फाइल फोटो ।
विराटनगर । कोशी अस्पतालको नेत्र विभाग अलग्गै भवनमा स्थानान्तरण हुने भएको छ । अस्पताल विकास समितिको नयाँ कार्यसमितिको पहिलो बैठकले रेडक्रसले खाली गरेको भवनमा नेत्र विभाग सारेर सेवा विस्तार गर्ने निर्णय गरेको हो । यसअघि राष्ट्रिय वाणिज्य बैंक रहेको उक्त भवनमा रेडक्रसले सेवा सञ्चालन गर्दै आएको थियो ।
रेडक्रसले भवन खाली गरेपछि अस्पतालले त्यसलाई नेत्र विभाग सञ्चालनका लागि प्रयोग गर्ने निर्णय गरेको हो । उपलब्ध भवनलाई नै उपयोग गरेर सेवा विस्तार गर्न सकिने भएकाले नयाँ संरचना निर्माणमा लाग्ने ठूलो खर्चसमेत बचत हुने अस्पतालको अपेक्षा छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा. सुमित घिमिरेले आँखाको उपचार सेवा नेपाल सरकारको प्राथमिकतामा रहेकाले कोशी अस्पतालमा नेत्र विभाग विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।
उ
नले उपलब्ध भवन नेत्र विभाग सञ्चालनका लागि उपयुक्त देखिएपछि त्यसलाई प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिए ।
‘आँखाको अस्पताल नेपाल सरकारको प्राथमिकता हो ।
यो नेपाल सरकारअन्तर्गतको पहिलो नेत्र विभाग हो,’ घिमिरेले भने, ‘यसका लागि आवश्यक भवनका रूपमा रेडक्रसले खाली गरेको भवन उपयुक्त देखियो । त्यसैले त्यही भवनबाट सेवा विस्तार गर्ने निर्णय गरेका हौं ।’
हाल नेत्र विभाग सञ्चालन भइरहेको ठाउँ सीमित भएकाले आँखाका बिरामीको उपचार र व्यवस्थापनमा समस्या हँुदै आएको अस्पतालले जनाएको छ ।
अलग्गै भवनमा विभाग सरेपछि उपचारसँगै शल्यक्रिया सेवा पनि थप व्यवस्थित गर्न सकिने अस्पतालको अपेक्षा छ ।
डा. घिमिरेका अनुसार अलग्गै भवनलाई नेत्र विभागका रूपमा सञ्चालन गर्न ठूलो संरचनात्मक काम गर्नुपर्ने अवस्था छैन ।
भवनमा आवश्यक पार्टिसन, सामान्य मर्मतसम्भार र रङरोगन गरेपछि विभाग सञ्चालन गर्न सकिनेछ । अस्पतालमा उपलब्ध उपकरण र स्रोतसाधनलाई व्यवस्थापन गरेर सेवा सुरु गर्न सकिने उनको भनाइ छ ।
अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेले उक्त भवन मर्मत र व्यवस्थापनको कामका लागि अस्पताल प्रशासनले टेन्डर प्रक्रिया अघि बढाउने जानकारी दिए ।
रेडक्रसले छाडेको भवनको भौतिक अवस्था राम्रो रहेको न्यौपानेले बताए । भवनमा भुइँमा टायलसमेत लगाइसकिएकोले ठूलो संरचनात्मक निर्माण गर्नुपर्ने अवस्था नरहेको समेत उनले बताए ।
उनका अनुसार भवनमा आवश्यक पार्टिसन गर्ने, सामान्य मर्मतसम्भार र रङरोगन गर्ने तथा नेत्र विभागका लागि आवश्यक सामग्री व्यवस्थापन गरेपछि सेवा सञ्चालन गर्न सकिनेछ ।
भवन मर्मत तथा व्यवस्थापनमा लाग्ने खर्च अस्पतालकै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने तयारी छ ।
मर्मतको काम द्रुत गतिमा अघि बढाउन सके १५ दिनमै सकिने घिमिरेको भनाइ छ । मर्मत सकिएपछि करिब एक साताभित्र विभाग सञ्चालनमा ल्याउन सकिने उनले बताए ।
तर टेन्डर र अन्य कागजी प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सम्पूर्ण प्रक्रिया सकेर करिब दुई महिनाभित्र अलग्गै भवनबाट सेवा सुरु गर्ने अस्पतालको लक्ष्य छ ।
हाल कोशी अस्पतालको नेत्र विभागमा सात जना चिकित्सक र दुईदेखि तीन जना प्यारामेडिक्स कार्यरत छन् ।
अलग्गै भवनमा विभाग स्थानान्तरण भएपछि आँखाको शल्यक्रिया गराउने बिरामीका लागि इन्डोर सेवा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
इन्डोर सेवाका लागि कति बेड राख्ने भन्ने विषय भने भवनको मर्मत र पूर्वाधार व्यवस्थापनपछि निर्धारण गरिने न्यौपानेले बताए ।
अलग्गै भवनमा उपचार, शल्यक्रिया र इन्डोर सेवाका लागि छुट्टाछुट्टै व्यवस्थापन गर्न सकिने भएकाले बिरामीलाई सेवा लिन सहज हुने अस्पतालको अपेक्षा छ ।
नेत्र विभाग विस्तारका क्रममा प्रदेश स्वास्थ्य मन्त्रालयसँग पनि समन्वय गरिने भएको छ । आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनमा मन्त्रालयसग सहकार्य गर्ने अध्यक्ष घिमिरेले बताए ।
उनका अनुसार अहिले उपलब्ध पूर्वाधार र जनशक्तिको अधिकतम उपयोग गरेर सेवा सुरु गर्ने र आवश्यकताअनुसार क्रमशः जनशक्ति तथा उपकरण थप गर्दै लैजाने योजना छ ।
नेत्र विभाग विस्तारपछि अस्पतालका अन्य सेवाको सुधारलाई पनि क्रमशः अघि बढाउने अस्पताल विकास समितिले जनाएको छ ।
बिरामीको चाप, उपलब्ध पूर्वाधार र आवश्यकताका आधारमा आकस्मिक तथा ओपीडी सेवासहित अन्य विभागको व्यवस्थापन सुधार गर्ने योजना अस्पतालको छ ।
View : 116
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved