Biratnagar, Morang, Nepal
२० असोज २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा पोडवे :

भेडेटारसम्मको विस्तार योजना लिएर अघि बढ्न उद्योगी व्यवसायीको सुझाव

उद्‌घोष संवाददाता
१९ असोज २०८३, सोमवार

Advertisement

विराटनगर । विराटनगरमा प्रस्ताव गरिएको पोडवे परियोजनालाई प्रारम्भिक ७ किलोमिटरको रानी–बसपार्क खण्डमा मात्र सीमित नगरी इटहरी–धरान हुँदै भेडेटारसम्म विस्तार गर्ने दीर्घकालीन योजनासहित अघि बढाउन विराटनगरका उद्योगी–व्यवसायीले सुझाव दिएका छन् । छोटो दूरीमा मात्र परियोजना सञ्चालन गर्दा लगानीको जोखिम हुन सक्ने भन्दै उनीहरूले लगानी सुरक्षित गन्तव्य र पर्यटनसँग जोडेर पोडवे निर्माणको योजना अघि बढाउन लगानीकर्ता कम्पनीलाई सुझाव दिएका हुन् ।

आइतबार काठमाडौं पोडवे कम्पनीले विराटनगरका उद्योगी, व्यवसायी तथा सम्भावित लगानीकर्तामाझ परियोजनाबारे जानकारी गराएको हो ।

प्रारम्भिक चरणमा विराटनगरको रानी भन्सारदेखि बसपार्कसम्म करिब ७ किलोमिटर पोडवे निर्माण गर्ने प्रस्ताव छ । परियोजना अहिले सम्भाव्यता अध्ययन हुँदै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने चरणमा प्रवेश गरेको छ ।

कम्पनीले परियोजनाका लागि आवश्यक बैंक ग्यारेन्टी कोशी प्रदेश लगानी प्राधिकरणमा बुझाएपछि प्रक्रिया औपचारिक चरणमा प्रवेश गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाल सरकारको नियमानुसार बुझाउनुपर्ने कुल परियोजना लागतको ०.१ प्रतिशत बराबरको बैंक ग्यारेन्टी प्राधिकरणलाई हस्तान्तरण गरिएको हो ।

यसअघि कम्पनी र कोशी प्रदेश सरकारअन्तर्गतको लगानी प्राधिकरणबीच डीपीआर तथा सम्भाव्यता अध्ययन अघि बढाउने सम्बन्धमा सम्झौता भइसकेको छ । अब परियोजनाको प्राविधिक, आर्थिक तथा सम्भाव्यता पक्षको अध्ययन गरेर डीपीआर तयार गरिनेछ । कम्पनीले बढीमा एक वर्षभित्र डीपीआर तयार गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरेको जनाएको छ ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले रानीदेखि विराटनगरसम्मको छोटो दूरीमा मात्र परियोजना अघि बढाउँदा लगानीकर्ता जोखिममा पर्न सक्ने बताए । कम्तीमा भेडेटारसम्मको परियोजना अघि बढे मात्रै यसको दिगोपना सुनिश्चित हुने उनले सुझाव दिए ।

‘रानीबाट विराटनगरकै लागि परियोजना अघि बढाउँदा लगानीकर्ता जोखिममा पर्न सक्छन्’ घिमिरेले भने, ‘कम्तीमा भेडेटारसम्म पुग्ने गरी यसको योजना बनाउनुपर्छ ।’

उनले पोडवेलाई केवल यातायातको साधनका रूपमा मात्र नहेरी पर्यटनसँग समेत जोड्नुपर्ने बताए । कोशी प्रदेशको पहाडी पर्यटनसँग जोडिने गरी पोडवे विकास गर्न सके नयाँ यातायात पूर्वाधारसँगै साहसिक पर्यटनको सम्भावना पनि बढ्ने उनको भनाइ छ ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पनि पोडवे परियोजनाको गन्तव्य पुनर्विचार गर्नुपर्ने बताए । सुरक्षित र भरपर्दो यातायात प्रणालीका रूपमा विकास गर्न सकिने भन्दै उनले निजी क्षेत्र लगानीका लागि तयार रहेको बताए ।

‘हामी लगानीमा साथ दिन तयार छौं, तर यसको गन्तव्यलाई पुनर्विचार गर्दै जानुपर्छ’ राठीले भने, ‘कम्तीमा भेडेटारसम्मको परियोजना तयार हुनुपर्छ ।’

विराटनगरको व्यापारिक सम्बन्ध भारतको बिहार र पश्चिम बंगालसँग रहेकाले पनि पोडवे परियोजनाको सम्भावना रहेको उनले बताए । डीपीआर तयार भएपछि त्यसका आधारमा थप छलफल गर्न उद्योगी–व्यवसायी तयार रहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवनकुमार सारडाले आधुनिक यातायात प्रविधिलाई स्वागत गर्नुपर्ने बताए । सरकारले यस्तो प्रविधि स्वीकार गर्न किन ढिलाइ गरेको हो भन्ने प्रश्न गर्दै उनले प्रस्तुतिका आधारमा उद्योगी–व्यवसायीले पोडवे प्रविधिलाई स्वीकार गरेको बताए ।

मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले विराटनगरको विकासका लागि आधुनिक सुविधाको विस्तार आवश्यक रहेको बताए । उनले अब मुलुकलाई विकासको चरणमा प्रवेश गराउनु पर्ने भएकोले यातायातको क्षेत्रमा पनि नविनतम् प्रविधि भित्रिनु आवश्यक रहेको उनले धारणा राखे ।

काठमाडौं पोडवे कम्पनी अन्तरगत रानी–विराटनगर परियोजनाका संयोजक प्रेम भट्टराईका अनुसार ७ किलोमिटर खण्डमा पहिलो चरणको अध्ययन अघि बढाउन लागिएको हो । तर कम्पनीको दीर्घकालीन लक्ष्य भने विराटनगरबाट इटहरी–धरान हुँदै भेडेटारसम्म नै पोडवे विस्तार गर्ने रहेको उनले बताए ।

कम्पनीका अनुसार पोडवे सडकमा गुड्ने परम्परागत यातायात प्रणालीभन्दा फरक प्रविधि हो । फलामको विशेष ट्र्याकमा पोडलाई झुण्डाएर सञ्चालन गरिने र यसमा अत्याधुनिक कम्प्युटरबाट स्वचालित रुपमा सञ्चालन हुने जनाइएको छ । यस प्रविधिबाट यात्रुका साथै मालसामान र कन्टेनरसमेत ढुवानी गर्न सकिनेछ ।

काठमाडौं पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराईले पोडवे सुरक्षित यातायात प्रविधि भएको दाबी गरे । सस्पेन्सन ब्रिजको प्रविधिजस्तै संरचनामा निर्माण हुने भएकाले पूर्णरुपमा सुरक्षित रहेको बताए ।

उनका अनुसार पोडमा डिजाइनअनुसार १५ देखि ५० जनासम्म यात्रु बोक्न सकिन्छ । पोडवे विद्युतीय र चालकविहीन प्रविधिमा आधारित भएकाले वातावरणमैत्री यातायात प्रणालीका रूपमा विकास गर्न सकिने कम्पनीको दाबी छ ।

कम्पनीले पोडवे निर्माण लागत परम्परागत मेट्रो रेलको तुलनामा कम हुने दाबी गर्दै आएको छ । साथै सडक विस्तार गर्न कठिन हुने स्थानमा तुलनात्मक रूपमा कम जमिन प्रयोग गरेर संरचना निर्माण गर्न सकिने बताइएको छ ।

तर विराटनगरमा प्रस्तावित परियोजनाको वास्तविक लागत, यात्रु क्षमता, स्टेशनको संख्या, सञ्चालन गति, रुटको अन्तिम स्वरूप र लगानी मोडल भने डीपीआरपछि मात्रै स्पष्ट हुनेछ ।

हालका लागि रानी भन्सारदेखि विराटनगर बसपार्कसम्मको ७ किलोमिटरलाई आधार बनाएर अध्ययन अघि बढाइए पनि उद्योगी–व्यवसायीले सुरुदेखि नै भेडेटारसम्मको दीर्घकालीन गन्तव्यलाई केन्द्रमा राखेर परियोजना डिजाइन गर्नुपर्ने बताएका छन् । यस्तो विस्तारले पोडवेलाई विराटनगरको सहरी यातायातमा मात्र सीमित नराखी कोशी प्रदेशको व्यापार, पर्यटन र आवागमनलाई जोड्ने पूर्वाधारका रूपमा विकास गर्न सकिने उनीहरूको धारणा छ ।

नयाँ प्रविधि भएकाले नेपालमा यसको कानुनी आधार र सञ्चालनसम्बन्धी व्यवस्था तयार गर्न लामो समय लागेको उपाध्यक्ष भट्टराईले बताए । यसका लागि सरकारसँग करिब ६ वर्षसम्म पहल गर्नुपरेको लगानीकर्ताहरूले बताए ।

शून्य कार्बन उत्सर्जन तथा दिगो यातायात प्रणाली विकास गर्ने लक्ष्यसँग यसलाई जोडिएको जनाइएको छ । सडक विस्तार गर्न कठिन हुने सहरी क्षेत्रमा सीमित जमिन प्रयोग गरेर छुट्टै यातायात संरचना निर्माण गर्न सकिने भएकाले पोडवेलाई वैकल्पिक सहरी यातायात प्रणालीका रूपमा प्रस्तुत गरिएको छ ।

पोडवेलाई मेट्रो रेलको लागतको ४ प्रतिशतमा निर्माण गर्न सकिने इन्जिनियर प्रदिप नेपालले बताए । साथै, शून्य कार्बन उत्सर्जन हुने प्रविधि भएकोले नेपाल सरकारले लिएको विश्वव्यापी विकास लक्ष्य हासिल गर्न ठूलो मद्दत पुग्ने उनले जानकारी दिए ।

उनका अनुसार दुईवटा पोल बीचको ३ किलोमिटरसम्म लामो दुरी हुने भएकोले यसलाई निर्माण गर्न सहज हुनेछ । यसलाई सहज रुपमा ८० किलोमिटर प्रति घण्टासम्मको सरदर गतिमा गुडाउन सकिने र निजी क्षेत्रले छोटो समयमै लगानी उठाउन सक्ने कम्पनीको दाबी छ ।

View : 67

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved