Biratnagar, Morang, Nepal
२३ पुष २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज देशभरका अधिकांश स्थानमा मौसम बदली

उद्‌घोष सम्वाददाता
२१ पुष २०८१, आइतवार

काठमाडौँ । आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ ।

चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

मौसमविद् लामिछानेले हुस्सु र कुहिरो लागका बेलामा स्वास्थ्य, कृषि, यातायातलगायत क्षेत्रमा असर पर्ने भएकाले सबैले सावधानी अपनाउनुपर्ने उल्लेख गरे ।

यस्तो बेलामा न्यानो भएर बस्नुपर्ने, गाडी गुडाउँदा हेडलाइट बालेर हिँड्ने, तातो खानेकुरा खाने, चिसोमा धेरै नहिँड्ने, न्यानो कपडा लगाएर बस्नेलगायत उपाय अपनाउनुपर्ने उनले बताए ।

जल तथा मौसम विज्ञान विभागका अनुसार विगत केही दिनदेखि तराईका धेरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेको र केही स्थानमा दिउँसोसमेत घाम नलागेका कारण तापक्रम घट्न गई चिसो बढेको छ ।

चिसोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव परेको भन्दै यसका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सावधानीका उपायहरू तथा सतर्कता अपनाउन अनुरोध महाशाखाले गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले हुस्सु कुहिरो नियमित अनुगमनसँगै दैनिक बुलेटिन जारी गरिरहेको जनाएको छ ।

आज काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा मौसम बदली हुँदा हवाई उडानसमेत प्रभावित भइरहेको छ ।

भोलि र पर्सी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनुका साथै तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी र उच्च हिमाली क्षेत्रका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् लामिछानेले जानकारी दिए ।

View : 56

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved