Biratnagar, Morang, Nepal
७ फागुन २०८१, बुधवार
+977 21 450305, 515728, 578305
समाज

रंगेलीमा सेवा दिंदै संगीतकर्मी बगडिया

७ माघ २०८०, आइतवार

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा ब्यावसायिक परिवारका सदस्य एवं संगीतकर्मी शेखर बगडियाले जाडोबाट जोगाउन गरिवलाई सेवा दिंदै आएका छन् । गायक तथा गीतकार शेखरले रंगेलीका गरिव, परिवारबाट हेरचाह नपुगेका जेष्ठ नागरिकलाई जाडोमा ओढ्ने र ओच्छ्याउने न्यानो कपडा सहयोग गर्दै आएका हुन् ।

रंगेली र विराटनगरमा ब्यापार गर्दै आएका उनले हरेक शनिबार त्यस्ता व्यक्तिको घरमै गएर सहयोग प्रदान गर्दै आएका छन् । उनले जाडो सुरु भएपछि चार वटा शनिबार कपडा बितरण गरिसकेका छन् ।

‘सन्तानले नहेरेका जेष्ठ सदस्य, एकल महिलालाई जाडोमा न्यानो निद्रा दिन ओढ्ने र ओच्छ्याउने वितरण गर्दै आएको छु’ बगडियाले भने । रंगेलीका पुराना ब्यवसायी मंगलचन्द अग्रवालका छोरा शेखर ब्यापारसँगै सांगीतिक क्षेत्रमा पनि सक्रिय छन् । रंगेलीका मेयर दिलिप बगडियासँग नातामा भतिजा पर्ने शेखरले हरेक शनिबार ५० जनासम्मलाई न्यानो कपडा बाँड्ने गरेको बताए ।

उनका अनुसार रंगेलीका ९ वटै वडामा त्यस्ता नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम छ । उनले चार वटा शनिबारमा ४, ६ र ७ वडामा मात्रै कपडा वितरण गर्न भ्याएका छन् । त्यस बाहेक रंगेलीका सरकारी विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीलाई स्वीटर बितरण गर्ने कार्यक्रम पनि रहेको उनी बताउँछन् । उनले रंगेलीका बासिन्दालाई मात्रै सेवा गर्ने उद्देश्य राखेकाले राजनीतिक उद्देश्य हुन सक्ने अनुमान लगाइएको छ ।

तर, सेवा मात्रै आफ्नो उद्देश्य भएको बताउने उनी जनताको चाहना बमोजिम अझ ठुलो सेवा गर्दै जाने उनको भनाइ छ । शेखरका बाबु मंगलचन्द अग्रवाल रंगेलीमा नेपाली कांग्रेसका पुराना नेता हुन् भनें काका नाता पर्ने मेयर बगडिया एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । मेयर बगडियाको भन्दा बढी सेवा गर्ने शेखरको मनसाय रहेको स्थानीयको भनाइ छ ।

शेखरका अनुसार रंगेलीका बासिन्दाको स्वास्थ्य जांँच गर्न शिविर सञ्चालनको तयारी गरिएको छ । गाउँका गरिवले शहरमा गएर स्वास्थ्य जांँच गर्ने अवस्था नरहेकाले शिविरको तयारी गरिएको उनले बताए ।

आफू जन्मे हुर्केको कर्मथलो रंगेली भएकाले त्यहाँका बासिन्दालाई बाचुञ्जेल सेवा गर्ने उद्देश्य राखेको बताउँंदै उनले गरिवको उत्थानका लागि विभिन्न गतिविधि सञ्चालनको सोच बनाएको जानकारी दिए ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved