Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

भोटेकोशी बाढीपीडितलाई आमा समूहद्वारा ७५ हजार सहयोग

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर ।  रसुवाको भोटेकोशीमा हालै आएको विनाशकारी बाढीका पीडितको राहत तथा उद्धारका लागि विराटनगरका तीन स्थानीय सामाजिक समूहहरूले संयुक्त रूपमा आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

 

विराटनगर वडा नं १ र ३ का फूलबारी आमा समूह, सृजनशील आमा समूह तथा सनातन भजनकीर्तन समूहले संकलन गरेको ७५ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।


भदौ १० गतेको सो विपदमा परेका नागरिकलाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंक बरगाछी शाखामार्फत कोषको खाता नं ११३०१००००३७६२००१ मा रकम दाखिला गरिएको समूहकी कोषाध्यक्ष चेतकुमारी पोखरेलले जानकारी दिइन् ।

 

थाेपा–थोपा मिलेर समुद्र बन्छ’ भन्ने भावनाका साथ टोलका दिदीबहिनीहरू मिलेर रकम संकलन गरिएको उनको भनाइ छ ।
विराटनगरका यी समूहहरू सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका छन् ।

 

यसअघि गत साउन महिनामा मात्रै यिनै समूहहरूको पहल तथा भरोसा महिला बचत तथा ऋण सहकारी संस्था र एन्जल फाउण्डेसनको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

उक्त शिविरबाट समुदायका १३५ जनाले मधुमेह तथा रक्तचाप र ५२ जनाले पायल्स, फिस्टुला एवं फिसर सम्बन्धी उपचार सेवा लिएका थिए भने ८ जना बिरामीको शल्यक्रियासमेत गरिएको थियो ।

विपद् तथा मानवीय संकटको घडीमा आगामी दिनमा पनि यस्ता परोपकारी कार्यलाई निरन्तरता दिइने समूहकी अध्यक्ष दुर्गादेवी रिजाल आचार्यले बताइन् ।

 

View : 89

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved