Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

६ विद्यार्थी संगठनले बुझाए सीडीओलाई ज्ञापन

सरकारी गाडी आगजनी र तोडफोडमा संलग्नलाई कारवाहीको माग

३० जेठ २०८१, बुधवार

विराटनगर । आइतबार महेन्द्र मोरङ क्याम्पस अगाडि प्रदेश योजना आयोगको गाडीमा आगजनी र नेपाल विद्युत प्राधिकरणका पाँचवटा सवारी साधनमा आगजनी गर्ने समूहलाई कारवाही गर्न ६ वटा विद्यार्थी संगठनहरुले माग गरेका छन् । उनीहरुले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थी संगठनका नाममा अराजक समूहले विद्यार्थी आन्दोलनलाई बदनाम गर्ने काम गरेको आरोप लगाएका छन् । 

नेपाली कांग्रेस निकट नेविसंघ मोरङका सभापति सरोज पोखरेल, एमाले निकट अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरे, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू मोरङ अध्यक्ष मिलन बस्नेत, जसपा नेपाल निकट नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष तरुणविक्रम खवास, अशोक राई नेतृत्वको जसपा निकट समाजवादी विद्यार्थी युनियनका संयोजक मो शमशेर र जनमत पार्टी निकट जनमत विद्यार्थी संघका संयोजक प्रकाश साहले मंगलबार प्रजिअ भट्टराईलाई ज्ञापनपत्र बुझाउँदै गाडी आगजनी र तोडफोडको घटनाको भर्त्सना गरेका हुन् ।

उनीहरुले विद्यार्थी आन्दोलनलाई बदनाम गर्ने जो कोहीलाई प्रशासनले यथाशीघ्र सत्यतथ्य छानबिन गरी दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् । 

‘विद्यार्थी संगठनका नाममा अराजक समूहले विद्यार्थी आन्दोलनलाई नै बद्नाम गर्ने र विद्यार्थी आन्दोलनको सुनौलो इतिहासलाई धुमिल बनाउने दुष्कार्यबाट जोगाउनु पर्ने चुनौति पनि छ’ ज्ञापन पत्रमा भनिएको छ ‘संयुक्त विद्यार्थी संगठन विद्यार्थी आन्दोलनका नाममा गरिने यस्ता अराजनीतिक, उच्छृङ्खल हिंस्रक गतिविधीको पक्षमा नरहने उद्घोष गर्दछौं ।’

उनीहरुले देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात विद्यार्थी आन्दोलनको भूमिका फेरिएको भन्दै  विद्यार्थी आन्दोलनलाई प्राज्ञिक, बौद्धिक, सिर्जनशिल र रचनात्मक बनाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गरेका छन् । तर विद्यार्थी संगठनका नाममा अराजक समूहले विद्यार्थी आन्दोलनलाई नै बद्नाम गर्ने काम गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

महेन्द्र मोरङ क्याम्पसका स्ववियू सदस्य दीपक यादवको पक्राउको विरोधका क्रममा सोही क्याम्पसमा क्रियाशील रहेका विद्यार्थी संगठनसम्वद्ध विद्यार्थीहरुले गाडीमा आगजनी गरेका थिए । आगजनीको घटनामा मोरङ क्याम्पसकै स्ववियु सभापति जसवन्त पौडेल पनि संलग्न देखिएको भिडियोसमेत सामाजिक सञ्जालमा बाहिरिएको थियो । पौडेल नेविसंघबाटै सभापति निर्वाचित भएका हुन् ।

विद्यार्थीहरुले महेन्द्र मोरङ क्याम्पस अगाडि कार्यालयतर्फ जाँदै गरेको प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कार्पियोमा आगजनी गर्दा जलेर पूर्ण रुपमा क्षति भएको छ ।

महेन्द्र मोरङ क्याम्पसबाटै निस्किएको विद्यार्थीहरुको समूहले पाञ्चाली रोडमा पार्किङमा राखेको नेपाल विद्युत प्राधिकरणका बी–एबी ८१८०, बागमती प्रदेश ०१–००१ ञ २७०१, बा १ ञ २४१९, बाग्मती प्रदेश ०१–००१ ञ २७९० र बा १ ञ १८८७ नम्बरको गाडीमा समेत तोडफोड गरेका थिए । आगजनी र तोडफोडपछि क्याम्पसभित्र प्रवेश गरेका उनीहरुले पत्रकारहरुलाई ढुंगा प्रहार गर्नुका साथै फोटो भिडियो नखिच्न भन्दै होहल्ला र हुटिङ गरेर समाचार संकलनमा समेत अवरोध गरेका थिए । 

तर प्रजिअ भट्टराईलाई ज्ञापनपत्र बुझाएका ६ विद्यार्थी संगठनले भने ऊक्त घटनामा संयुत्त विद्यार्थी संगठनको कुनै पनि संलग्नता नरहेको दाबी गरेका छन् । ज्ञापनपक्रमा माओवादी निकट विद्यार्थी संगठन अखिल त्रान्तिकारीका कुनै पनि प्रतिनिधिले हस्ताक्षर गरेका छैनन् । गाडी आगजानी र तोडफोडका घटनामा अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु समेतको संलग्नता रहेको जनाइएको छ ।

यता विद्यार्थी संगठनहरुले भने निहित स्वार्थ पूरा गर्न सरकारी सम्पत्तीमाथि पटक–पटक हुने गरेका आगजनी र तोडफोडको घोर निन्दा र भर्त्सना गरेका छन् ।

‘घटनामा संलग्न व्यक्तिहरु वास्तविक रुपमा विद्यार्थी हुनै सक्दैनन्’ ज्ञापनपत्रमा भनिएको छ, ‘राजनीतिक दवाव, प्रशासनिक मिलेमतो र प्रभावमा परी यस्ता गतिविधि गर्ने अराजक तत्वहरुलाई कानुनी कारबाहीको दायरामा नल्याई संरक्षण दिन खोजिएमा संयुक्त विद्यार्थी संगठनहरु त्यसको प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छौं, उत्पन्न परिस्थितिको जिम्मेवार प्रशासन स्वयम् हुनेछ ।’

View : 258

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved