गोठगाउँ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका सदस्य प्राध्यापक पशुपति मिश्रको शोकसभा गरिएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित सदस्य मिश्रको उपचारकै क्रममा गत फागुन २९ गते ६७ वर्षको उमेरमा निधन भएको थियो ।
केन्द्रीय कार्यालय गोठगाउँमा बुधबार आयोजित शोकसभामा विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले प्राध्यापक मिश्रको निधनले अनुभवी प्राज्ञिक व्यक्तित्वको रिक्तता महसुस भएको बताए ।
खाद्य प्रविधि विषयका प्राध्यापक मिश्रले सेवा आयोगको सदस्यको जिम्मेवारीमा रहँदा पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरूको वृत्तिविकासका लागि महत्वपूर्ण योगदान पुर्याएको उनले बताए ।
‘आफू गम्भीर बिरामी अवस्थामै भए पनि उहाँले विश्वविद्यालयका लागि उल्लेख्य योगदान गर्नुभएको छ’ उनले भने, ‘हामी सबैले आफ्नो कामबाट त्यो भावनालाई व्यवहारमा उतार्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ ।’
पाँच वर्षअघि उपकुलपतिको जिम्मेवारीमा रहँदा प्राज्ञिक परिषद्को सदस्यमा मनोनयनका लागि नाम प्रस्ताव गरेको स्मरण गर्दै उपकुलपति थपलियाले प्राध्यापक मिश्रले विश्वविद्यालयको प्राज्ञिक उन्नयनका लागि समेत महत्वपूर्ण भूमिका खेलेको जानकारी दिए ।
सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहालले स्वर्गीय मिश्रजस्तो सहृदयी र मिलनसार सहकर्मीको असामयिक निधनले मर्माहत र शोकविह्वल बनाएको धारणा राखे । ‘लामो समयदेखि मृगौला रोगबाट पीडित उहाँ यति चाँडै सदाका लागि विदा हुनुहुन्छ भन्ने लागेको थिएन’ उनले भने, ‘लागेको हुन्थ्यो भने त २८ गते प्रशासनिक पदहरूको आन्तरिक प्रतियोगिताको परीक्षा नै राखिने थिएन ।’
अध्यक्ष दाहाले तालाबन्दीका कारण प्राविधिक रूपमा सेवा आयोगबाट तालिका प्रकाशित परीक्षाहरू रोकिएको भए पनि स्वर्गीय मिश्रले आफ्नो जिम्मेवारी पूरा गरेर जानुभएको बताए ।
गम्भीर बिरामी अवस्थामा पनि सदस्य मिश्रबाट सेवा आयोगको काममा जहिल्यै साथ सहयोग पाएको जानकारी दिँदै उनले भने, ‘अर्को व्यक्ति सदस्य भएको भए सायद आयोगले यति काम गर्न सम्भव हुने थिएन होला ।’
पूवि प्राध्यापक संघका सभापति यज्ञप्रसाद जमरकट्टेलले आयोगका सदस्य मिश्रले विश्वविद्यालयको प्राज्ञिक एवं प्रशासनिक उन्नयनका लागि महत्वपूर्ण योगदान पुर्याएको बताए ।
शोकसभामा सेवा आयोगका मुख्य अधिकृत जनकमणि तिम्सिनाले स्वर्गीय मिश्रको जीवनी प्रस्तुत गरेका थिए ।
कार्यक्रममा रजिस्ट्रार नीलमणि पोखरेल, कर्मचारी संघका सभापति रूपेश बस्नेतलगायत विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।
शोकसभापछि उपकुलपति, सेवा आयोगका अध्यक्ष र रजिष्ट्रारसहितको टोली विराटनगरको पञ्चमुखी चौकस्थित स्वर्गीय मिश्रको निवासमा पुगेर परिवारजनलाई समवेदना–पत्र हस्तान्तरण गर्नुका साथै सामूहिक समवेदना प्रकट गरेको विश्वविद्यालयले जनाएको छ ।
View : 134
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved