Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

प्रदेश प्रज्ञा प्रतिष्ठानलाई लोकतान्त्रिक बनाउन सुझाव

उद्‌घोष संवाददाता
२० मंसिर २०८१, बिहिवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको कला, साहित्य तथा संस्कृति विभागले साहित्य, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र उत्थानका लागि प्रदेश सरकारलाई सातबुँदे सुझाव दिएको छ ।

विभागका प्रमुख खेम नेपाली नेतृत्वको टोलीले कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेरे लिखित सुझाव दिएको हो । 

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रदान गर्न सुरू गरेको प्रदेश साहित्य, कला, सम्मानलाई निरन्तरता दिनुपर्ने, प्रदेश प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी निर्मित कानुन लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मान्यताअनुसार नभएकाले परिमार्जन गरी लोकतान्त्रिक व्यवस्थाअनुसारको प्रदेश प्रज्ञा प्रतिष्ठान यथाशीघ्र गठन गर्नुपर्ने, कोशी प्रदेश धेरै आदिवासी तथा जनजातिको बसोबास रहेकाले यो भूमिमा धेरै मौलिक भाषा, गीत, संगीत, भेषभुषा र संस्कृति रहेकाले तीनको संरक्षण र सम्वद्र्धनमा विशेष योजना बनाउनुपर्ने विभागको सुझाव छ ।

सुझावपत्रमा एकीकृत चलचित्र निर्माणस्थल, फिल्म सिटी निर्माणको योजना अघि सार्नुपर्ने, विद्यार्थी तथा युवाहरूमा देशभक्तिको भावना विकास गर्न देशभक्ति तथा जागरण गीतसंगीतलाई सरकारी तबरबाट पृष्ठपोषण गर्नुपर्ने, कोशी प्रदेशका विद्यालय र विश्वविद्यालयमा विविध कला विषय अध्ययन गराउन सरकारीस्तरबाटै पहल गरिनुपर्ने लगायतका सुझाव उल्लेख छ ।

View : 333

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved