Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

कम्बाइन हार्भेष्टरतर्फ किसान आकर्षित

मणिराम दाहाल
७ मंसिर २०८१, शुक्रवार

सुन्दरहरैँचा । लामो समयदेखि हँसियाले धान काटेर भित्र्याउने मोरङका किसानहरु अब भने नयाँ प्रविधिको प्रयोग गर्न थालेका छन् । कम समयमा प्रशस्त क्षेत्रफलको धान काट्न सकिने हुनाले उनीहरुले कम्बाइन हार्भेष्टरको प्रयोग गर्न थालेका छन् । 

नयाँ यान्त्रिक प्रविधि कम्बाइन हार्भेष्टरले धान भित्र्याउँदा समय, श्रम र लागतमा बचत हुने भएकाले यसतर्फ किसानहरु आकर्षित भएका हुन् । 

धान काट्ने, केलाउने र परालको व्यवस्थापन एकैपटक गर्ने भएकाले यस क्षेत्रमा यो प्रविधिको प्रयोगमा उल्लेखनीय वृद्धि भएको सुन्दरहरैंचा नगरपालिकाका कृषि शाखा प्रमुख फणीन्द्र भट्टराईले बताए । उनले कृषि मजदुरको समस्याबाट पीडित हुने गरेका यस भेगका किसानले समयमा धान भित्र्याउन नसक्दा थप नोक्सानी व्यहोरिरहेको उल्लेख गरे । 

कम्बाइन हार्भेष्टरको प्रयोगले यो समस्याको निराकरण गर्ने भएकाले यसको प्रयोगमा आफूहरु उत्साहित भएको किसानहरु बताउँछन् । 

धान पाकेपछि त्यसको व्यवस्थापनमा ठूलो जनशक्तिको आवश्यकता पर्ने, धेरै समय र लागत लाग्ने तथा कृषि श्रमिकको अभावमा समयमा धान भित्र्याउन नसक्दा गहुँ लगाउन ढिलो भई त्यसको उत्पादनमा प्रतिकूल प्रभाव पर्ने गर्दथ्यो ।

अहिले गाउँमै कम्वाइन हार्भेष्टर मेसिन भित्रिएपछि कम लागतमा समयमै कृषि कार्य गर्न सजिलो भएको  सुन्दरहरैंचा–७ का कृषक झमक कोइरालाले बताए । 

खेतालाले तीन दिनसम्म लगाएर गर्ने काम मेसिनले एकछिनमै सकायो,’ किसान कोइरालाले भने, ‘धान भित्र्याउन यसवर्ष खर्च कमै लाग्यो ।’ 

गाउँमा हिजोआज खेताला खोज्न पनि झन्झटिलो हुँदै गएको उनले सुनाए  । काम गर्न आउँदा ज्याला बढी लाग्छ । खाना, खाजा  खुवाउनु पर्ने बाध्यता रहेको उनले बताए । प्रविधिले किसानलाई खेती गर्न सहज बनाएको उनले सुनाए ।

‘धानको खेत तयार गर्न ट्याक्टर लगाउनु पर्छ । रोप्न मजदुर लाग्छ । त्यसपछि पानी र मल खाद हाल्नुपर्छ,’ उनले  भने, ‘काट्ने बेला फेरि मजदुर । पेल्ने बेला मेसिन । सबै ठाउँमा खर्च तिर्दै जाँदा हिसाब बराबर भइहाल्छ ।’ पछिल्लो पटक खेतमै पुगेर मेसिनले काट्ने र पेल्ने काम एकै पटक गर्दा सहज भएको उनले बताए  ।

‘गाउँ–गाउँमा मजदुर भेटिदैन । सबै काम गर्ने बैदेशिक रोजगारमा गएका छन्,’ किसान कमल पोखरेल भन्छन् ‘खेती गर्न अप्ठ्यारो लागिरहेको बेला प्रविधिले साहस थपेको छ ।’ 

सरकारले किसानलाई मल र बीउविजनमा सहुलियत गरिदिए खेती गर्न आकर्षित हुने उनको भनाइ छ । खेतबाट धान भकारी राख्दा सम्म हप्तौं लाग्थ्यो अब प्रविधि आएपछि एकैदिनमै त्यति काम भइरहेको उनले सुनाए ।

मेसिन प्रयोग गरेर धान काट्दा माडिएर खेतमा नै धान झर्छ भनेर चिन्तित भएका स्थानीय  नारायण वाँस्तोला  एउटा धानको बालो पनि खेर नगएपछि निक्कै खुशी भए । 

झन्डै ३ बिघा बढी खेतको धान ३ घण्टामा नै ‘कम्बाइन हार्भेष्टर’ मेसिनले काटेको थियो । यति छिटो धान काटेर झार्छ भन्ने कल्पना पनि थिएन– वाँस्तोलाले भने ।

परम्परागत तरिकाले धान भित्र्याउँदाप्रति बिघा १८ देखि २० हजार खर्च लाग्ने गरेकामा कम्वाइन हार्भेष्टर मेसिनवाट धान भित्र्याउँदा प्रति बिघा ७ हजारमात्र खर्च लाग्ने गरेको किसानको भनाइ रहेको छ ।

हातले धान काट्दा, मुठा पार्दा, उठाउदा र झार्दा मेसिनभन्दा दोब्बरसम्म खर्च हुने भएकाले यसको प्रयोग पछिल्लो समयमा किसानहरुले गर्न थालेको सुन्दरहरैंचा नगरपालिका वडा नं ७  का वडाध्यक्ष भुवनसिंह मगरले बताए । अहिले सुन्दरहरैंचा र आसपासको क्षेत्रमा दैनिक जसो कम्बाइन हार्भेष्टरको प्रयोग भइरहेको उनले जानकारी दिए ।

कम्बाइन हार्भेष्टरले गहुँ काट्ने र दाउनी पनि गर्ने गर्छ । स्थानीय सरकारले कम्बाइन हार्भेष्टरमा अनुदान नदिए पनि कृषिका लागि अनुदान  दिंदै आएको छ । 

रिपरभन्दा कैयौ गुना हार्बेष्टर लाभदायक र छिटो छरितो हुने किसानको भनाइ रहेको छ । साना तथा आली धेरै भएकोले मेसिन प्रयोग गर्न असुविधा भएको किसानको भनाइ छ ।

खेतका गरा ठूला बनाउँदा अहिले लागेको खर्च पनि कम हुने रहेछ– स्थानीय कृषक हरि कार्कीले भने । समयको बचत र लागत खर्च कम गर्नका लागि यो उपयुक्त देखिएको किसानहरुको भनाइ छ । 

पछिल्लो समयमा तराईका जिल्लाहरुमा कम्वाइन हार्भेष्टर मेसिन बहुउपयोगी भएपछि यसप्रति कृषकको आकषर्ण बढ्दै गएको कृषि कार्यालाय मोरङले जनाएको छ । अहिले मोरङसहित विभिन्न जिल्लामा ४० वटाभन्दा बढी कम्वाइन हार्भेष्टर मेसिनको प्रयोग हुने गरेको कृषि कार्यालयले जनाएको छ ।

View : 17

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved