झापा । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट एक लाख २२ हजार ७८० रुपैयाँ नगद र दुई बुङ तास बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शुक्रबार मध्यरातमा अर्जुनधारा नगरपालिका–५ ओमचोकस्थित सीताराम थापाको घरमा अवैध रूपमा तास तथा जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का ४१ वर्षीय किशोर थापा, ५५ वर्षीय सीताराम थापा, ४२ वर्षीय यम चौहान, ४७ वर्षीय निरजकुमार खनाल, ३८ वर्षीय बलबहादुर बुढाथोकी र ३४ वर्षीय रोहित अधिकारी रहेका छन् ।
पक्राउ परेका सबै अर्जुनधारा नगरपालिका–५ का स्थानीय हुन् । उनीहरूलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
View : 64
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved