एआई श्रृजित तस्वीर ।
विराटनगर । विराटनगरकी १६ वर्षीया एक किशोरी विगत केही महिनादेखि न त राम्रोसँग निदाउथिन्, न त परिवारसँग खुलेर बोल्थिन । सामाजिक सञ्जालमा साथीहरूले राखेका ‘फिल्टर’ गरिएका तस्बीर र उनीहरूको कृत्रिम जीवनशैली देख्दा उनलाई आफ्नो जीवन अर्थहीन लाग्न थाल्यो ।
बिस्तारै उनी मानिसहरूको भिडभाडबाट डराउन थालिन् र एक्लै कोठामा गुम्सिएर बस्न थालिन् । अन्ततः उनलाई ‘सोसल एन्जाइटी’– चिन्ता, विकार) को उपचारका लागि अस्पतालसम्म पु¥याइयो ।
यी किशोरी त केवल एक प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय कोशी प्रदेशका शहरी र ग्रामीण दुवै क्षेत्रमा डिजिटल प्रविधिको अत्यधिक प्रयोगले किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्यको समस्या एउटा ‘मौन महामारी’का रूपमा फैलिरहेको छ ।
कोशी प्रदेशमा पछिल्लो समय डिजिटल प्रविधिको अत्यधिक प्रयोगसँगै किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या, विशेषगरी एन्जाइटी बढ्दो रूपमा देखिन थालेको सरोकारवालाहरूले बताएका छन् ।
मोबाइल फोन, सामाजिक सञ्जाल र अनलाइन गेमप्रतिको निर्भरता बढ्दै जाँदा उनीहरूको व्यवहार, भावनात्मक अवस्था र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव परेको विज्ञहरूको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव तथा वरिष्ठ मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलका अनुसार डिजिटल उपकरणको अनियन्त्रित प्रयोगले किशोरकिशोरीमा एक्लोपन, असुरक्षा र आत्मविश्वासको कमी जस्ता समस्या निम्त्याइरहेको छ ।
‘अहिलेको पुस्ता धेरै समय स्क्रिनमै बिताउँछ । सामाजिक सञ्जालमा अरूसँग तुलना गर्ने प्रवृत्तिले उनीहरूमा हीनभावना बढाउँछ, जसले एन्जाइटी र डिप्रेसनजस्ता समस्या निम्त्याउँछ’, उनले भने ।
उनका अनुसार विशेषगरी १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरू डिजिटल संसारमा अत्यधिक संलग्न हुँदा उनीहरूको निद्रा चक्र बिग्रिने, पढाइमा ध्यान केन्द्रित गर्न कठिनाइ हुने र परिवारस“गको संवाद घट्ने समस्या देखिएको छ ।
कोशी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सचिन नेपालीले पनि पछिल्लो समय अस्पतालमा आउने किशोरकिशोरी बिरामीहरूको संख्या बढ्दै गएको बताए ।
‘पहिले पहिले महिनामा १०–१५ जना किशोर बिरामी आउने गर्थे भने अहिले यो दैनिक ८ देखि १० जनासम्म किशोर किशोरीहरु ओपिडी (बहिरङ सेवा) मा आउने गर्दछन् डा. नेपाली भन्छन्, ‘तीमध्ये धेरैजसोमा एन्जाइटी, तनाव, निद्रा समस्या र सामाजिक डर देखिने गरेको छ ।’
डा. नेपालीका अनुसार डिजिटल माध्यममा हुने साइबर बुलिइङ, अनलाइन दुव्र्यवहार र अवास्तविक जीवनशैलीको प्रदर्शनले किशोरकिशोरीमा मानसिक दबाब थपिरहेको छ ।
‘सामाजिक सञ्जालमा देखाइने परफेक्ट लाइफसँग आफूलाई तुलना गर्दा उनीहरूमा असन्तुष्टि र चिन्ता बढ्ने गरेको छ,’ उनले भने ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययनहरूले पनि यो समस्याको गम्भीरता देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका किशोरकिशोरीमध्ये करिब १३ प्रतिशत मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्, जसमा एन्जाइटी र डिप्रेसन प्रमुख छन् ।
त्यस्तै, युनिसेफको एक प्रतिवेदनले डिजिटल प्लेटफर्मको अत्यधिक प्रयोगले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने उल्लेख गरेको छ ।
नेपालकै सन्दर्भमा पछिल्लो समयमा मानसिक स्वास्थ्य समस्या विस्तारै सार्वजनिक बहसको विषय बन्न थालेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनअनुसार शहरी क्षेत्रमा बसोबास गर्ने किशोरकिशोरीमा डिजिटल प्रयोगस“ग सम्बन्धित मानसिक समस्या ग्रामीण क्षेत्रको तुलनामा बढी देखिएको छ ।
विशेषज्ञहरूले यस समस्यालाई न्यूनीकरण गर्न अभिभावक, विद्यालय र समाज सबैको भूमिका महत्वपूर्ण हुने बताएका छन ।
डा. पोखरेल पनि अभिभावकले बालबालिकाको स्क्रिन समय नियन्त्रित गर्नुका साथै उनीहरूसंग खुला संवाद गर्न आवश्यक छ ।
‘डिजिटल प्रविधि पूर्ण रूपमा नकारात्मक होइन, तर यसको सन्तुलित प्रयोग आवश्यक छ,’ उनले सुझाए ।
डा. नेपालीे विद्यालय तहबाटै मानसिक स्वास्थ्यसम्बन्धी शिक्षा र परामर्श सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउछन् ।
‘यदि समयमै ध्यान नदिएमा यी समस्या दीर्घकालीन मानसिक रोगमा परिणत हुन सक्छन्,’ उनी भन्छन् ।
मानसिक स्वास्थ्यप्रति अझै पनि समाजमा रहेको लाज र डरका कारण धेरै किशोरकिशोरीले आफ्नो समस्या खुलेर भन्न नसक्ने अवस्था रहेको विज्ञहरूको भनाइ छ ।
त्यसैले यस विषयमा जनचेतना अभिवृद्धि गर्दै सहज रूपमा परामर्श सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको उनीहरूको निष्कर्ष छ ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved