Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

एक सय ६८ मुरी धान फलाएका बम्जन दम्पती पुरस्कृत

रासस
८ पुष २०८०, आइतवार

पाँचथर । खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो ।

गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो । 

मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का वडाध्यक्ष होमप्रसाद आङदेम्बेसहित जनप्रतिनिधि र कर्मचारी सिकुवाको डिलमा बसेर ५६ वर्षीय मकरबहादुर र उनकी श्रीमती ६० वर्षीया टीकामायाको मेहनतको प्रशंसा गरिरहेका थिए ।

फाल्गुनन्द गाउँपालिकाले खाद्यबालीको उत्पादन बढाउन ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई  ३० हजार र एक सय मुरीभन्दा बढी धान फलाउने किसानलाई  ५० हजारबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो । उक्त घोषणापछि मकरबहादुर गाउँपालिकाको कार्यालय पुगेका थिए । उनले आफूले एक सय मुरीभन्दा बढी धान फलाएको गाउँपालिका कार्यालयमा दाबी गरे । मकरबहादुरको दाबीपछि बुधबार जनप्रतिनिधि र कर्मचारी उको घर पुगेका हुन् । 

मकरबहादुरले निबु खोलाको बोसी र घर छेउको पाखाबारीमा फलाएको धान एक सय ६८ मुरी प्रमाणित भएपछि उनी औधी खुशी भए । मकरबहादुर दम्पतीले फाल्गुनन्द–७ को सिस्ने, काब्रेती, घरमुनी, करमबोटे र खोल्साइले गरी पाचवटा खेतमा तीन मुरी चार पाथी बीउ रोपेका थिए । उक्त बीउबाट फलेकोमध्ये ३० मुरी धान उनले यसअघि नै बिक्री गरिसकेको बताए ।

त्यसैले उनले फलाएको धान एक सय ६८ मुरी मात्र गणना भयो । फाल्गुनन्द गाउँपालिकाको प्रशासन शाखाका प्रमुख निर्मल अधिकारीका अनुसार बम्जन परिवारले फाल्गुनन्दमा सबैभन्दा बढी धान फलाएको प्रमाणित भएको छ ।

मकरबहादुरले  फाल्गुनन्दका इन्द्रनारायण आङदेम्बे, कालीदास चेम्जोङ, कर्ण चेम्जोङ, पञ्चबहादुर चेम्जोङ र भीमबहादुर आङदेम्बेको खेतमा खेती लगाउने गरेको बताए । गत मङ्सिर ७ गते ३० मुरी धान बिक्री गरिसकेपछि मात्रै धेरै धान फलाउनेलाई पुरस्कृत गर्न लागिएको थाहा पाएका थिए ।  

‘वडाध्यक्षले खबर गरेपछि गत मङ्सिर १३ गते गाउँपालिकामा गएर एक सय ८५ मुरी धान फलाएको जानकारी गराएको थिएँ,’ मकरबहादुरले भने । विगतमा अन्नको अभावमा पाएको दुःख सम्झेर धान फलाउन कम्मर कसेर लागेको उनको भनाइ छ । गाउँपालिकाले ५० हजार पुरस्कार दिएपछि ठूलो भैंसी किन्ने उनको सोच छ ।

View : 128

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved