विराटनगर । शैक्षिक परामर्श व्यवसायमा देखिएका अव्यवस्थाहरूलाई समाधान गर्दै सुधारका उपायहरू कार्यन्वयन गर्न माग गर्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।
इक्यान कोशीका अध्यक्ष हेमजीवन (रविन्द्र) निरौला नेतृत्वको टोलीले कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई ज्ञापन पत्र बुझाएको जनाइएको छ ।
ज्ञापन पत्रमा बिना स्वीकृति सञ्चालन भइरहेका शैक्षिक परामर्श संस्थाहरूलाई नियमन गर्न, कानुन बमोजिम संचालित संस्थाहरूको प्रवद्र्धन, अपारदर्शी तथा भ्रामक विज्ञापनबाट हुने ठगी नियन्त्रण लगायतका माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।
इक्यानले कोशी प्रदेशमा अव्यवस्थित रुपमा रहेका परामर्श संस्थाको व्यवसायलाई नियमन गर्न, अवैध शैक्षिक क्रियाकलाप रोक्न र शैक्षिक परामर्श व्यवसायलाई पारदर्शी तथा जिम्मेवार बनाउन नीति निर्माणको समेत माग गरेको छ ।
उक्त अवसरमा सामाजिक विकासमन्त्री राईसहित मन्त्रालयका सचिव हेमराज तामाङ लगायतले इक्यानले उठाएका सवालहरूप्रति सरकारले एकीकृत रुपमा सम्बोधन गर्न छलफल अघि बढाइसकेको बताएका थिए ।
२०५४ मा स्थापित नेपाल शैक्षिक परामर्श संघले नेपालभर शैक्षिक परामर्श व्यवसाय सञ्चालन गर्दै आएको जनाइएको छ ।
View : 50
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved