Biratnagar, Morang, Nepal
२ जेठ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
विचार

थारूको मुख्य पर्व माघी

राजेश सरदार थारू
१ माघ २०८०, सोमवार

माघी पर्व थारूहरूले मनाउने मुख्य पर्व हो । माघीलाई माघे संक्रान्ति वा मकर संक्रान्तिको नामले पनि चिनिन्छ । माघे संक्रान्ति वा माघी संक्रान्ति वा मकर संक्रान्ति माघको पहिलो दिनमा मनाइने नेपालको एक प्रमुख चाड हो । माघे संक्रान्ति नेपाली पात्रो अनुसार हरेक वर्ष माघ १ गते मनाइन्छ । नेपाली भाषामा ‘संक्रान्ति’ शब्दले महिनाको पहिलो दिनलाई बुझाउने यो दिन हिन्दु अनुयायीहरूका लागि पनि एक ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको छ ।

नेपालभरका थारू समुदायले यसलाई मनाउने तरिका विशेष आकर्षक छ । नेपालका थारू समुदायमा विभिन्न उपजातिहरू छन् र प्रत्येक भूगोलमा पर्वको फरक नाम छ । कुनै क्षेत्रमा यसलाई तीला संक्रान्ति, माघी, खिचडी वा खिचरा भनिन्छ भने कतै यसलाई माघी भनिन्छ । ठाउँ विशेषका आधारमा पर्वको नाम फरक भए पनि विषय र महत्त्व एउटै छ ।

थारूहरू प्रकृतिप्रेमीका रूपमा चिनिन्छन् । यसलाई आफ्नै देवताका रूपमा पुज्ने गरेको थारू अगुवाहरू बताउँछन् । तसर्थ लुगामा सेतो रङ लगाउन मन पराउनुले थारूहरूको शान्त प्रकृतिको प्रतिनिधित्व गर्छ । थारू भाषाका लेखक रामसागर चौधरीका अनुसार उत्सवको लागि नयाँ योजना बनाउने, गाउँको अगुवाको रूपमा बर्घर, मुखिया, गहदार, महतवा, भलमन्सा छान्ने, वर्षभरिका नयाँ योजना बनाउने बारे गाउँघरमा बसेर प्रियजनहरूसँग छलफल गर्दछन् ।

माघी थारूहरूको मौलिक पर्व हो । दुःखपीडालाई बिर्सेर हर्षोल्लासका साथ हरेक वर्ष एउटै मितिमा मनाइने यो एकमात्र प्रमुख पर्व हो माघी । हिजोआज अधिकांश थारूहरूले सांस्कृतिक पहिरन लगाएर मनाउने गरे पनि यो पर्व परम्परागत पर्वभन्दा फरक छ । थारू समुदायमा माघी पर्वको तयारी माघ १ गतेभन्दा एक दिन अगाडि नै गरिन्छ । भोलिपल्ट बिहान परिवारहरू नदीमा पवित्र स्नान गर्न जाँदा उत्सवको भावना महसुस गर्ने गर्दछन् । 

थारू समुदायले माघीका लागि आआफ्नो किसिमको खाना बनाउँछन् । लोकप्रिय खाद्य वस्तुहरूमा तीलको लड्डु, सखरखण्ड, भुजाको लड्डु, चिउराको लड्डु खाने गर्दछन् । बगिया, भक्का, अन्दी चामलबाट बनेको परिकार, मालपूवा पनि थारूका मुख्य परिकार हुन् । साथसाथै विभिन्न प्रकारका शाकाहारी, मांसाहारी भोजनको पनि व्यवस्था गरेका हुन्छन् । माघीमा अघिल्लो रात परिवारले खाना बनाइराखेका खानेकुरा खाने गर्छन् । माघीका दिन पुसमा पाकेका माघमा खाएका भन्ने उखान पनि थारू समुदायमा प्रचलित रहेको कुरा थारू उपन्यासकार तथा पत्रकार कृष्णराज सर्वहारीले लेख्दै आएका छन् ।

माघीको दिनदेखि नै जसरी तीलको सानो आकार हुन्छ त्यसरी नै दिन पनि तीलको आकार झैं  क्रमशः बढ्दै जाने मान्यता थारू समुदायमा रहिआएको छ । एवम् त्रममा यस दिन सानोले ठूलोबाट आशीर्वाद लिने र खानपिन गर्ने चलन पनि छ । एक आपसको रिसरागलाई त्यागी सम्बन्ध सुमधुर हुने दिनको रूपमा पनि लिइन्छ । आउँदा दिनमा सख्खर जस्तै गुलिया र लड्डु जस्तै मिठा पलहरू वर्षभरी कायम रहिरहोस् भनी धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । 

यो पर्व खाना र परिकारका लागि पनि लोकप्रिय छ । अचेल थारूहरू माघीलाई अवसरको सदुपयोग गर्दै विभिन्न ठाउँमा माघी महोत्सव आयोजना गरी आफ्नो सांस्कृतिक पहिचानलाई निरन्तरता दिने प्रयासमा लागेका देखिन्छन् । माघी महोत्सवमार्फत नै थारू समुदायका खाना र परिकारहरू प्रदर्शनमा ल्याइ अन्य समुदायका मानिसहरूलाई पनि खानाका स्वाद चखाउने कार्यहरू गर्दै आएका छन् । थारू समुदायका कतिपय व्यक्तिले आफ्नो सांस्कृतिक पहिरन लगाएर चाडपर्वका लागि विशेष खाना बनाएर संस्कृति, पहिचान र बलियो सामाजिक अभिव्यक्ति झल्कने गरेको महसुस पनि गर्दछन् । 

माघे संक्रान्ति थारू समुदायको नयाँ वर्षको रूपमा पनि मानिन्छ । यो पर्व नेपालमा पनि थारू समुदायको नयाँ वर्षको शुरूवातको समय हो । यो पर्व लामो फसल काट्ने याम पछिको उत्सव हो । आफन्त र परिवारका बीचमा माया र खुसी बाँड्ने प्रमुख घटनाको रूपमा मनाउने उत्सव पनि हो ।

यस विशेष दिनमा वर्ष भरिको पारिवारिक योजना बनाइन्छ । आगामी दिनमा के गर्ने भन्ने पारिवारिक घरसल्लाह गरिन्छ । घर परिवार होस् या गाउँ समुदायसँगको छलफल होस् खेतीपाती वा यावत कुराको बारेमा आपसमा सरसल्लाह हुने गर्दछ । पुसमा पुरानो हिसाब चुक्ता गर्ने र माघ १ गतेदेखि नयाँ हरहिसाब शुरू गर्ने वा पुरानो व्यवहारको नवीकरण गर्ने प्रचलन थारू समुदायमा छ । थारू समुदायका घर परिवारमा कोही छुट्टै बस्न चाहन्छन् भने कोही संयुक्त परिवारमा बस्न चाहन्छन् । संयुक्त परिवारमा पारिवारिक जिम्मेवारी कसलाई दिने वा घरमूली कसलाई बनाउने सम्बन्धमा घर परिवारमा सरसल्लाह पनि यसै दिन गरिन्छ ।  

यस माघे संक्रान्तिको दिन नै पितृ सम्पत्तिको राजीखुशीले वितरण पनि गरिन्छ । यससंँगै घर परिवारमा मिलेर बस्ने वा छुट्टिने भनी एक आपसमा सरसल्लाह हुने गर्दछ । भाइ भाइमा मन नमिले राजीखुशीले अंशबण्डा गरी अलग हुने दिन पनि हो । सम्पत्तिको अंशबण्डा गर्दा भाइ–भाइमा मर्का नपरोस् भनेर मुख्य घरमा आफन्त, गाउँका पञ्चभलाद्‍मीहरूको भेला बोलाएर बृहत् छलफलमा जुट्ने गर्दछन् । गाउँको विकास बारे पनि माघको पहिलो हप्तामा अगुवाको घरमा बैठक बसी बिगतमा गरेको पूजापाठ, अगुवाको नियुक्ति र कामको समीक्षा गरी आगामी विकास योजनाका लागि पनि समीक्षा बैठक बस्ने गर्दछन् ।

यस माघी पर्वको दिनलाई जमिन्दारको घरमा कमैया, कम्लहरी राख्ने दिनको रूपमा पनि बुझ्न सकिन्छ । त्यति मात्र नभई हली तोक्ने दिन पनि हो । कसलाई राख्ने हो पुरानो हलीलाई निरन्तरता दिने नदिने आदिको बारेमा पछि छिनोफानो हुने गर्दछ । 

यस प्रकार एवम् क्रममा माघी पर्व विस्तार हुँदै सामुदायिक एकता र सद्‍भाव कायम गर्ने दिशातिर पनि उन्मुख हुँदै गएको छ । थारू समुदायले बनाएका भोजनका स्वाद लिनेहरूको संख्या पनि बढ्दो क्रममा छ । थारू समुदायका वेशभूषा र खानाको परिकारलाई सरकारी र निजी स्तरको प्रयासबाट व्यावसायिक रूपमा घरवास (होमस्टे)को व्यवस्था गरी विस्तार र परिचित गर्न गराउन सफल हुन सके स्वफूर्त रूपमा थारू संस्कृतिको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन पनि हुने र पर्यटन विकास भई सिंगो समाजको आय आर्जनमा पनि टेवा पुग्ने प्रचुर सम्भावना छ ।

ज्योतिष शास्त्रको अनुसार सौरमासको हिसाबले सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएको हुनाले माघी पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । यस दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उतरी गोलार्द्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामो र लामो जाडो रातहरू छोटो हुँदै जान्छ । माघीले वसन्त ऋतुको शुरूवात गर्छ अर्थात यस दिनबाट उतरायण शुरू हुन्छ भन्ने विश्वास गरिन्छ । यो माघे संक्रान्ति वर्षको सबैभन्दा चिसो दिन मानिन्छ र विस्तारै पछि दिन न्यानो हुँदै जान्छ । यसर्थ माघे संक्रान्ति प्रकाशको देवता सूर्यलाई समर्पित गरिन्छ ।

नेपालका विभिन्न समुदायले यसलाई विभिन्न तरिकाले मनाउँछन् । नेवार समुदायमा ‘घ्यूचाकु साल्हु’ नामले माघे संक्रान्ति मनाइन्छ । उनीहरूले चाकुमा तील मिसाएर लड्डु बनाइखाने तथा दान दिने गर्दछन् भने ब्राह्मण र क्षेत्री समुदायमा मकर संक्रान्ति जस्ता विभिन्न नामले माघी पर्व मनाइन्छ । त्यस्तै मगरहरूले माध्या वा सेल्हस पर्वको रूपमा मनाउँदछन् । आजकै दिन किराँत वंशले काठमाडौं उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रूपमा किराँत संवत् शुरू भएको मानिन्छ ।

यस दिनको हिन्दु धार्मिक र पौराणिक मान्यताका कुरा गर्दा महाभारतमा भीष्म पितामहलाई इच्छा मृत्युको वरदान थियो, भीष्मले यही दिन मृत्यु रोजेका थिए । रणभूमिमा अर्जुनका धनुषवाणहरूले शरीरमा सर्वत्र छेडेका भीष्म पितामहले आजकै दिने इच्छा मृत्यु जाहेर गरेर थिए ।

भगीरथ र आमा गंगाको कथाअनुसार अयोध्याका राजा भगीरथले असुरराज वृपाक्षमाथि विजय प्राप्त गरेको थियो भने स्वर्गका राजा देवेन्द्र भगवानमाथि पनि युद्ध घोषणा गरेका थिए । त्यस पश्चात ठूलो तपस्या गरी आफ्ना पूर्वज सगरका ६० हजार सन्तानको अन्तिम संस्कार र पृथ्वीका समग्र मानव कल्याण गर्नका लागि गंगा नदीलाई पृथ्वीमा अवतरण गराइ सागरमा मिलाएका थिए । त्यसैले यसदिन प्रयाग र गंगासागरमा गरिने स्नानलाई मानिसहरूले महास्नानको रूपमा अर्थ्याएका छन् ।   

माघी संक्रान्तिमा पनि ‘तीलको लड्डु’, घ्यू, चाकु, सख्खर, तरूल’ खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाएको तेलले शरीरमा प्रवेश गर्दा चिसोबाट मुक्त भई छाला र नशा सम्बन्धी रोग नाश हुने जनविश्वास रहिआएको छ ।

त्यसैगरी अन्य समुदायकाले पनि तीलको लड्डु’, घ्यू, चाकु, सख्खर’, तरूल र चिउरा जस्ता विशेष खानाका साथै अन्य धेरै स्वादिष्ट वस्तुहरू खाने गर्दछन् । वैज्ञानिक हिसाबमा पनि तीलको लड्डु, घ्यू, चाकु, सख्खर, तरूल खानाले शरीरमा ताप पैदा गर्ने, तागत दिने, रोगसँग लड्ने शरीरमा क्षमता वृद्धि गर्ने तथा निरोगी बनाउन सहयोगी भूमिका खेल्दछ । 

यसरी माघी स्नानले रोगव्याधी र कष्टहरू पखालेर लाने र पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घ्यू, चाकु, तीलको लड्डु, सागपात, तरूल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिधा दान गरेमा विशेष फल प्राप्त हुने भविष्य पुराणमा उल्लेख गरिएको छ ।

माघीको स्नानपछि तीलको आगो ताप्नाले वर्षभरीको पाप पखालिन्छ भन्ने मान्यता पनि छ । त्यसो त हिन्दु सनातन धर्मअनुसार तीलको महत्त्व दान गर्दा होस्, पूजा गर्दा होस् या पितृ कर्म वा शुभकार्यको लागि होस्, तीलको अपरिहार्यता हुन गएको छ । तीललाई भुटेर या मुछेर सखरसँग बनाएको तीलको लड्डु खाने चलन प्रसिद्ध छ। त्यसकारण यसलाई तिलुवा संक्रान्ति पनि भन्ने गरिन्छ ।

View : 119

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved