Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेशमा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिक

जुनु भट्टराई
१६ मंसिर २०८२, मङ्गलवार

विराटनगर । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको राष्ट्रिय जनसंख्या नीति, २०८२ लाई कोशी प्रदेशमा सार्वजनिक गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव बिकास देवकोटाले नीतिको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रम जनसंख्या तथा परिवार कल्याण महाशाखा र यूएनएफपीएको सहकार्यमा आयोजना गरिएको थियो । 

कार्यक्रममा सरकारले प्रस्तुत गरेको तथ्यांक अनुसार राष्ट्रिय जनगणना २०७८ को नतिजाबाट जनसंख्याको दश वर्षको औषत वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ । देशको कूल प्रजननदर प्रति महिला १.९४ मा झरेको छ । 

नवजात शिशु मृत्युदर एक हजार जीवित शिशुमा २१, शिशु मृत्युदर २५, बाल मृत्युदर ३३ रहेको छ भने मातृ मृत्युदर एक लाख जीवित जन्ममा १५१ रहेको साथै जन्मदाको लैगिंक अनुपात १०० महिलामा ११२ पुरुष ( १०० : ११२) रहेको उल्लेख गरियो । 

त्यस्तैगरी औसत आयु ७१.३ वर्ष पुगेको र १५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या ६१.१ प्रतिशत पुगेसँगै नेपाल जनसांख्यिक लाभांशको महत्वपूर्ण चरणमा प्रवेश गरेको बताइयो ।

नीतिले जनसांख्यिक लाभांशको उपयोग गर्दै आर्थिक विकासलाई गति दिने, युवालाई सीपयुक्त बनाउने, सुरक्षित मातृत्व, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक न्याय र समावेशिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । 

वृद्ध जनसंख्या बढ्दो अवस्थालाई ध्यानमा राख्दै सामाजिक सुरक्षा र दीर्घकालीन योजनामा जोड दिनुपर्ने सुझाव पनि प्रस्तुत भयो ।

कार्यक्रममा सहभागी विज्ञ तथा सरकारी अधिकारीहरूले नेपालका जनसांख्यिक संकेतकहरूमा सुधार आएको तर युवा बेरोजगारी, महिलाको स्वास्थ्य सेवा पहुँच, प्रजननदर घट्दै गएपछि भविष्यमा देखिन सक्ने श्रम अभाव, तथा तीव्र शहरीकरणका कारण उत्पन्न चुनौती अझै समाधान आवश्यक रहेको धारणा राखे । 

उनीहरूले नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहको सक्रियता निर्णायक हुनेमा जोड दिएका थियो ।

यूएनएफपीए प्रतिनिधिहरूले जनसांख्यिक मुद्दालाई योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक प्रविधि, क्षमता अभिवृद्धि र तथ्यांक प्रणाली सुदृढीकरणका क्षेत्रहरूमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

View : 224

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved