भोजपुर : भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जिल्ला सदरमुकाममा आयोजित जनभेटघाट कार्यक्रममा भोजपुरको टक्सारमा बनेको करुवा उपहार दिएकी छन् । उपप्रमुख शेर्पाले करिब चार महिना लगाएर बनेको छ किलोको करुवा पार्टी अध्यक्ष ओलीलाई उपहार दिएकी हुन् ।
करुवा लिदै खुशी देखिएका अध्यक्ष ओली बिहीबार विहान भोजपुरको धातु व्यवसायका लागि चर्चित मानिएको ऐतिहासिक टक्सार बजार पुगे । उनले धातु व्यवसाय सञ्चालनमा देखिएको समस्याका बारेमा समेत जिज्ञासा राखेका थिए । टक्सारबाट धातु व्यवसायी विस्थापित हुने क्रम बढिरहेको अवस्थामा यहाँ केही मात्र व्यवसायीको अहिले बसोबास रहँदै आएको छ ।
ओलीले टक्सार बजारका पुराना धातु व्यवसायी बुद्धराज शाक्यसँग भेटेर व्यवसायका विषयमा कुरा गरे । शाक्यसँग भेटेपछि अध्यक्ष ओलीले भने, मैले भोजपुरमा उपहार पाएको करुवा पनि उहाँले नै बनाउनुभएको रहेछ, यस पेशाका समस्याबारे मैले बुद्धराजजीसँग कुरा गरें ।
व्यवसायी शाक्यले काँसका थोत्रा सामान पगालेर विभिन्न नयाँ समान बनाउँछन् । करुवा, कलश, कचौरा, गाग्री लगायतका सामान आफूले बनाउँदै आएको उनले बताए ।
देशका पूर्वप्रधानमन्त्री नै आएर व्यवसायका विषयमा चासो राख्दा आफूमा पनि खुशी छाएको शाक्यले बताए । मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट सुरु भएको समृद्धिका लागि संकल्प याक्राका त्रममा भोजपुर आएका ओलीले ऐतिहासिक टक्सार बजारका विषयमा चासो राखेका हुन् ।
टक्सारमा निर्मित करुवा, तामाको भाडा, गाग्रो, काँसको थाल, लोटा, आमखोरा, अन्टी, ग्लास, कचौरा, डबका नेपाल भित्र मात्र नभएर विदेशमा समेत प्रसिद्ध रहेका छन् । यतिबेला ती बनाउने कालिगढ विस्थापित भएका छन् । ऐतिहासिक कलामा पोख्त कालिगढ पलायन भएपछि मूर्तिकला र हस्तकलाको उद्योग पनि लोप भएको छ ।
कालिगढको अभावसँगै कच्चा पदार्थको अभावमा धातु उद्योग फस्टाउन सकेको छैन, स्थानीय स्तरमा खानी सञ्चालन नभएकाले तराईबाट आवश्यक कच्चा पदार्थ र कोइला ढुवानी गर्दा महङ्गोसमेत हुने भएकाले पनि टक्सारबाट कालिगढ विस्थापन हुने क्रम बढेको छ, स्थानीय व्यवसायी विमल शाक्यले भने ।
View : 206
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved