Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
साहित्य

सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई दियो पञ्चेबाजा

रविन कटेल
१५ पुष २०८०, आइतवार

Advertisement

धनकुटा, १४ पुस । धनकुटाको सहिदभूमि गाउँपालिकाले दलित समुदायलाई पञ्चेबाजा प्रदान गरेको छ । वाद्यवादन पेशामा आवद्ध गाउँपालिका क्षेत्रका दलित समुदायलाई दलित एकता समाजसँग समन्वय गरी गाउँपालिकाले पञ्चेबाजा प्रदान गरेको हो ।

सहिदभूमि–६ सुकेपोखरीमा कार्यक्रम आयोजना गरी वाद्यवादकहरुलाई नरसिङ्गा, दमाहा, सहनाई, ट्याम्को, झ्याम्टा, ढोलक, बाउँताल लगायत बाजा प्रदान गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए ।

‘अहिले परम्परागत लोकबाजा बजाउने क्रम घट्दै गएको छ । यसको संरक्षण गर्नुपर्ने आवश्यकता छ । बाजा बजाउने पेशामा आवद्धहरुलाई प्रोत्साहन गर्नुपर्ने खाँचो पनि छ,’ अध्यक्ष राईले भने, ‘त्यसैले उहाँहरूलाई प्रोत्साहनका लागि पञ्चेबाजा प्रदान गरेका छौं, अब केही समयपछि पोशाक पनि प्रदान गर्दैछौँ ।’

पञ्चेबाजा नेपालको पहाडी भेकमा लोकप्रिय छ । विवाह, व्रतबन्ध, चाडबाड, जात्रा, रोपाइँ, पूजा लगायत विभिन्न धार्मिक तथा सामाजिक उत्सवका बेला पञ्चेबाजा बजाउँने गरिन्छ । तर, डिजिटल युग र प्रविधिको विकासले पछिल्लो समय पञ्चेबाजा बजाउँने चलन कम हुन थालेको छ ।

विद्युतीय माध्यम तथा इन्टरनेटबाट बाजा बजाउने चलनले यो बाजा बजाउनेहरुको पेशा संकटोन्मुख छ ।

पञ्चेबाजा लोपोन्मुख र बाजा बजाउनेहरुको पेशा पनि संकटोन्मुख हुँदै गएकाले संरक्षणको प्रयास गरिएको गाउँपालिका अध्यक्ष राई बताउँछन् । उनका अनुसार बाजा बजाउने टोलीलाई एकनासको पहिरनका लागि पोशाक पनि प्रदान गर्न लागिएको छ । यसका लागि गाउँपालिकाले एक लाख बजेट छ्ट्याएको छ ।

विशेषगरी दलित समुदायले पञ्चेबाजा बजाउने गरेका छन् । यही पेशाबाट उनीहरूले जिविकोपार्जन पनि गर्ने गरेका छन् । सहिदभूमिमा दलित समुदायको जनसंख्या १ हजार ३ सय १४ रहेको तथ्यांक छ । जसमध्ये करिब ५० परिवार पञ्चेबाजा बजाउने पेशामा आवद्ध छन् ।

View : 437

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved