Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
समाज

सामुदायिक वनभित्र जंगली हात्तीको बथान, आक्रमणबाट दुई महिलाको निधन

उद्‌घोष सम्वाददाता
१७ पुष २०८१, बुधवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक वनमा रहेको जंगली हात्तीको समुहको आक्रमणबाट दुई महिलाको ज्यान गएको छ ।

सुन्दरहरैंचा–५ गुरूङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जंगली हात्तीको आक्रमणबाट दुई दिनअघि निधन भएको छ । अघिल्लो साता पनि वडा नम्बर ७ स्थित सृजना सामुदायिक वनमा ४० वर्षीया गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो ।

मंगलबार सामुदायिक वनभित्र ज्यालादारीमा दाउरा काटेर घर फर्कने क्रममा नमूना सामुदायिक वनमा लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार सामुदायिक वनमा दाउरा काट्न गएकी लिम्बू घर नफर्किएपछि खोजी गर्ने क्रममा जंगलमै मृत फेला परेको जानकारी दिए ।

त्यसैगरी सुन्दरहरैंचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा काट्न गएकी श्रेष्ठको समेत हात्तीकै आक्रमणबाट निधन भएको उनले बताए ।

यस क्षेत्रका सामुदायिक वनमा एक दर्जनभन्दा बढी जंगली हात्ती रहेका कारण स्थानीयवासी त्रसित बनेका वडा नम्बर ७ का वडाध्यक्ष गणेश चौधरीले बताए । उनले हात्तीको त्रासका कारण स्थानीय रातभर जागै बस्ने गरेको बताए ।

जंगली हात्तीले उत्तरी मोरङका विभिन्न स्थानसहित झापा र सुनसरीमा स्थानीयलाई आक्रमण गर्ने गरेका कारण दजर्नौंको मृत्यु भइसकेको छ । मानिस र जंगली हात्तीको द्वन्द्व बढेका कारण प्रभावित क्षेत्रका मानिसहरूले लुकिछिपी रुपमा जंगली हात्ती मार्ने प्रयास समेत गर्दै आएका छन् । 

हात्तीले मान्छे मार्नुका साथै अन्नबाली समेत नष्ट गर्ने र घर भत्काउने गरेको डिभिजन वन कार्यालय मोरङले जनाएको छ । मानिस र हात्तीको द्वन्द्वमा मोरङमा एक बर्षमा तीन वटा जंगली हात्ती समेत मृत फेला परेको उनले बताए ।

पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैंचामा दैनिकजसो जंगली हात्तीको हुल देखिने गरेको स्थानीयले बताएका छन् ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved