...‘म आफू भित्र
विराट स्वरुप देख्छु ।
म आफै प्रकाशक र सम्पादक हुँ,
उद्योग वाणिज्य महासंघमा छु,
राजनीतिमा सक्रिय छु,
स्कूलमा छु, एनजीओमा छु,
ज्ञात–अज्ञात लफडामा अल्झिएको छु,
त्यसैले खासै समाचार लेख्न भ्याउँदिन ।
मौकामा झण्डा र डण्डा बोक्छु,
अनि केही तल माथि भो कि
प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन भन्दै
लेख्छु, कराउँछु, चिच्याउँछु,
छिमेकीका कुखुराले सागबारी नष्ट गर्दा समेत
प्रेस स्वतन्त्रताको हनन् भन्दै
आन्दोलित भएको मलाई अझै याद छ
मैले अग्रजहरूबाट सिकेको यस्तै हो ।
सही हो या लगत थाहा छ्रैन ।...
कविताका यी पंक्तिहरू मैले डा. भानुभक्त आचार्यको कविता संग्रह ‘शब्दब्रह्म’ नामक पुस्तकमा प्रकाशित म खाँटी पत्रकार शीर्षकको कविताबाट लिएको हुँ । यो कविताको एउटा अंश मात्रै हो । हामी पत्रकारलाई राम्रैसँग व्यंग्य गरेर लेखिएको यो कविता साह्रै घतलाग्दो र बहुरुपी पत्रकारहरूको राम्रो चित्रण छ ।
अहिलेको पत्रकारितामा बहुमुखी पत्रकारहरू छ्यापछ्याप्ती छन् । तिनै बहुरूपीहरूले नेपाल पत्रकार महासंघलाई कब्जामा लिएका छन् । पार्टीको क्रियाशील सदस्य पनि हुने । भरसक पार्टीको पदमै बस्ने । पार्टीको भ्रातृ संस्थाको नेतृत्वमा पुग्ने, अनि नेताहरूको दौराको फेर समाएर चुनाव लड्ने अनि पत्रकार महासंघ आफ्नो वपौति हो भन्ने ठानेर विरोधीहरूको सदस्यता धमाधम काट्दैछन् । त्यही सदस्यता विवादका कारण कतिपय जिल्ला अधिवेशन पनि हुन सकेको छैन ।
०६२।०६३ को जनआन्दोलन भन्दा अघि नेपाल पत्रकार महासंघको छुट्टै गरिमा थियो र आम नेपाली जनताले पत्रकार महासंघप्रति आस्था र विश्वास राख्थे । त्यसैले निरंकुश राजतन्त्र विरुद्ध राजनीतिक दलहरूले तताउन नसकेको आन्दोलन नेपाल पत्रकार महासंघ र अन्य केही पेशागत संगठनहरूले तताएपछि नेपाली जनता सडकमा उत्रिए र निरंकुश राजतन्त्रलाई ढालेरै छाडे ।
अहिले त्यो आस्था र विश्वासमा ह्रास आएको छ । यसको कारण हो पत्रकारित कम, राजनीति बढी गर्नेहरूले यस्तो अवस्थामा महासंघलाई पुर्याएका हुन् । यसमा सुधार गर्न सकिएन भने महासंघ राजनीतिक दलको भातृ संस्था जस्तो मात्र हुनेछ ।
View : 816
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved