विराटनगर । नेपालको शैक्षिक पुस्तक प्रकाशन तथा वितरण क्षेत्रको अग्रणी संस्था अस्मिता बुक्स पब्लिसर्स एन्ड डिस्ट्रिब्युटर्स प्रालि (अस्मिता प्रकाशन) ले मुलुकमा हालै आएको बाढीपहिरो प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक करोड एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
प्रकाशनका प्रबन्ध निर्देशक मनोजकुमार शर्मा तथा प्राडा यादवराज कोइरालाले सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
अस्मिता प्रकाशनले लामो समयदेखि विद्यालय तहदेखि प्राविधिक (सीटीईभीटी) तथा विश्वविद्यालय तहका बीबीएस, एमबीएस, बीबीए, बीएड, बीएससी लगायतका पाठ्यपुस्तक, गाइड, सन्दर्भ सामग्री तथा परीक्षा सहयोगी पुस्तकहरू प्रकाशन तथा देशभर वितरण गर्दै आएको छ ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विपद्को यस घडीमा ऐक्यबद्धता जनाउँदै सो सहयोग उपलब्ध गराएको हो।
सहयोग हस्तान्तरणका क्रममा प्रकाशन परिवारले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।
साथै, बेपत्ता भएका नागरिकहरूको शीघ्र सकुशल खोजीको कामना गर्दै दुःखद विपत्तिबाट प्रभावित सम्पूर्ण जनसमुदायमा धैर्य, साहस र शक्ति प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।
विराटनगरका पुस्तक व्यवसायी मुकेश मैनालीले अस्मिता प्रकाशनको यो कार्यलाई महान् कार्य भनेर सराहना गरेका छन् ।
View : 192
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved