 175

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved