Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

सुख्खा बढेसँगै आगलागीका घटना बढे

कोशीमा एकैदिन २६ घर जले, मोरङमा बालिकाको मृत्यु

उद्‌घोष सम्वाददाता
६ चैत २०८१, बुधवार

विराटनगर । सुख्खा र पश्चिमा हावा बढेसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा वन डढेलो फैलिएको छ । वनको डढेलो बस्तीमा फैलिंदा २४ घण्टामा २६ वटा घर जलेका छन् । मोरङमा १६, खोटाङमा सात र उदयपुरमा तीन घर जलेका हुन् ।

मोरङको धनपालथान गाउँपालिका–६ र ७ को सीमावर्ती कदमाहा गाउँमा मंगलबार दिउँसो आगलागी हुँदा ३ वर्षीया बालिकाको जलेर ज्यान गएको छ ।

मृत्यु हुनेमा मोहमद हानिफकी छोरी ३ वर्षीया रेश्मा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त आगलागीमा १६ वटा घर जलेको जनाइएको छ । 

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । 

आगलागीका कारण बालिकाको जलेर मृत्यु भएपछि कदमाहा बस्ती शोकमा डुबेको छ । 

मंगलबार अपरान्ह उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टार बजारको कल्याणचोकमा आगलागी हुँदा तीनवटा घर जलेका छन् । स्थानीय शरण राई, सर्वधन राई र कालुमान राईको घर जलेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । 

शरण राईको घरमा भाडामा बस्ने संगीता राई र कालुमानको घरमा बस्ने उनकै ज्वाइ्ँ अमृत राईको धनमाल, अन्नपात, लत्ताकपडा लगायत जलेर नष्ट भएको जनाइएको छ ।

प्रहरीका अनुसार सर्वधनको घरमा विजुली सर्ट भएर आगलागी सुरू भएको थियो । 

आगलागीबाट तीनवटै घर पूर्ण रूपमा जलेका छन् । छिमेकका घरहरूमा समेत क्षति पुगेको जनाइएको छ । आगलागीबाट एक करोड २२ लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

चौदण्डीगढी नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाको दमकलको सहयोगमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणका क्रममा सोही स्थानका ३४ वर्षीय कृतिमान राईको हात जलेर घाइते भएको जनाइएको छ । उनको नगर अस्पताल बेल्टारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाल्छीखोला सामुदायिक वनमा लागेको डढेलो अनियन्त्रित भएर बस्तीमा फैलिंदा एउटा सामुदायिक विद्यालयसहित सँत घर जलेका छन् । सोमबार साँझ ५ बजेतिर जंगलको डढेलो बस्तीमा फैलिंदा कक्षा ५ सम्म पढाई हुने बालकन्या आधारभूत विद्यालयको दुई कोठे प्रशासनिक भवन र स्थानीयका सातवटा घर जलेका हुन् । 

डिकुवास्थित अडमे राई, नगेन्द्र राई, हिराशेर राई, पृतिबहादुर राई, रणबहादुर राई, अबिन्द्र राई र हिराधन राईको घर पूर्ण रूपमा जलेको वडा नम्बर २ का वडाध्यक्ष देवेन्द्र राईले बताए । उनका अनुसार डढेलो फैलिएको क्षेत्र अत्यन्तै सुख्खाग्रस्त क्षेत्र रहेको छ । 

पानीको स्रोत नहुँदा आगो निभाउने कुनै उपाय नभएको वडाध्यक्ष राईले बताए । गाउँ नजिकको वन क्षेत्रमा चैत ३ गते यता डढेलो फैलिएको जनाइएको छ ।

आगलागी नियन्त्रणका लागि सदरमुकाम दिक्तेलस्थित नेपाली सेनाको रणभीम गण मुडे ब्यारेकबाट खटिएको सेनाको टोलीले अग्निरेखा निर्माण गरिरहेको वडाध्यक्ष राईले बताए ।

हलेसी तुवाचुङकै वडा नम्बर ७ स्थित महादेवस्थानमा केही दिन अघिमात्रै स्थानीय पदमशेर राईको घरबाट सल्किएको आगोले छिमेकी चार घर जलेका थिए । त्यतिबेलाको आगलागीमा सात करोड ३० लाख रूपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीद्वारा डढेलो नियन्त्रण

जिल्ला प्रहरी कार्यालय उदयपुरले मंगलबार जिल्लाका विभिन्न वनमा लागेको डढेलो नियन्त्रण गरेको छ । मंगलबार अपरान्ह त्रियुगा नगरपालिका–४ फर्सेट जंगलमा लागेको डढेलो सशस्त्रसहित नेपाल प्रहरी र स्थानीयबासीको सहयोगमा पूर्ण रूपमा नियन्त्रण गरेको हो । 

बेलका नगरपालिका–५ स्थित जलदेवी सामुदायिक वनमा लागेको डढेलो इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट प्रहरी निरीक्षक मौसम उदासको नेतृत्वमा खटिएको १३ जनाको टोली र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरका सशस्त्र प्रहरी सहायक निरीक्षक भोजराज श्रेष्ठको कमाण्डमा खटिएको १३ जनाको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–४ स्थित सिंहदेबी सामुदायिक वनमा लागेको आगोसमेत प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको छ । 

प्रहरी चौकी सुकेपोखरीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा डढेलो नियन्त्रणमा लिएको जनाइएको छ ।

View : 220

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved