करदाता प्रोत्साहन :
काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको जनाएको छ । विभागले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोटको विधि तथा प्रणालीबारे जानकारी गराउँदै नमुना ड्र प्रणालीसमेत प्रस्तुत गरेको थियो ।
विभागका महानिर्देशक तथा सहसचिव डा. भीष्मकुमार भूसालका अनुसार करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पहिलो उपहार घोषणा शुक्रबार गरिनेछ ।
साउन १ गतेदेखि १५ गतेसम्म अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका तथा नगदमा खरिद गरी आन्तरिक राजस्व विभागको वेबसाइटमा भ्याट वा प्यान बिल अपलोड गरेका उपभोक्तामध्येबाट उपहार विजेता छनोट गरिनेछ ।
विभागका अनुसार उक्त अवधिको प्रत्येक दिनको कारोबारका आधारमा १५ जना उपभोक्ताले करकट्टीपश्चात् जनही एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
साथै, साउन १ देखि १५ गतेसम्म वस्तु तथा सेवा खरिद गर्ने सबै योग्य उपभोक्तामध्ये एक जनालाई १० लाख रुपैयाँको बम्पर नगद उपहार प्रदान गरिनेछ। बम्पर उपहारमा भने प्रचलित कानुनअनुसार कर लाग्ने विभागले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।
करदाता प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधिअनुसार अबदेखि प्रत्येक महिनाको १६ गते (१ देखि १५ गतेसम्मको कारोबारका लागि) र महिनाको अन्तिम दिन (१६ गतेदेखि महिनाको अन्तिम दिनसम्मको कारोबारका लागि) नियमित रूपमा उपहार घोषणा गरिनेछ ।
बैंक वा डिजिटल वालेटको क्यूआरमार्फत वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुनेछन् । यद्यपि, उपहार दाबी गर्न खरिदको बिल अनिवार्य रूपमा सुरक्षित राख्नुपर्नेछ ।
नगदमा वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले भने प्यान वा भ्याट बिल लिएर आन्तरिक राजस्व विभागको वेबसाइटमा अपलोड गर्नुपर्नेछ । बिल अपलोड गरेपछि प्राप्त हुने कुपनमार्फत उनीहरू उपहार कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था गरिएको विभागले जनाएको छ ।
View : 27
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved